महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै


काठमाडौं, ७ साउन । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ३ विभागीय र मोफसलका २ सहित ५ टिमको सहभागिता रहेको छ ।

बिभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।
आज दिउँसो १ बजे हुने उद्घाटन खेलमा पुलिस र आर्मी भिड्दा दोस्रो खेलमा रौतहट र काठमाडौं आमने सामने हुनेछन् ।

आगामी साफ महिला फुटबलको छनौटका लागि प्रतियोगिता आयोजना गरिएको हो । राउण्ड रोबिन लिग प्रणाली अनुसार हुने प्रतिस्पर्धाको उपाधि प्वाइन्टका आधारमा तय हुने छ ।

सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक बढीहुने टिमले उपाधि जित्ने छ ।
प्रतियोगिता तयारीका लागि एन्फाले हरेक टिमलाई ५० हजार रुपैयाँ प्रदान गरेको पनि जनाएको छ । उपाधि विजेताले २ लाख पाउँदा उपविजेताले १ लाख ५० हजार पाउने छ ।

सोम, साउन ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया