नेपाली विषयको पाठ्यभार ४ क्रेडिट आवर गर्नु पर्ने माग गर्दै विद्यार्थी परिषदद्धारा सुझाव पत्र पेश


काठमाडौं, जेठ ४ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाली विषयको व्यवस्थापनको नाममा भइरहेको षडयन्त्रप्र्रति आपत्ति प्रकट गर्दै पाठ्यक्रम विकास केन्द्र समक्ष ८ बुदे सुझावपत्र पेश गरेको छ ।

विद्यार्थी परिषद्ले नेपाली विषयको पाठ्यभार ४ क्रेडिट आवर गर्नु पर्ने, नैतिक शिक्षा, व्यावहारिक शिक्षा, योग शिक्षा लगायतको विषय समेट्नु पर्ने जस्ता सुझावपत्र पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्ण प्रसाद काप्री समक्ष पेश गरेको हो ।

कक्षा ११ र १२ मा नेपाली विषयलाई ५० पूर्णाङ्कमा सीमित गर्ने पाठ्यक्रम विकास केन्द्रको तयारीप्रति आपत्ति जनाउदै विद्यार्थी परिषद्ले उक्त निर्णय परिमार्जन गरि अनिवार्य नेपालीलाई १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गर्न आग्रह गरेको छ ।

सुझाव पत्रमा विदेशी दातृ निकायको प्रभाव र प्रलोभनमा नपरी राष्ट्रहितलाई सर्वाेपरि मान्दै नीति नियम एवं पाठ्यक्रम निर्माणमा जोड दिएको छ ।

साथै नेपाली भाषालाई कमजोर बनाउने र नेपाली मौलिकतालाई नष्ट गर्ने प्रयास भइरहेकाले नेपाली भाषामा नै इतिहास, भुगोल, संस्कृति र विश्व परिवेशको अध्ययन गर्ने गराउने वातावरण निर्माण गर्न माग गरिएको छ ।

नेपाली भाषाको मौलिकता र महत्वलाई आत्मसात गर्दै विद्यार्थी परिषद्ले यसको संरक्षणका लागि समाज एवं राष्ट्रमा भइरहेका तत्कालिन र दीर्घकालीन षड्यन्त्रप्रति सचेत हुन सबैमा आग्रह गरेको छ ।

संविधानमा नेपाली भाषा सरकारी कामकाजको भाषा भनिए पनि अझै सम्म पनि स्पष्ट नेपाली बोल्न र पढ्न नजान्ने, सामान्य निवेदन लेख्न नजान्ने, लोकसेवा÷शिक्षक सेवा आयोगका फारम भर्न नजान्ने समूहको संख्या बढेको भन्दै यसलाई प्रभावकारी रुपमा अध्ययन अध्यापन गराउने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिइएको छ ।

शुक्र, जेष्ठ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया