गृहमन्त्रीको निर्देशन, ‘विप्लवका कार्यकर्ता जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, मुद्दा फितलो नबनाउनू’


काठमाडौं, २८ साउन ।

गृहमन्त्री रामबहादुर थापाले नेपाल कम्युनिस्ट पार्टीका गतिविधि नियन्त्रण गर्न कडाईका साथ प्रस्तुत हुन तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायत भागमा नेकपाको गतिविधिले त्रास उत्पन्न गराएकाले निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएलगत्तै गृहमन्त्रीको पनि निर्देशन आएके हो ।

आइतबार गृहमन्त्रालयमा गृहमन्त्री थापासहित प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीले विप्लव समूहको गतिविधिबारे लामो छलफल भएको थियो ।

छलफलमा नेकपाले सशस्त्र हिंसा गतिविधि सञ्चालन गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुले त्यसलाई निस्तेज पार्न गृहमन्त्रालयले विशेष योजना बनाउनुपर्ने सुझाव दिएको मन्त्रालय स्रोतले बताएको छ ।

गृहमन्त्री थापाले शान्ति सुरक्षामा असर पर्ने काम गरे नियन्त्रणमा लिन निर्देशन दिदैँ भने, ‘जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, प्रमाणसहित फेला परे कानुनबमोजिम गर्नू ’, गृहमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्नू। मुद्दा फितलो नबनाउनू ।’

नेकपालार्ई नियन्त्रणमा लिन संवादको कुनै माध्यम नअपनाई तत्काल उसका नेता, कार्यकर्ता, समर्थकलाई गिरफ्तार गर्न गृहमन्त्रीले निर्देशन दिएको स्रोतले बतायो ।

उता गृहमन्त्रालयका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले नागरिकसँगको कुराकानीमा भनेका छन्, नेकपाका कार्यकर्तालाई राजनीतिक संवादमार्फत मूल प्रवाहमा ल्याउने कोसिस भइरहेको छ।

देशभर जुन किसिमका विस्फोट तथा अराजक गतिविधि भएका छन् त्यसमा नेकपाका नेताकार्यकर्ता संलग्न रहेको मन्त्रालयसँग यथेष्ट प्रमाण रहेको उनले दाबी पनि गरेका छन् ।

गृह मन्त्रालय सल्लाहकार सुवेदीले कानुन कार्यान्वयन सिलसिलामा नेकपाका प्रवत्ता खड्गबहादुर विश्वकर्मालाई पक्राउ गरिएको बताए। ‘गृहमन्त्रालय हुनुको नाताले शान्ति सुरक्षा कायम गर्नु पहिलो दायित्व हो, शान्तिसुरक्षा कायम गराउने सिलसिलामा उनलाई पक्राउ गरिएको हो’, उनल भने। सुवेदीका अनुसार नेकपाका कार्यकर्ता्विरुद्ध मुलुकभरका प्रहरी कार्यालयमा मुद्दा रहेका कारण प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। ‘प्रहरी कार्यालयमा मुद्दा भएकालाई प्रहरीले खोज्नु, कानुनको कठघरामा ल्याउनु सामान्य र नियमति प्रक्रिया हो’, सुवेदीले भने।

टेकु पुगेका सन्चारकर्मीसँगको भेटमा काठमाण्डौ प्रहरी प्रमुख विश्वराज पोखरेलले पक्राउ परेका विश्वकर्मालाई चन्दा ऐनअन्तर्गत अनुसन्धान भइरहेको बताए।

सोम, साउन २८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया