कथा- इहलोक


-अशोक कुँवर ‘नेत्र’
“सांसारिक बन्धनबाट मुक्ति र मोह त्याग दुःख मोचनको एक मात्र उपाय हो । यो दैहिक लोकलाई परित्याग गरेर आध्यात्मिक दैविक लोकमा उही परम् पिता परमेश्वरसँग साक्षात्कार हुन पाउनु जस्तो खुसी अन्त कहाँ छ र ?” नाम चलेका भगवत् पण्डित प्रवचन दिँदै थियो । पण्डित देह र आत्मालाई परस्पर दुई भिन्न तत्त्वको रूपमा व्याख्या गर्दै भन्दै थियो, “न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः । अजो नित्यः शाश्वतोsयं पुराणो न हन्यते हन्यमाने शरीर । अर्थात् यो न कहिल्यै जन्मन्छ न कहिल्यै मर्छ । यो त अजन्म, अन्तहीन, शाश्वत्, नित्य,, सनातन र अमर छ । यो सधैँदेखि थियो र सदा रहने छ । शरीरलाई मारे पनि यसको अन्त्य हुँदैन ।” प्रवचन सुन्न आएका भक्तजनहरू एकाग्र थिए । लाग्दथ्यो घरबार जेसुकै होस् पण्डितको यो अमर वाणी नसुनी आज छाडिन्नँ । आफ्नो प्रवचनमा यसरी भक्तजनहरू नतमस्तक भएको देखेपछि पण्डितले आफ्नो अभ्यस्त कलालाई झन् निखार्दै भन्दै थियो, “वासांसि जीर्णानि यथा विहाय नवानि गृहणाति नरोsपराणि । तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही । अर्थात् जसरी कुनै व्यक्तिले पुरानो, थोत्रो वस्त्र उतारेर नयाँ वस्त्र धारण गर्छ त्यसरी नै शरीर धारण गरेको आत्माले पुरानो शरीर त्याग गरेर नयाँ शरीर प्राप्त गर्दछ ।”

 

भक्तजनहरू आत्माको अमरता र देहको क्षण भङ्गुरता सम्बन्धी अमरवाणीलाई एक शब्द पनि तलमाथि नगरी भाव ग्रहण गर्न चाहन्थे । “य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् । उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते । अर्थात् जो यस आत्मालाई मार्छु भनेर चाहन्छ अथवा जसले यो आत्मा मर्यो भनेर सोच्दछ ती दुबै नै आत्माको गूढ रहस्य जान्दैनन् । किनकि यो न त मर्छ न त यसले मार्छ ।” पण्डित आफ्नो ज्ञानको सञ्चार आत्मा र देहको भेद छुट्याउन नसक्ने ती अबुझसम्म पुर्याउन पाएकामा भित्रभित्रै खुसी थियो । केही बेरको धारा प्रवाही प्रवचनपछि पण्डितले आजको प्रवचन समाप्त भएको घोषणा गरे । घन्टीको टिनिनिनि, शङ्खनाद, जयजयकारको ध्वनि गुन्जियो । आफ्नो प्रतिभाउपर पण्डित गर्वित भयो । उसले सोच्यो, “म सफल भएँ ।” साँच्चै पर्यावरण नियाँल्दा पण्डितको प्रवचनले उच्च तहको प्रभाव छाडेकामा कुनै शङ्का गर्ने ठाउँ नै रहेन । ऊ हर्षले मुसुक्क मुस्कुरायो । केही समय बितेपछि पण्डितलाई तामझामका साथ बिदाई गर्ने समय भयो । व्यवस्थापनमा खटिएका मध्ये एकको अनुरोध स्वीकार गर्दै पण्डित उसका निम्ति तयार पारिराखेको बोलेरो जिपको अघिल्लो सिटमा बस्यो । उसका दुई सहयोगीहरू पछाल्तिरको सिटमा बसे । निकै सम्मानका साथ पण्डितलाई बिदाई गरियो । बोलेरो चालकले बोलेरो बिस्तारै अघि बढायो । चारैतिर एकै लयमा एउटै आवाज सुनियो, “भगवत् पण्डितको जय, भगवत् पण्डितको जय, भगवत् पण्डितको जय ।” बोलेरो जिप पहाडको ओरालो बाटो दौडँदै थियो । कुन्नि के भएर हो जिपको ब्रेक फेल भयो । चालकले पण्डितलाई उत्ति नै बेला जिपको ब्रेक फेल भएको कुराको जानकारी गरायो । “हे ईश्वर ! यो के भयो ?” भाउन्नमा परेर पण्डितले ईश्वरको नाम जप्न थाल्यो । एक हिसाबमा यति बेला उसलाई आफू तलको पृथ्वी नै भासिए झैँ लाग्यो । “अहो ! ड्राइभर भाइ, म त मर्ने भएँ । घरमा मेरो सानो छोरो छ । त्यसलाई पढाउनु छ, लेखाउनु छ । बुढी आमा र बा छन्, हेरचाह गर्नु छ । अर्धाङ्गिनी छे, कृष्णलाई राधाले प्रेम गरे जस्तो प्रेम गर्छे । मलाई बँचाऊ भाइ, म मर्न चाहन्नँ ।”
जिप चालक स्टेरिङ बटार्दै थियो । बाटोभन्दा दायाँबायाँ त जिप गएको थिएन तर ब्रेक भने लागेको थिएन । यसैबिच आफ्नो गुरुका महान् वाणीहरू सम्झँदै पण्डितका सहयोगीमध्ये एकले भने, “अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः अनाशिनोs प्रमेयस्य तस्माद्युध्यस्व भारत । त्यसैले नआँत्तिनुहोस् गुरुवर । शरीर मात्रै नाशवान् छ आत्मा नाश हुँदैन ।” साँघुरो पहाडी बाटोको ठिक विपरीतबाट मालवाहक ट्रक आउँदै थियो । सहयोगीमध्ये अर्कोले भन्दै थियो, “न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः । अजो नित्यः शाश्वतोsयं पुराणो न हन्यते हन्यमाने शरीर ।” पण्डित बच्चा जस्तै धुरुधुरु रुन थाल्यो ।
[email protected] (कथाकार प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य हुन् ।)

बिहि, जेष्ठ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter