सरकारको सामाजिक फासीवादी रवैया राेक्न नेपाल बन्दः विप्लव

बन्द सफल बनाउन सहयोग पुर्याउने सबैलाई दिए धन्यवाद


२९ साउन, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकार सामाजिक फासीवादी भएको र यसले देश र जनतालाई बर्बाद पार्दै लगेपछि त्यसका विरुद्ध आजको नेपाल बन्द गरेको प्रष्ट पारेका छन् ।

आजको नेपाल बन्द सफल भएको र बन्दले सामाजिक फासीवादी सरकारलाई पाठ गैरन्यायिक रुपमा गिरफ्तार गरी चरम यातनासहित थुनामा राख्ने अनि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशनमा क्रान्तिकारी र देशभक्तहरुलाई सखाप पार्ने रवैयाविरुद्ध धावा बोल्न सफल भएको कुरा महासचिव विप्लवले मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन् ।

नेपाली क्रान्तिलाई भयानक गद्दारी गरेर दलाल संसदीय व्यवस्थामाा आत्म समर्पण गर्न पुगेका र वामपन्थीको खोल ओढेर देश र जनतालाई दिनदिनै संकटको खाडलमा हाल्ने काम गरेको भन्दै सरकारको कडा आलोचना विज्ञप्तिमा गरिएको छ ।

‘क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेतारकार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो’ जारी विज्ञप्तिमा भनिएको छ । सरकार दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएकोले त्यसको जरा संसदीय व्यवस्थाविरुद्ध ढिला गर्न नहुने उनको भनाई छ ।

‘कमरेड प्रकाण्ड लगायतका जतिपनि नेता÷कार्यकर्ताहरु अहिले गिरफ्तार गरिएका छन्, ती सबै केपी—पीकेहरुले भन्दै गरेको संघीय संविधानको विपरित रहेको उनीहरुले गरेका रवैयाले पुष्टि गरेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ‘यो सामाजिक फासीवादी सरकार गठन भएदेखि नै नेपालका क्रान्तिकारी शक्तिमाथि एकोहोरो दमन चलाई राखेको छ । यो कुरा देशका देशभक्त, वामपन्थी, प्रगतिशिल शक्तिहरुले बुझ्न ढिलो गर्नु हुँदैन । दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको यो सरकार र मुलरुपमा संसदीय व्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न पनि जरुरी भैसकेको छ ।’

बन्दप्रति साथ समर्थन जनाउने सबै पक्षप्रति कृतज्ञता प्रकट गर्दै महासचिव विप्लवले भनेका छन् ‘हाम्रो पार्टीले आह्वान गरेको यो नेपाल बन्दलाई समर्थन गर्दै वक्तव्य निकाल्ने सबै राजनैतिक शक्तिहरु, सहयोग र ऐक्यबद्धता व्यक्त गर्ने, वामपन्थी, देशभक्त र प्रगतिशिल शक्ति, जनताप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै, हामीले शुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको सहयोग, साथ रहनेछ भन्ने पनि अपेक्षा राख्दछौं ।’

सरकारले नेकपाका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यद्वय टेकबहादुर केसी र देवनारायण शाहलागायत तीन दर्जनभन्दाा बढी नेता कार्यकर्ता राजनैतिक आस्थाकै आधारमा चरम यातना दिई झसठा मुद्दामा हिरासतमा राखिएपछि विरोधस्वरुप आज नेपाल बन्दको घोषणा गरिएको थियो ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया