‘उता दुईओटा पार्टी एकजस्तै भइसके, हाम्रो एउटा पार्टी दुईओटाजस्तो छ अनि कहाँ हुन्छ ? -देउवा


चितवन, असार ४ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कांग्रेसलाई अन्तरघातमुक्त पार्टी बनाउन आफू लागिपरेको बताउनु भयो ।
उहाँले अन्तरघातीलाई कारबाही गर्ने, पार्टीलाई एक गराउने र काग्रेसलाई सबैभन्दा ठूलो एक नम्बरको पार्टी बनाउने आफ्नो योजना रहेको बताउनु भयो ।
‘अन्तरघातमुक्त पार्टी बनाउनु छ । पार्टीलाई एक गर्नुछ’–सभापति देउवाले भन्नुभयो –‘उता दुईओटा पार्टी एकजस्तै भइसके । हाम्रो एउटा पार्टी दुईओटाजस्तो छ अनि कहाँ हुन्छ ? पार्टी एक नबनाइकन पार्टी चल्दैन ।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस एक्लै लडेकाले धेरै स्थानमा पराजित हुनुपरेको भन्दै उनले पार्टी हार्नुको अर्को कारण अन्तरघात रहेको जिकिर गरे ।

‘दुईओटा पार्टी एक भएर लड्दा कांग्रेस एक्लै लडेको हो । म ग्यारेन्टीका साथ भन्छु २५ सिट हाम्रो अन्तरघातले घटेको हो’–उहाँले भन्नुभयो ।

सोम, असार ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया