बाँदर नियन्त्रण गर्न सांसदको माग


काठमाडौं, २९ साउन ।

प्रतिनिधिसभाका सांसदहरुले बाढी–पहिरोपीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कस्टकर जीवनयापन गर्नुपरेको भएपनि सरकारले त्यसतर्फ ध्यान नदिइएकोमा गुनासो गरेका छन ।

सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्ग पहिराको जोखिमा परी दैनिकजसो अवरुद्ध हुने गरेकाले मर्मत र सम्भारमा ध्यान दिन आग्रह गर्नुभएको छ । सांसद दामोदर भण्डारीले बाढी–पहिराको कारण प्रदेश नम्बर–७ को पहाडी क्षेत्रमा यातायात सन्चालनमा समस्या परेको बताउनु भएको छ ।

सांसद पार्वतीकुमारी बिसंखेले बाढी–पहिरोका कारण ललितपुरको पहाडी क्षेत्र प्रभावित भइ १६० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सांसद दिलेन्द्रप्रसाद बडूले स्थानीय तह नै संघीय व्यवस्थाको प्रमुख आधार भएपनि पछिल्लो दिनमा उपेक्षा गरिएकामा गुनासो गर्नुभएको छ ।

दार्चुलाका तीन स्थानीय तहमा सुरक्षाको प्रबन्ध नहुँदा बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्न नमानेकाले स्थानीयवासी अझैपनि सदरमुकाम धाउनुपर्ने बाध्यतामा छन् भन्दै उहाले तत्काल नेपाल प्रहरीको चौकी स्थापना गर्न माग गर्नुभएको छ ।
सांसद नारायणप्रसाद पंगेनीले स्याङ्जाका विभिन्न स्थानमा बाँदरले दुःख दिएकाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसदहरुले ‘स्थानीय तहमा मनलाग्दी तवरले कर लगाएर नागरिकलाई दुःख दिइएको भन्दै सरकारले गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।

सांसद पार्वती डिसी चौधरी, पूर्णाकुमारी सुवेदी र प्रमिला राईले स्थानीय तहले करको भार बोकाएपनि स्थानीयवासीलाई सेवा तथा सुविधा नदिएको भन्दै गुनासो गर्नुभएको छ ।

सांसद दलबहादुर राना, दामोदर भण्डारी, दुर्गाबहादुर रावत र देवप्रसाद गुरुङले पनि समसामयिक विषयमा सदन र सरकारको ध्यानकर्षण गराएका थिए ।

मङ्ल, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया