चीन भ्रमणमा आएका तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनलाई माओले साम्राज्यवादी भनेपछि…. (हेर्नुहाेस् वार्तासहित)


सन् ७० को दशक विश्व इतिहासमा निकै रोमाञ्चकारी वर्षको रुपमा चिनिन्छ । सन् १९७२ मा विश्व राजनीतिमा दुई शक्तिशाली महाराष्ट्रको रुपमा चिनिने अमेरिका र चीनका दुई शक्तिशाली नेता र प्रतिनिधिमण्डलबीच चीनमा लामो कुराकानी भएको थियो ।

वार्तामा चीनका तर्फबाट अध्यक्ष माओ, प्रधानमन्त्री चाओ एन लाईलगायतको प्रतिनिधिमण्डल थियो भने अमेरिकाबाट तत्कालीन राष्ट्रपति  निक्सन, विदेशमन्त्री हेनरी किसिन्जरलगायतको प्रतिनिधिमण्डल सहभागी थियो । यही वार्ता र छलफलले विश्व राजनीतिमा विपरित वैचारिक धु्रवका शक्तिलाई विश्व मानवताका लागि निश्चित हदसम्म सहकार्य गरेर जानेबारे छलफल भएको थियो ।

यसबारे हामीले त्यो वार्ताको पूरा अंश प्रकाशित गर्ने जमर्को गरेका छौं । यो सामाग्रीलाई अनलाइन मजदुरबाट लिएका हौं । यसलाई निरजले भाषान्तर गरेका छन् ।

 

बेइजिङ, २१ फेब्रुअरी, १९७२, समयः दिनको २ः५० देखि ३ः५५ सम्म
सहभागीहरू 

अध्यक्ष माओ त्से तुङ
प्रधानमन्त्री चाओ एन लाई
वाङ हाई–चुङ, परराष्ट्र मन्त्रालयको मर्यादाक्रमअनुसार सहायक प्रमुख
ताङ वेन–शेन, भाषा अनुवादक

राष्ट्रपति निक्सन
हेनरी ए. किसिङ्गर, राष्ट्रिय सुरक्षा मामिलामा राष्ट्रपतिका सल्लाहकार
विनस्टिन लर्ड, राष्ट्रिय सुरक्षा परिषद्का कर्मचारी (टिपोटकर्ता)

अध्यक्ष माओले स्वागतभावमा राष्ट्रपति निक्सनलाई स्वागत गर्नुभयो र राष्ट्रपति निक्सनले अध्यक्षसँग भेट्न पाउनु आफ्नो अहोभाग्य भएको बताउनुभयो ।

राष्ट्रपति निक्सनः तपाईं धेरै पढ्नुहुन्छ । प्रधानमन्त्रीज्यूबाट तपाई उहाँभन्दा धेरै बढी पढ्नुहुने कुरा जानकारी पाएँ ।

अध्यक्ष माओः हिजो विमानमा तपाईले हाम्रालागि निकै जटिल समस्या तेर्साइदिनुभयो । तपाईंले दार्शनिक विषयमा कुराकानी गर्न चाहेको बताउनुभयो ।
राष्ट्रपति निक्सनः मैले अध्यक्षज्यूका कविता र भाषणहरू पढेको छु, त्यसकारण त्यसो भनेको हुँ । तपाईं निकै निपुण दार्शनिक भएको कुरा मलाई थाहा छ । (चिनियाँ प्रतिनिधिहरूको हाँसो)

अध्यक्ष माओः (डा. किसिङ्गरतिर हेर्दै) उहाँ त दर्शनशास्त्रको डाक्टर होइनन् र ?

राष्ट्रपति निक्सनः उहाँ त दिमागको डाक्टर हुनुुहुन्छ ।

अध्यक्ष माओः उहाँलाई आजका प्रमुख वक्ता बन्न आग्रह गर्दा कसो होला ?

राष्ट्रपति निक्सनः उहाँ दर्शनशास्त्रका विज्ञ हुनुहुन्छ ।

डा. किसिङगरः हर्वार्ड विश्वविद्यालयमा म मेरा कक्षाहरूमा विद्यार्थीहरूलाई अध्यक्ष माओका सङ्कलित रचनासम्बन्धि काम दिने गर्थें ।

अध्यक्ष माओः मेरा ती रचना खासै केही होइनन् । मैले लेखेका कुरामा त्यस्ता जानकारीमूलक केही छैनन् ।
(फोटोग्राफरहरूतिर हेर्दै) लौ अब उहाँहरू हाम्रो बैठक र यहाँको बन्दोबस्तको व्याख्या गर्नेतिर लाग्नुभएको छ ।

राष्ट्रपति निक्सनः अध्यक्षका रचनाहरूले एउटा राष्ट्रलाई हल्लाएको छ र संसारमा परिवर्तन ल्याएको छ ।

अध्यक्ष माओः मैले संसार बद्ल्न सकेको छैन । मैले त पेकिङ वरपरका केही ठाउँहरूसम्ममा परिवर्तन गर्न सकेको छु ।
हाम्रा साझा पुराना मित्र जनरल च्याङ काई शेकले यो कुरा मान्नु भएको छैन । उहाँ हामीलाई कम्युनिष्ट लुटेराहरू भन्नुहुन्छ । हालसालै उहाँले एउटा वक्तव्य दिनुभएको छ । तपाईंले त्यो हेर्नुभएको छ ?

राष्ट्रपति निक्सनः च्याङ काई शेकले अध्यक्षलाई लुटेरा भन्नुभयो । अध्यक्षले च्याङ काई शेकलाई के भन्नुहुन्छ ?

प्रधानमन्त्री चाओ एन लाईः सामान्यतः हामी उहाँहरूलाई च्याङ काई शेक गुट भन्छौं । अखबारहरूमा कहिलेकाहीं हामी उहाँलाई लुटेरा भन्छौं । जवाफमा हामीलाई पनि लुटेरा भनिन्छ । जे होस्, हामी एकअर्कालाई गाली गर्छौं ।

अध्यक्ष माओः वास्तवमा उहाँसँग हाम्रो मित्रताको इतिहास उहाँसँग तपाईहरूको मित्रताभन्दा लामो छ ।

राष्ट्रपति निक्सनः हो, मलाई थाहा छ ।

अध्यक्ष माओः हामी दुवैले यो भेटघाटमा एकाधिकार जमाइरहनु ठीक होइन । हामीले डा.किसिङ्गरका कुरा सुन्यौं भने त्यसो हुनेछैन । तपाईको चीन भ्रमणका कारण तपाई निकै चर्चित बन्नुभयो ।

डा.किसिङ्गरः यसको लागि निर्देशन दिने र योजना बनाउने काम त राष्ट्रपति महोदयबाट भएको थियो ।

राष्ट्रपति निक्सनः यसो भनेर उहाँ बुद्धिमान सल्लाहकारको परिचय दिइरहनुभएको छ । (माओ र चाओको हाँसो)

अध्यक्ष माओः त्यसो गर्न सफल हुनुभएकोमा उहाँले तपाईको प्रशंसा गरिरहनुभएको छ ।

राष्ट्रपति निक्सनः उहाँ कोही गोप्य एजेन्टजस्तो देखिनुहुन्न । उहाँ कैदमा रहनुभएको एकै जना त्यस्तो व्यक्ति हुनुहुन्छ जो १२ पटक पेरिस पुग्नुहुन्छ र पेकिङ एक पटक पुग्नुहुन्छ । सम्भवतः एकाध सुन्दर केटीहरूबाहेक उहाँको यो दौडधुप कसैलाई थाहा पनि हुने गर्दैन । (चाओको हाँसो)

डा. किसिङ्गरः उनीहरूले पनि यो भेउ पाएनन्, मैले उनीहरूलाई संसारलाई देखाउने आवरणको रुपमा मात्र प्रयोग गरेको हुँ ।

अध्यक्ष माओः पेरिसमा ?

राष्ट्रपति निक्सनः जसले सुन्दर केटीहरूलाई आवरणको रुपमा प्रयोग गर्न जान्दछ, ऊ समयको सबभन्दा महान कुटनीतिज्ञ हुनुपर्छ ।

अध्यक्ष माओः भन्नेपछि तपार्इंका केटीहरू धेरै सम्भवः प्रयोग भइसकेको हुने गर्दछन् ?

राष्ट्रपति निक्सनः मेरा केटीहरू होइनन्, उहाँका केटीहरू । मैले केटीहरूलाई आवरणको रुपमा प्रयोग गरें भने त म ठूलो समस्यामा पर्नेछु ।

प्रधानमन्त्री चाओ (हाँस्दै)ः विशेषतः चुनावको समयमा । (किसिङ्गरको हाँसो) डा. किसिङ्गर राष्ट्रपति पदको चुनाव लड्नुहुन्न किनभने उहाँ संरा अमेरिकी नागरिकको रुपमा जन्मिनुभएको थिएन ।

डा. किसिङ्गरः सुश्री ताङ संरा अमेरिकी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ ।

राष्ट्रपति निक्सनः उहाँ प्रथम महिला राष्ट्रपति बन्नुहुनेछ । उहाँ हो–हाम्रो उम्मेदवार ।

अध्यक्ष माओः उहाँजस्तो उम्मेदवार भए तपाईहरूलाई धेरै खतरा हुन सक्छ । तर हामी सत्य कुरा गरौं । यदि डेमोक्रेटिक पार्टी फेरि सरकारमा आए हामीले उहाँहरूलाई सम्पर्क गर्न छोड्नुपर्ने हुनेछ ।

राष्ट्रपति निक्सनः हामीले बुझेका छौं । हामी तपाईलाई यस्तो समस्या आउन दिने छैनौं ।

तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनसँग माअाे र चाअाे एन लार्इ ।

अध्यक्ष माओः यी प्रश्नहरू मेरो ठाउँमा छलफल गर्न मिल्ने प्रश्नहरू होइनन् । यी विषयहरू प्रधानमन्त्रीज्यूसँग छलफल गरिनुपर्दछ । म दार्शनिक प्रश्नहरूमाथि मात्र छलफल गर्न चाहन्छु । भन्नुको तात्पर्य तपाईको चुनावमा मैले तपाईको पक्षमा मत व्यक्त गरेको थिएँ । यहाँ एक जना अमेरिकी हुनुहुन्छ । उहाँको नाम फ्रान्क कोई हो । उहाँले एउटा लेख लेख्नुभएको थियो । त्यत्तिबेला हाम्रो देश सङ्कटमा थियो र तपाई आफ्नो चुनावी प्रचारको अन्तिम दिनहरूमा हुनुहुन्थ्यो । उहाँले सो लेखमा तपाईले चुनाव जित्नुहुने कुरा लेख्नुभएको थियो । मैले त्यो लेखको प्रशंसा गरेको थिएँ । तर अहिले उहाँ यो भ्रमणको विरोधमा हुनुहुन्छ ।

राष्ट्रपति निक्सनः जब अध्यक्षले मेरो पक्षमा मत व्यक्त गर्नुभएको थियो, तब तपाईले दुई वटा खराब पक्षको विपक्षमा मत व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष माओः म दक्षिणपन्थीहरूलाई रुचाउँछु । मानिसहरू तपाईलाई दक्षिणपन्थी भन्छन् । रिपब्लिकन पार्टी दक्षिणपन्थी भएको भन्छन् । प्रधानमन्त्री हिथ पनि दक्षिणपन्थी हुन् ।

राष्ट्रपति निक्सनः अनि जनरल डि गाउली ।

अध्यक्ष माओः डि गाउली त फरक विषय हुन् । उनीहरू पश्चिम जर्मनीको क्रिस्टियन प्रजातान्त्रिक पार्टीलाई पनि दक्षिणपन्थी भन्छन् । दक्षिण खेमाका यी मानिसहरू सत्तामा आउँदा मलाई तुलनात्मक रुपमा खुशी लाग्छ ।
राष्ट्रपति निक्सनः मेरो विचारमा ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा के हो भने, अमेरिकामा कम्तीमा यो समय दक्षिणपन्थीहरू त्यो काम गर्न सक्छन् जो वामपन्थीहरू कुरा गर्ने गर्छन् ।

डा. किसिङ्गरः अर्को कुरा पनि छ राष्ट्रपति महोदय । वामपन्थी खेमामा रहेकाहरू सोभियत सङ्घ पक्षधर छन् र जनगणतन्त्रतिर जाने कदमलाई उत्साहित गर्दैनन् । बरु त्यही आधारमा कसैको आलोचना गर्ने गर्दछन् ।

अध्यक्ष माओः हो, त्यस्तै हो । केही मानिसहरू तपाईको विरोध गरिरहेका छन् । हाम्रो देशमा पनि त्यस्ता प्रतिक्रियावादी समूहहरू छन् जसले तपाईहरूसँगको हाम्रो सम्बन्धको विरोध गरेका थिए । तर समयान्तरमा, उनीहरू विमान चढेर विदेशतिर कुलेलाम ठोके ।

प्रधानमन्त्री चाओः सम्भवतः उनीहरूलाई तपाई चिन्नुहुन्छ ।

अध्यक्ष माओः संसारभरि संरा अमेरिकी गुप्तचर रिपोर्ट तुलनात्मक रुपमा ठ्याक्कै मिल्ने गर्दछ । त्यसरी मिल्ने अर्को देश जापान हो । जहाँसम्म सोभियत सङ्घको कुरा त उनीहरू अन्ततः लास उधिन्न गए तर उनीहरूले त्यस विषयमा केही पनि भनेनन् ।

प्रधानमन्त्री चाओः बाहिरी मंगोलियामा ।

राष्ट्रपति निक्सनः भारत–पाकिस्तान सङ्कटमा हामीले त्यस्तै खालको समस्या झेल्नुप¥यो । अमेरिकाका वामपन्थीहरूले भारतको पक्ष लिन असफल भएकोमा मेरो चर्को आलोचना गरे । त्यसका दुई कारण थिएः पहिलो उनीहरू भारत पक्षधर थिए र दोस्रो उनीहरू सोभियत सङ्घका पक्षधरहरू थिए ।
यसलाई व्यापक ढङ्गबाट हेरिनुपर्दछ जस्तो मलाई लाग्यो । हामीले कुनै पनि देशलाई, चाहे त्यो जतिसुकै ठूलो किन नहोस्, छिमेकी देशमाथि थिचोमिचो गर्न दिन हुँदैन । यसो भन्दाको मूल्य मैले चुकाउनु पर्नेछ । यो कुरा मैले दुःखका साथ भनेको होइन । मैले यसो भनें किनभने यो सही हो । यसको मैले राजनीतिक मूल्य चुकाउनुपर्नेछ । तर मलाई लाग्छ इतिहासले यो निर्णयलाई सही ठह¥याउनेछ ।

अध्यक्ष माओः सुझावको रुपमा भन्दैछु, तपाई यी सबै कुरा अलि सङ्क्षेपमा मात्र भन्न सक्नुहुन्छ । (राष्ट्रपतिले डा. किसिङ्गरलाई औंल्याउनुभयो र प्रधानमन्त्री चाओ हाँस्नुभयो ।) के हामीले यहाँ गरेको दार्शनिक विषयबस्तुको छलफल तपाईले अरु कसैलाई भन्नु तपाईंलाई राम्रो लाग्छ ?

राष्ट्रपति निक्सनः अध्यक्षज्यू, ढुक्क हुनुहोस्, हामीबीच यहाँ जे जति पनि छलफल हुन्छ वा प्रधानमन्त्रीज्यू र मबीच हुने कुनै पनि छलफलका कुरा यो कोठाभन्दा बाहिर जानेछैन । उच्च तहमा हुने संवादको यही नै एकमात्र तरिका हो ।

अध्यक्ष माओः राम्रो कुरा ।

राष्ट्रपति निक्सनः उदाहरणको लागि म प्रधानमन्त्रीज्यू र पछि अध्यक्षज्युसँग ताइवान, भियतनाम र कोरियाको विषयमा कुराकानी गर्न चाहन्छु ।
म जापानको भविष्य, यो उपमहाद्विपको भविष्य र त्यसमा भारतको भूमिका अनि व्यापक विश्व परिदृश्यमा संरा अमेरिका–सोभियत सङ्घको भविष्यबारे पनि कुराकानी गर्न चाहन्छु । यी निकै संवेदनशील विषय हुन् । संरा अमेरिका र सोभियत सङ्घको सम्बन्धबारे कुराकानी गर्न चाहन्छु किनभने हामीले संसारको समग्र चित्र र संसारलाई चलाउने महाशक्तिहरूका विषयमा कुराकानी गरेमात्र हाम्रो दृष्टिकोणलाई पूर्णतः सधैं दबाइरहेका तात्कालीक र अत्यावश्यक समस्याबारे सही निर्णयमा पुग्न सक्छौं ।

अध्यक्ष माओः ती सबै समस्याहरूको भित्र गइरहन म चाहन्न । मलाई लाग्छ तपार्इंसँगको छलफलको लागि दार्शनिक प्रश्नहरू नै राम्रा विषय हुन् ।

राष्ट्रपति निक्सनः अध्यक्षज्यू, उदाहरणको लागि यो बैठकलाई सबै देशहरूले मान्यता दिएको छ तर सोभियत सङ्घले मान्यता नदिनु रोचक पक्ष हो । जापानलाई यो बैठकबारे सन्देह छ जो उनीहरूले व्यक्त गरिसकेका छन् । भारतीयहरूले यो बैठकलाई मान्यता दिएका छैनन् । त्यसो हुनुका कारणबारे हामीले बुझ्न जरुरी छ र सम्पूर्ण संसारलाई व्यवहार गर्ने हाम्रा नीतिहरू तय गर्न जरुरी छ । साथै कोरिया, भियतनाम र पक्कै पनि ताइवानको तात्कालीक समस्याहरूबारे छलफल गर्न आवश्यक छ ।

अध्यक्ष माओः तपाईका यी कुरासँग म सहमत छु ।

राष्ट्रपति निक्सनः जस्तै उदाहरणको लागि हामीले आफू स्वंयलाई सोध्नुपर्दछ– पश्चिम युरोपसँग जोडिएका सीमामा भन्दा चीनसँग जोडिएको सोभियत सिमानामा उसले किन धेरै सङ्ख्यामा सेना तैनाथ गरेको छ ? यो कुरा फेरि पनि यो कोठाभित्र मात्रै सीमित हुनेछन् । हामीले आफैलाई सोध्नुपर्दछ–जापानको भविष्य के हो ? हो, मलाई थाहा छ हामीबीच विमतिहरू छन् । तर के जापान तटस्थ बन्नु, पूर्णतः प्रतिरक्षाबिहीन बन्नु ठीक हो वा जापानको संरा अमेरिकासँग केही सम्बन्ध बिस्तार भए राम्रो हुने समय हो ? म अब दार्शनिक परिधिभित्रै बसेर कुरा गर्दैछु–अन्तर्राष्ट्रिय सम्बन्धमा रोजी–छान्न राम्रा विकल्पहरू नभएको अवस्था हो । एउटा कुरा के हो भने हामीले कुनै खाली ठाउँ राख्न सक्दैनौं किनभने ती सबै ठाउँ भरिभराउ भइसके । उदाहरणको लागि प्रधानमन्त्रीज्यूले भनिसक्नुभयो, संरा अमेरिकाले आफ्नो हात फैलाउँछ र सोभियत सङ्घले पनि आफ्नो हात फैलाउँछ । अब प्रश्न के हो भने जनगणतन्त्रको लागि संरा अमेरिकी हमला बढी खतरनाक हो वा सोभियत सङ्घको हमला बढी खतरनाक ? यी निकै जटिल प्रश्न हुन् र हामीबीच यसमा छलफल हुन जरुरी छ ।

अध्यक्ष माओःअहिलेको परिप्रेक्षमा संरा अमेरिकाबाट कुनै हमला हुने वा चीनबाट कुनै हमला हुने प्रश्न तुलनात्मक रुपमा गौण हो । अर्थात यो विषय अहिलेको प्रमुख विषय होइन । किनभने अहिले हाम्रा दुई देशबीच लडाई हुने अवस्था छैन । तपाईले विदेशमा रहेका तपाईका केही सेना आफ्नो देशमा बोलाउनुपर्दछ, हाम्रो त विदेशमा कुनै सेना छैन ।

तत्कालीन चिनियाँ प्रधानमन्त्री चाओ एनलाई र अमेरिकी राष्ट्रपति निक्सन

हाम्रा दुई देशबीचको अवस्था आश्चर्यलाग्दो छ किनभने विगत २२ वर्षसम्म हामीबीच कुनै अन्तरक्रिया भएन । हामीले टेबुलटेनिस खेल्न थालेको पनि दशै महिना त भयो । तपाईले वार्सामा आफ्ना सुझाव प्रस्तुत गर्नुभएको समय समेत गिन्ती गर्ने हो भने हाम्रो सम्पर्क भएको मात्र दुई वर्ष भयो । यो विषयमा हाम्रो पक्षबाट नोकरशाही तरिकाबाट काम भयो । जस्तै उदाहरणको लागि, तपाईहरुले व्यक्तिगत तहमै केही व्यक्तिहरुको आदानप्रदान चाहनुभएको थियो । व्यापारको पनि चाहना राख्नुभएको थियो । तर प्रमुख विषयको निक्र्योल नभई स–साना विषयमा कुनै पनि प्रकारको काम नगर्ने हाम्रो अडानमा हामी अडिग रह्यौं । म स्वंयले पनि त्यो अडानको लागि जोड दिएको थिएँ । पछि मलाई लाग्यो–तपाई सही हुनुहुन्छ अनि हामीले टेबुलटेनिस खेलाउने निर्णय ग¥यौं । निक्सन सरकार बनेपश्चात प्रधानमन्त्रीज्युले पनि यो कुरा बताउनुभएको थियो ।
पाकिस्तानका पूर्वराष्ट्रपतिले हामीलाई राष्ट्रपति निक्सनसँग परिचय गराउनुभएको हो । त्यत्तिबेला पाकिस्तानका लागि हाम्रा राजदुतले तपाईसँग सम्पर्क राख्न मान्नुभएको थिएन । उनले राष्ट्रपति जोनसन वा राष्ट्रपति निक्सनमध्ये को राम्रो भन्ने विषयमा तुलना गर्नुपर्दछ भनेका थिए । तर राष्ट्रपति याह्याले दुई जना मानिसको तुलना हुन नसक्ने र यी दुई मानिस अतुलनीय भएको बताउनुभएको थियो । उहाँले एक जना गुण्डा नाइके जस्तो भएको बताउनुभयो । उहाँले राष्ट्रपति जोनसनलाई त्यसो भन्नुभएको थियो । मलाई थाहा छैन, उहाँको दिमागमा जोनसनबारे त्यस्तो प्रभाव कसरी पर्न गयो । हाम्रो पक्षबाट हामी दुवै राष्ट्रपतिसँग सम्बन्ध बिस्तार गर्न राजी थिएनौं । हामी तपाईका सबै पूर्व राष्ट्रपतिहरुबाट खुशी थिएनौं–राष्ट्रपति ट्रुमानदेखि जोनसनसम्म । हामी ती राष्ट्रपतिहरु ट्रुमान र जोनसनदेखि खुशी थिएनौं ।
त्यसबीच आठ वर्षसम्म एक जना रिपब्लिकन राष्ट्रपति बने । त्यो अवधिमा धेरै सम्भव तपाईहरुले पनि यो विषयमा सोच्नुभएन ।

प्रधानमन्त्री चाओः प्रमुख कुरा त जोन फोस्टर डुलिसको नीति थियो ।

अध्यक्ष माओः चाओले यो विषयमा त डा.केसिङ्गरसँग पनि कुराकानी गरिसक्नुभएको छ ।

राष्ट्रपति निक्सनः (प्रधानमन्त्री चाओ र डा.केसिङगरतिर सङ्केत गर्दै) तर उहाँहरुले एक–अर्कासँग हात मिलाइसक्नुभयो । (चाओ हाँस्नुहुन्छ ।)

अध्यक्ष माओः डाक्टर सॉब केही भन्नुहुन्छ कि ?

डा.केसिङ्गरः अध्यक्षज्यू, यो अवधिमा संसारको परिस्थितिमा नाटकीय परिवर्तन भइसकेको छ । हामीले सिक्न बाँकी धेरै कुरा छन् । हामीले सबै समाजवादी र कम्युनिष्ट देशहरुलाई एउटै आँखाबाट हे¥यौं । राष्ट्रपतिज्यु सरकारमा नआउञ्जेल हामीले चीनमा भएको क्रान्ति र अरु समाजवादी देशहरुमा क्रान्तिको विकासका फरक चरित्र बुझ्न सकेनौं ।

राष्ट्रपति निक्सनः अध्यक्षज्यू, वर्षौ–वर्षसम्म जनवादी गणतन्त्र चीनको विषयमा मेरो धारणा अध्यक्षज्यू र प्रधानमन्त्रीज्यूको धारणासँग पूर्णतः बेमेल राख्ने खालको भएको कुरामा म सजग छु । विश्वमा विकसित नयाँ परिस्थितिको बोधले नै हामीलाई सँगै ल्याएको हो । कुनै राष्ट्रको आन्तरिक राजनीतिक दर्शन महत्वपूर्ण होइन भन्ने हाम्रो तर्फको बोधका कारण पनि हामीलाई नजिकिएका हौं । आन्तरिक राजनीतिक दर्शनभन्दा मुख्य कुरा त्यो राष्ट्रको बाँकी संसार र हामीप्रतिको नीति हो । हो, हामीबीच फरक मतहरु छन् । प्रधानमन्त्रीज्यू र डा. किसिङ्गरबीच यी फरक मतहरुबारे छलफल भइसकेको छ ।

साथै यो कुरा पनि भन्न जरुरी छ–दुई महाशक्तिहरु संरा अमेरिका र चीनको अवस्था हेर्दा चीन संरा अमेरिकी भूभागको लागि कुनै खतरा होइन । मलाई लाग्छ, तपाईलाई चीनमा संरा अमेरिकाको कुनै त्यस्तो भूमि हड्प्ने योजना छ भन्ने कुरामा विश्वास छैन । हामीलाई चीन संरा अमेरिकामाथि कुनै हस्तक्षेप गर्न चाहँदैन भन्ने कुरा थाहा छ । हामीलाई विश्वास छ, तपाईले पनि संरा अमेरिका चीनमा कुनै हस्तक्षेप गर्न चाहँदैन भन्ने कुरामा विश्वास गर्नुभएको छ । साथै, सम्भवतः तपाई यो कुरामा विश्वास गर्नुहुन्न होला तर म यो कुरामा विश्वास गर्छु–संसारमा न चीन न त संरा अमेरिका दुवै महान राष्ट्रहरु संसारमा राज चलाउन चाहँदैनन् । यी दुई विषयमा हाम्रा धारणा समान भएका कारण हामी एक अर्काको भूमिका लागि खतरा होइनौं ।

तसर्थ हामीबीच भिन्न मत रहे तापनि हामीले समान धारणा खोज्न सक्छौं । आफूले कोरेका बाटामा आफ्नै तरिकाबाट सुरक्षित रुपमा विकास गर्न सक्ने विश्व संरचना बनाउन हामीले समान धारणा बनाउन जरुरी छ । विश्वका अरु केही राष्ट्रको सन्दर्भमा यो कुरा भन्न सकिंदैन ।

अध्यक्ष माओः हामी जापान वा दक्षिण कोरियालाई पनि तर्साउँदैनौं ।

राष्ट्रपति निक्सनः अरु कुनै पनि देशलाई । हामी पनि त्यसो गर्दैनौं ।

अध्यक्ष माओ (प्रधानमन्त्री चाओसँग समय सोध्दै): के आज हामीले गर्नुपर्ने सबै कुराकानी गरिसक्यौं त ?

राष्ट्रपति निक्सनः अँ । कुराकानी सकाउनुअघि अध्यक्षज्य म भन्छु– हामीले तपाईलाई चिन्यौं र प्रधानमन्त्रीज्यूले हामीलाई यहाँ आमन्त्रण गरेर ठूलै खतरा मोल्नुभएको हामीलाई अवगत छ । हाम्र्रै लागि पनि यो निकै गाह«ो निर्णय हो । तर अध्यक्षज्यूका केही वक्तव्यहरु पढिसकेपश्चात उहाँ सही समय आए पछि प्रत्येक घण्टा र दिन पनि छोप्न सक्ने व्यक्तित्व हुनुुहुन्छ भन्ने मैले जानिसकेको थिएँ ।

प्रधानमन्त्रीज्यूलाई विशेषतः म व्यक्तिगत रुपमा भन्न चाहन्छु–यदि तपाईले मलाई चिन्नुभएको छैन भने तपाईले मलाई विश्वास पनि गर्नुहुँदैन । तपाईले महसुस गर्नुभएको होला, म आफूले गर्न नसक्ने काम कहिल्यै गर्छु भन्ने गर्दिनँ । अनि म सधैं मैले जे गर्छु भनेको हुन्छु, त्यो भन्दा बढी गर्ने गर्दछु । यही आधारमा म अध्यक्ष माओ र निसन्देह प्रधानमन्त्रीज्यूसँग बिना अप्ठ्यारो खुलेर कुराकानी गर्न चाहन्छु ।

अध्यक्ष माओ (किसिङ्गरलाई औंल्याउँदै): ‘प्रत्येक घण्टा र प्रत्येक दिन कब्जा गर ।’ मानिसहरु मलाई ठूला तोपहरुका गर्जनजस्तै सुन्न मन पराउँछन् । (चाओ हाँस्नुहुन्छ) ‘सारा संसार एक होऔं र साम्राज्यवाद, संशोधनवाद र सबै प्रतिक्रियावादलाई पराजीत गरी समाजवाद स्थापना गरौं’ यो पनि त्यस्तै गर्जन हो ।

राष्ट्रपति निक्सनः मजस्तो प्रतिक्रियावादी अनि डाँकाहरुलाई होइन त ।

अध्यक्ष माओः तर तपाई त्यसप्रकार गल्हत्याउनु पर्ने व्यक्तिमा पर्नुहुन्न । उनीहरुले उहाँ (डा.किसिङ्गर)लाई पनि त्यसरी फाल्नु पर्ने व्यक्तिमा पर्नुहुन्न भनी सके । तपाईहरु पनि फालिनुभयो भने हाम्रो कोही साथीहरु बाँकी रहने छैनन् ।

राष्ट्रपति निक्सनः अध्यक्षज्यू, तपाईको जीवनबारे हामी सबैलाई थाहा छ । संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको महान देशको एउटा अत्यन्त गरीब परिवारबाट तपाई आउनुभयो । इतिहासले हामीलाई एकै ठाउँमा ल्याएको छ । प्रश्न के हो भने, फरक–फरक दर्शन बोकेका तर जमिनकै टेकेका, जनताबाटै आएका हामीले चीन र अमेरिका मात्र होइन बरु सम्पूर्ण संसारकै हित हुने र गर्न सक्ने ज्यादै महत्वपूर्ण निर्णय गर्न सक्नुपर्छ । त्यही कारण हामी यहाँ आएका हौं ।

अध्यक्ष माओः तपाईको पुस्तक ‘द सिक्स क्राइसिस’ त्यत्ति नराम्रो पुस्तक होइन ।

राष्ट्रपति निक्सनः उहाँ(माओ) ज्यादै पढ्नुहुन्छ ।

अध्यक्ष माओः  निकै कम । मलाई संरा अमेरिकाबारे त्यत्ति धेरै कुरा थाहा छैन । केही शिक्षकहरु, मूलतः संरा अमेरिकाको इतिहास र भूगोलबारे सिकाउने शिक्षकहरु पठाइदिन आग्रह गर्छु ।

राष्ट्रपति निक्सनः अवश्य, निकै राम्रो ।

अध्यक्ष माओः  मैले पत्रकार एड्गर स्नोलाई पनि त्यही कुरा भनेको थिएँ । दुःखद् कुरा, उहाँ केही दिनअघि बित्नुभयो ।

राष्ट्रपति निक्सनः निकै दुःखद् ।

अध्यक्ष माओः  असाध्यै दुःखद् ।

हामीबीच आज कुराकानी भयो । निकै राम्रो भयो । कुनै सहमति नभए पनि यस्तो कुराकानी निकै सुखद् हो । किनभने गतिरोधमा बसेर के अर्थ रहन्छ र ? हामी कुनै निश्चित नतिजामा पुग्नै पर्छ भन्ने के छ र? मानिसहरु भन्नेछन्…हामी पहिलो पटक असफल भयौं भने हामी किन पहिलो पटक सफल हुन सकेनौं ? त्यसको एउटा कारण हामीले अंगालेको गलत बाटो हो । यदि हामी दोस्रो पटक पनि असफल भयौं भने के भन्छन् ? (त्यसपछि केही समापनका शब्दहरु भनियो । अध्यक्ष माओले आफूलाई सञ्चो नभएको बताउनुभयो ।

राष्ट्रपति निक्सनले प्रतिक्रियामा अध्यक्ष स्वस्थ देखिनुभएको बताउनुभयो । अध्यक्ष्ँले देखिने दृश्य भ्रमपूर्ण हुने गरेको बताउनुभयो । एक अर्कोसँग हात मिलाएर र केही तस्वीर खिचेर राष्ट्रपति अध्यक्ष निवासबाट बाहिर निस्कनुभयो । प्रधानमन्त्री चाओ एन लाईले राष्ट्रपति निक्सनलाई बाहिरसम्म पु¥याइदिनुभयो ।)

आइत, साउन ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया