अनशनमा बसेका डा. केसीद्वारा स्वास्थ्य जाँच गर्न अस्वीकार, स्वास्थ्य अवस्था थप जटिल


जुम्ला, असार ३० ।
चिकित्सा शिक्षा सुधार लगायतका माग गर्दै १५ दिनदेखि आमरण अनसनमा बस्नुभएका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गर्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डा. केसीले सरकारले आफ्ना माग सम्बोधनमा चासो नदेखाएको भन्दै स्वास्थ्य जाँच गर्नसमेत अस्वीकार गर्नभएको हो ।

उहाँले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको भन्दै रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग आफ्नो स्वास्थ्य परीक्षण नगर्न आग्रह गर्नुभयो ।

सरकारले डा. केसी काठमाडौं आएपछि मात्रै वार्ता हुन सक्छ भन्नु पुनः झुक्याउने चाल मात्र हुनसक्ने भन्दै उहाँले सरकारप्रति आशंका र आक्रोस व्यक्त गर्नुभएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताउनु भयो ।

शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा एकदमै न्यून रहेको र मस्तिष्कमा रक्तसञ्चार निकै कम रहेको डा.रोकायाले बताउनुभयो ।

शनि, असार ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया