मार्क्सले सच्चा कम्युनिस्ट पार्टी निर्माणका लागि ‘गोथा कार्यक्रम’ विरूद्ध लडेको यस्तो छ संघर्षको इतिहास


(मार्क्सको ‘गोथा कार्यक्रमको आलोचना’ कुन सन्दर्भमा र किन लेखिएको थियो भन्ने कुरा मार्क्सवादको अध्ययन गरेको मान्छेलाई थाहा भएकै कुरा हो । ‘गोथा कार्यक्रमको आलोचना’ लेखिएको १४३ वर्ष र प्रकाशित भएको १३७ वर्ष भएछ, तर आज पनि यो आलेख त्यत्तिकै सान्दर्भिक छ । एकता र फूटका सन्दर्भमा मात्र नभई आन्दोलनमा विचारको कति सारो महत्व हुन्छ भन्ने कुरालाई ‘गोथा कार्यक्रमको आलोचना’ ले प्रस्ट पार्दछ । पहिले होङ्छीमा चिनियाँ भाषामा र पछि पेकिङ रिभ्यु (१९७५) मा प्रकाशित प्रस्तुत रचनाले अवसरवाद र क्रान्तिकारी मार्क्सवादबीचको सङ्घर्षलाई उजागर गर्छ । कतिपय घटनाहरू अहिलेको हाम्रो परिस्थितिसित पनि मिल्दाजुल्दा छन् । कार्ल मार्क्सको २००औँ जन्मदिवसका सन्दर्भमा हामीले यो रचना प्रस्तुत गरेका छौँ । )

यो वर्ष, लासालवादी अवसरवादका विरुद्ध इँटको जवाफ पत्थरले दिने क्रममा महान् नेता मार्क्सले सन् १८७५ मा लेख्नुभएको सारगर्भित रचना ‘गोथा कार्यक्रमको आलोचना’ को ठीक सय वर्ष पूरा भएको छ । यो दस्ताबेज सन् १८७५ मा लेखिएर सन् १८९१ मा पहिलोपल्ट प्रकाशित भएको थियो । लेखिनु र प्रकाशित हुनुको बीचको  १५ वर्षको अवधिमा अवसरवादीहरूका विरुद्ध तीव्र सङ्घर्षहरू भएका थिए । भौतिकवादी द्वन्द्ववादको विकासमा अन्तर्वस्तुका दृष्टिले यसलाई समृद्ध बनाउने क्रममा मार्क्सले पुँजीवादको यथाशीघ्र पतन र साम्यवादको विकासका सन्दर्भमा कम्युनिस्ट समाजको तल्लो र उच्च तहसित सम्बद्ध नखोलिएका पानाहरूलाई अगाडि ल्याउनुभयो र साम्यवादी समाजको उच्च पक्षलाई सबैका सामु प्रस्तुत गर्नुभयो ।

मार्क्सले दृढताका साथ पुँजीवादी समाज र साम्यवादी समाजमा रूपान्तरण हुने अवस्था भनेको सङ्क्रमणको अवस्था हो, जसमा राज्य सर्वहाराको अधिनायकत्वबाहेक अरू केही पनि हुन सक्तैन भन्ने कुरा प्रस्ट पार्नुभयो । एक सय वर्षदेखि यो वैज्ञानिक समाजवादको कार्यक्रमिक दस्ताबेजले विश्वभरिका करोडौँ जनता  र सर्वहाराको क्रान्तिकारी सङ्घर्षलाई उत्साहित पार्दै नेतृत्व प्रदान गरिरहेको छ ।

यी सय वर्षहरूमा विश्वमा पृथ्वी हल्लाउने परिवर्तनहरू भएका छन् । ‘गोथा र्काक्रमको आलोचना’ लेखेको ४२ वर्षपछि रूसी सर्वहाराले महान् लेनिनको नेतृत्वमा सशस्त्र सङ्घर्षद्वारा अक्टोवर क्रान्ति सम्पन्न गर्यो र सर्वहारा वर्गको क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्व स्थापनाको नयाँ युगको अगुवाइ गर्यो । अक्टोबर क्रान्तिको ३२ वर्षपछि हाम्रा महान् नेता अध्यक्ष माओको नेतृत्वमा दीर्घकालीन क्रान्तिकारी युद्धमार्फत चिनियाँ जनताले साम्राज्यवाद, सामन्तवाद र नोकरसाही पुँजीवादी शासनसत्ता मिल्काए र चीनमा सर्वहारा अधिनायकत्व स्थापित गरे । आज विश्वका सर्वहारा  र उत्पीडित राष्ट्रहरूको सङ्घर्ष सिङ्गो पुँजीवादी संसारलाई थर्कमान पार्दै निरन्तर विजयका साथ तीव्र गतिका साथ अघि बढिरहेको छ । यद्यपि क्रान्तिको बाटो कठिन र घुमाउरो छ र अक्टोबर क्रान्तिको जन्मभूमि रूसमा पुँजीवादको पुनर्स्थापना भएको छ, क्रुस्चेव र ब्रेजनेव गद्दार गुटले पार्टी र राज्यसत्ता कब्जा गरेको छ, तर पनि यो सिङ्गो ऐतिहासिक विकासमा एउटा सानो अवरोध मात्रै हो । विश्व प्रगतिको दिशामा अग्रसर छ, भविष्य उज्ज्वल छ र कसैले पनि इतिहासको यो आम नियमलाई फेर्न सक्तैन (माओत्सेतुङ  : ‘चुङ्किङ सम्झौता वार्ताका सम्बन्धमा’ ) । यताका सय वर्षमा समयसमयमा गरिएका प्रयोगहरूले ‘गोथा कार्यक्रमको आलोचनाका सम्बन्धमा’ सर्वहारा क्रान्तिका सिद्धान्तहरू र सर्वहारा अधिनायकत्वसम्बन्धी मान्यताहरू अकाट्य सत्यहरू साबित भएका छन् ।  ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को प्रयोग र लिन प्याओ र कन्फुसियसको आलोचनाको आन्दोलनमार्फत निसृत यथार्थलाई अगाडि राखेर यसको पुनर्अध्ययन गर्दा हामी यस कुरालाई अझ गहिरोसित बुझ्न सक्षम भएका छौँ ।

अवसरवाद विरुद्धको सङ्घर्षको उच्च उदाहरण

कम्युनिस्ट आन्दोलनको इतिहासमा अवसरवादका विरुद्ध मार्क्सवादले गरेको सङ्घर्षमा ‘गोथा कार्यक्रमको आलोचना’ को उच्च महत्व रहेको छ । सन् १८७० दशकमा अन्तर्राष्ट्रिय श्रमजीवीहरूको सङ्घर्षको केन्द्र फ्रान्सबाट जर्मनीतिर सर्यो, जर्मन मजदुर आन्दोलन गतिका साथ विकसित भइरहेको थियो । लासालवादका विरुद्धको सङ्घर्षपछि र मार्क्स-एङ्गेल्सको प्रत्यक्ष प्रशिक्षित र निर्देशित भएपछि त्यतिबेर जर्मन सर्वहाराले आफ्नो स्वतन्त्र पार्टी जर्मन-सामाजिक जनवादी श्रमिक पार्टी अर्थात् आइजेनाख स्थापना गरे । यस पार्टीका कार्यक्रमहरू लासालवादी अवसरवादी प्रभावबाट पूर्णरूपमा मुक्त हुन नसके पनि यो आफूलाई सामान्यतः आधारभूत रूपमा मार्क्सको क्रान्तिकारी लाइनमा रहेको पहिलो अन्तर्राष्ट्रियको स्पिरिट र आम नीतिनियभित्रै रह्यो । यसकारण यसलाई मजदुरहरूको बढ्दो सङ्ख्याको समर्थन थियो । लासालवादीहरू, जो एक समय निकै शक्तिशाली थिए र जो आइजेनाखको विरुद्धमा थिए, उनीहरूले अवसरवादी लाइन लिए र जमिनदार र पुँजीपति वर्गहरूको स्वार्थ पूरा गर्ने बाटो समाते, उनीहरूले विस्तारै आमजनसमुदायको समर्थन गुमाउँदै गए र अन्ततः एकदमै अलगथलग हुनपुगे । यस किसिमको स्थितिमा सन् १८७४ मा लासालवादीहरूले पहिले आइजेनाखसित संयुक्त भएर जान इन्कार गरेको अडान त्याग्दै आफ्नो खस्कदै गएको हैसियत जोगाउन उनीहरूसित एकता गर्न एकदमै तत्पर भए ।

यस किसिमको स्थितिको सामना गर्दै मार्क्स र एङ्गेल्स, जसले जर्मन श्रमजीवी वर्गको आन्दोलनप्रति सदैव एकता र ऐक्यबद्धता जनाउँदै ऊजा प्रदान गर्नुभयो, र एकता नै हुन नसक्ने भन्ने होइन भन्दै सङ्गठनात्मक एकताको प्रश्नमा सिद्धान्तमा कुनै पनि किसिमको सौदाबाजी हुन सक्तैन भन्दै निरन्तर आइजेनाखका नेताहरूलाई सचेत पनि गराउनुभयो ।  सन् १८७५ मा अगस्त बेबेललाई लेखेको चिठीमा लासालवादीहरूसित  सिद्धान्तको प्रश्न, जुनचाहिँ एकताको प्रधान पक्ष हो, यसमा  अलिकति पनि छुट हुने छैन भन्ने कुरामा जोड दिँदै भन्नुभयो —“एकताको पहिलो सर्त उनीहरूले लासालवादी फूटपरस्तवादीहरूलाई परास्त गरेको हुनुपर्छ”  । तर लिब्कनेख्त र अरूहरू जो एकताका लागि पहिलेदेखि नै प्रयासरत थिए,  मार्क्स-एङ्गेल्सको सल्लाहलाई  अस्वीकार गर्दै उनीहरू आफ्नै किसिमले अघि बढे । उनीहरूले सिद्धान्तलाई तिलाञ्जली दिए र लासालवादीहरूले तयार पारेको मिसमासे एकता मस्यौदा प्रस्तावमा सामेल भए, जुन  सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिद्धान्तबाट विचलित थियो र लासालवादीहरूको अवसरवादमा आधारित थियो । यही दुइटा समूहको एकता महाधिवेशनका लागि तयार पारेर स्वीकृत गरिएको ड्राफ्ट नै गोथा कार्यक्रम थियो  । सो गोथा कार्यक्रमप्रति आफ्नो सैद्धान्तिक अडान प्रस्ट पार्दै, यसको गलत चिन्तनबाट अन्तर्राष्ट्रिय मजदुर  आन्दोलनमाथि पर्ने प्रभाव रोक्न, समग्र रूपमा, हरफहरफमा एकता महाधिवेशनअघि नै यसको  निर्ममतापूर्वक आलोचना गर्दै मार्क्सले ‘जर्मन श्रमजीवी पार्टीको कार्यक्रमप्रति आलोचनात्मक टिप्पणीहरू’ शीर्षकमा दस्ताबेज  लेख्नुभयो, र त्यही दस्ताबेज नै गोथा कार्यक्रमको आलोचना  नामले प्रख्यात छ ।

गोथा कार्यक्रमको मूल सारतत्व : सर्वहरा क्रान्ति  र सर्वहारा अधिनायकत्वको विसर्जन 

गोथा कार्यक्रम  “समग्र रूपमै आपत्तियोग्य कार्यक्रम हो, जसले पार्टीको शिर झुकाउँछ” भनेर मार्क्सले प्रस्ट पार्नुभयो । यसको आपत्तिजनक भाग भनेको— “राज्य सहयोग” मार्फत समाजवादको स्थापनालाई स्वीकार गर्नु र सर्वहारा क्रान्तिको विसर्जन गर्नु हो, समाजवादलाई ‘‘राज्यसहयोग” मा ढाल्दै  ‘स्वतन्त्र राज्य’ का लागि सङ्घर्षलाई अगाडि सारेर अन्तर्राष्ट्रिय सहयोगमार्फत समाजवाद स्थापना गर्ने लासालवादी विचारप्रतिको समथर्न र सर्वहारा अधिनायकत्वको विसर्जन हो ।

गोथा कार्यक्रम सन् १८७१ को पेरिस कम्युन क्रान्तिपछि आएको थियो । त्यतिबेला मार्क्स-एङ्गेल्सले पेरिस कम्युनसम्बन्धी आफ्नो अनुभवको सार निकालिसक्नुभएको थियो र पेरिस कम्युनपछि सर्वहाराका सामु विद्यमान बुर्जुवा राज्य मेसिनरी कब्जा गरी ध्वस्त पारेर सर्वहारा राज्यसत्ता स्थापना  गर्नुपर्ने कामको महत्त्वलाई अगाडि सार्नुभयो ।  र पनि  यस किसिमको महत्वपूर्ण अनुभवलाई बेवास्ता गर्दै लिब्कनेख्त र अरूहरू, “सबै लासालवादी, मूलतः आर्थिक पदावलीहरू र दाबीहरू र लासालको मुर्खतापूर्ण विचार स्वीकारेर” पछाडि फर्किए । कम्तीमा पनि कार्यक्रमको आधारमा भन्दा “आइजेनाख साँच्चिकै लासालवादी भयो ।” लासालवादीहरू नक्कली समाजवादी थिए र मूलतः बुर्जुवा समाजवादीहरू थिए । तिनीहरूले विद्यमान समाजबाटै, विद्यमान समाजको आधारलाई यथावत सुरक्षित राखेर नयाँ समाज निर्माणको बाटोको अडान लिए ”(एङ्गेल्स साम्यवादका सिद्धान्तहरू) । यसले गोथा कार्यक्रमभित्रको लासालवादी यथास्थितिवादलाई प्रस्ट रूपमा सतहमा ल्याइदियो ।

आरम्भदेखि नै यो कार्यक्रमले  उत्पादनका साधनहरूको स्वामित्वको प्रश्नलाई खारेज गरिदियो र सबै सम्पतिको स्रोत श्रम नै हो भनेर बर्बरायो । यो लासालवादी यथास्थितिवादको एउटा पक्ष थियो । मार्क्सले खुलस्त पार्नुभयो : श्रम सबै सम्पतिको स्रोत होइन, प्रकृति श्रमजस्तै सबै सम्पतिको स्रोत हो । यसकारण कि भौतिक सम्पतिको उत्पादनका लागि मानव श्रम मात्रले पुग्दैन, बरु यसमा विषयी र उत्पादनको श्रमको  साधन पनि आवश्यक पर्छ । बहुचर्चित भनाइ “श्रमले विश्वजगत्को सिर्जना गर्छ” ले यस स्थितिलाई महत्वपूर्ण पूर्वसर्तका रूपमा लिन्छ । श्रम रहस्यमय सिर्जनशक्ति होइन । जहाँसम्म एउटा श्रमिकको कुरा छ “आरम्भदेखि नै प्रकृतिसित श्रमको विषयी र साधनको प्रारम्भिक स्रोतको मालिकका रूपमा व्यवहार गर्छ” र उसले सम्पतिको सिर्जना गर्न सक्छ । पुँजीवादी मुलुकहरूमा किन मजदुरहरू आफ्नो श्रमशक्ति पुँजीपतिहरूलाई बेच्छन् र अनि बिस्तारै ज्यालादारी दास बन्नपुग्छन् ? यो महत्वपूर्ण कुरा हो, किन भने उत्पादनका साधनहरू पुँजीपतिहरूका हातमा हुन्छन् र श्रमजीवी वर्गसित आफ्नो श्रमशक्तिबाहेक अरू केही हुँदैन । गोथा कार्यक्रम श्रमका सम्बन्धमा ‘फोस्रो’ गन्थनमा सीमित छ र आधारभूत महत्वको पक्षको चर्चालाई खारेज गरिदिएको छ—उत्पादनका साधन कसको अधीनमा हुने—र पुँजीवादमा हुने शोषण र शोषण र दमनको जड, जसका कारण सर्वहारा उत्पीडित हुन्छ, त्यसलाई ढाकछोप गरिएको छ । यस किसिमको झूठ  खुल्लमखुला बुर्जुवा बकवास हो । क्रुस्चेव र ब्रेजनेव सत्तामा आएपछि सोभियत रूसमा  बुर्जुवा एकाधिकारवादी पुँजीवादी वर्गद्वारा आमजनताको सामाजिक स्वामित्व व्यक्तिगत स्वामित्वमा परिणत गराइँदैछ । लासालवादी दीर्घकालीन झूठलाई अँगालेर ब्रेजनेव र उसका मतियारहरू पनि “श्रम नै सम्पतिको स्रोत” हो भनेर चिच्याए र सोभियत जनताका सामु “काम, काम र फेरि पनि काम” को धारणा अघि सारे ।  यसको उद्देशय अरू केही थिएन, पुँजीवादी शोषणका सम्बन्धहरू र पुँजीवादको पुर्नस्थापना सम्बन्धी सत्यमाथि पर्दा लगाउनु मात्र थियो, जसबाट मजदुरहरूबाट बढीभन्दा बढी नाफा आर्जन गर्न सकियोस् ।  जेजे गरे पनि परालको यस त्यान्द्रोले पुँजीवादी व्यवस्था र सोभियत संशोधनवादी गद्दार गुटलाई उनीहरूको पतनबाट बचाउन सक्तैन ।

लासालको “मजदुरीको लौह नियम” लाई गोथा कार्यक्रममार्फत जर्मन पार्टीमा थोपरेर “मजदुरीको फलामे नियमसहित मजदुर-प्रणालीको उन्मूलन” मार्फत पुँजीवादका विरुद्ध लड्ने जुन आधार बनाइयो,  यो बकवाससिबाय केही होइन । तथाकथित “मजदुरीको लौह नियम” लासालले बुर्जुवा अर्थशास्त्रीहरूबाट ग्रहण गरेको फोहरको थुप्रो मात्र हो र यसले मजदुरी मजदुरका लागि बाँच्नका लागि नभइनहुने तहसम्म मात्र उपलब्ध हुनसक्छ भनेर भन्छ । यदि लामो समयसम्म बाँच्ने तहभन्दा बढी मजदुरी प्राप्त भएर मजदुरको स्तर वृद्धि हुन्छ भने, यसले जनसङ्ख्या वृद्धिलाई प्रोत्साहित गर्छ र श्रम बजारमा आपूर्ति आवश्यकताभन्दा बढी हुन्छ । परिणाममा श्रम यसको मूल बिन्दुमा झर्न बाध्य हुन्छ । यसको अर्थ  गरिबी र श्रमजीवी वर्गको स्थिति जनसङ्ख्या वृद्धिको प्राकृतिक नियमद्वारा निर्धारित हुन्छ, श्रमजीवी वर्गद्वारा चलाइएको आन्दोलनद्वारा होइन । यस किसिमको बुर्जुवा सिद्धान्तलाई मार्क्सको पुँजीमा पूर्ण रूपमा खारेज गरिएको छ ।  श्रमजीवी वर्गमाथि हुने शोषणा र दासत्वको मूल जड, जसलाई मार्क्सले औँल्याउनुभएको छ , पुँजीवादी निजी स्वामित्वमा आधारित ज्यालादारी व्यवस्था हो । हिँसापूर्ण क्रान्तिमार्फत ज्यालादारी श्रम-व्यवस्थाको उन्मूलन भएपछि मात्र श्रमजीवी वर्गले आफूलाई मुक्त पार्न सक्छ । एकपल्ट ज्यालादारी श्रम-व्यवस्थाको उन्मूलन भएपछि यसका नियमहरू स्वाभाविकरूपमा आफैँ हराउँछन् । मार्क्सले सटिक किसिमले  भन्नुभएको छ :  “यदि मैले ज्यालादारी श्रमको उन्मूलन गर्छु भने स्वाभाविक रूपमा म यसको कानुनको पनि अन्त्य गर्छु, चाहे ती लौह किसिमका हुन् अथवा भुवादारी ।” जहाँसम्म मस्यौदा कार्यक्रमको कुरा छ, यो  ज्यालादारी श्रम-व्यवस्थाको उन्मूलनको उल्लेख समेत नगरी भागेको छ र घुमीघुमी कथित “लौह कानुन” को चर्चामा केन्द्रित भएको छ । यो भनेको श्रमजीवी वर्गलाई क्रान्तिको बाटो त्याग्न र लासालवादी समाजवादको अनुभूति गर्न “राजकीय सहयोग” का लागि पर्खन भने बराबर हो । “ज्यालादारी श्रमको लौह कानुन” जनसङ्ख्या सम्बन्धी कुख्यात माल्थसवादी सिद्धान्तमा आधारित छ । यस किसिमको दृष्टिकोणलाई आधार मान्ने हो भने जो-कोही पनि सबै क्रान्तिको उन्मूलनको बिन्दुमा पुग्छ । कारण के हो भने “ यदि यो सिद्धान्त सही छ भने फेरि म कानुनको उन्मूलन गर्न सक्तिन, चाहे मैले ज्यालादारी श्रमलाई हजारपल्ट उन्मूलन किन नगरौँ, किन भने त्यस नियमले ज्यालादारी श्रमको व्यवस्थालाई मात्रै नियन्त्रण गर्दैन, बरु त्यसले हरेक सामाजिक व्यवस्थालाई नियन्त्रण गर्छ ।”

गोथा कार्यक्रमले  तथाकथित “न्यायोचित वितरण” र “समान अधिकार” र “श्रमको अक्षुण्ण आय” र यस्तै लासालवादी सूत्रको पनि ढोल पिटेको छ र बुर्जुवा अर्थशास्त्रसित सम्बद्ध “वितरणले उत्पादनलाई निर्धारण गर्छ” को सिद्धान्तलाई बारम्बार दोहोर्याएको छ । मार्क्सवादले उत्पादनमा आएको परिवर्तनको स्थितिले वितरणको स्थितिलाई प्रभावित पार्छ भनेर स्वीकार्छ । उत्पादन सम्बन्धको क्षेत्रमा पुँजीवादी निजी स्वामित्वलाई “विद्यमान सामाजिक स्थितिलाई बलपूर्वक मिल्काएपछि मात्र” उन्मूलन गर्न सकिन्छ । (कम्युनिस्ट पार्टीको घोषणापत्र) । लेनिनले के कुरामा जोड दिनुभयो भने बुर्जुवा राज्यलाई  “सर्वहारा राज्यसत्ताले ( सर्वहाराको अधिनायकत्व) ले  आम नियमझैँ, हिंसापूर्ण क्रान्तिबाट मात्र यो कार्य सम्पन्न गर्न सक्छ ।” (‘राज्य र क्रान्ति’) । अध्यक्ष माओले यो आधारभूत सिद्धान्तलाई  एउटा सरल सूत्रमा समेट्नु भएको छ :  “राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ ।” (‘युद्ध र रणनीतिका समस्याहरू’ ) ।  ऐतिहासिक अनुभवले यसलाई प्रमाणित गरेको सत्य हो, यही मात्रै सर्वहाराको मुक्तिको बाटो हो ।  लासालवादी “राज्य सहयोग” देखि “शान्तिपूर्ण सङ्क्रमण” को वकालत गर्ने नयाँ पुराना संशोधनवादीहरू सबैले सिद्धान्तमाथि गद्दारी गरेका छन् । तिनीहरूको झूठ अरू केही पनि होइन, बरु पुँजीवादी व्यवस्थालाई ग्रहण गर्ने र सर्वहारा क्रान्तिको विरोध गर्ने अधिभौतिकवादी हतियार मात्र हो ।

“स्वतन्त्र राज्य” का लागि प्रयास गर्ने भनेर जसरी गोथा कार्यक्रममा भनिएको छ, यो लासालको अवसरवादी राजनीतिक कार्यक्रम हो । मार्क्सवादका अनुसार राज्य वर्गपक्षधरतामा आधारित हुन्छ, जसद्वारा एउटा वर्गले अर्को वर्गलाई दबाउने गर्छ ।  राजनीतिक सत्ता हातमा लिएपछि सर्वहारा वर्गले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नेछ, जसको उद्देश्य वर्गभन्दा माथिको “स्वतन्त्रता” कायम गर्नु नभएर, बरु बुर्जुवा वर्ग र अरू शोषक वर्गको प्रतिरोधलाई दमन गर्नुहुन्छ । “स्वतन्त्र राज्य” को झण्डा (ब्यानर)  टाँगेर लासाल र उसका अनुयायीहरूले बुर्जुवा प्रजातन्त्रवादीहरूले चुनाबी नाराहरू अघि सारेझैँ आफ्ना नाराहरू अघि सारे । उनीहरूको उद्देश्य ठूला जमिनदार र ठूला पुँजीपति वर्गहरूको संयुक्त अधिनायकत्व कायम गर्नुथियो ।

समाजवाद सर्वहाराको क्रान्तिकारी अधिनायकत्वबाहेक अरू केही हुन सक्तैन

लासालवादी “स्वतन्त्र राज्य” को आलोचना गर्दै मार्क्सले के पनि भन्नुभयो भने : “पुँजीवादी  समाज र समाजवादी समाजबीच एउटाबाट अर्कोमा जाँदा क्रान्तिकारी रूपान्तरणको काल रहेको हुन्छ । त्यसको साथसाथै  राजनीतिक सङ्क्रमणको काल पनि हुन्छ, जसमा राज्य सर्वहारावर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अरू केही हुन सक्तैन ।”  मार्क्सको यो वैज्ञानिक निष्कर्ष कम्युनिस्ट मेनिफेस्टोको प्रकाशनपछि सर्वहारा अधिनायकत्वको सिद्धान्तको क्षेत्रमा एउटा महत्वपूर्ण विकास थियो ।

पुँजीवादी समाजदेखि साम्यवादी समाजसम्मको अवधि अवश्य पनि  क्रान्तिकारी रूपान्तरणको समय हुनैपर्छ र यो सर्वहारा क्रान्तिको विशिष्ट अवस्था र ऐतिहासिक कार्यभारद्वारा निर्धारित हुन्छ । यो क्रान्ति एकदमै गहिराइसम्म पुग्ने र क्रान्तिमार्फत मानव इतिहाससम्म पुग्ने पहिलेका क्रान्तिहरूभन्दा आधारभूत रूपमै फरक किसिमको  हुन्छ । उदाहरणका रूपमा बुर्जुवा क्रान्तिले एउटाको निजी स्वामित्वलाई अर्कोको निजी स्वामित्वमा फेर्छ, एउटाले गरेको शोषणको स्थानमा शोषण गर्न अर्को आउँछ, सामन्ती उत्पादन सम्बन्धबाटै लामो समय लिएर पुँजीवादी उत्पादनसम्बन्ध विकसित हुन्छ ।  तर सर्वहारा क्रान्ति यस्तो हुँदैन, उत्पादनको समाजवादी सम्बन्ध पुँजीवादी समाजभित्रैबाट यथावत रूपमा विकसित हुँदैन । हिँसात्मक क्रान्तिमार्फत सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरेपछि मात्रै समाजवादी स्वामित्वको उत्पादन सम्बन्ध स्थापना गर्नसक्छ । अझ समाजवादी स्वामित्वको उत्पादन सम्बन्धको  आधारभूत रूपान्तरण पूरा गरेपछि पनि आर्थिक मोर्चा र खास गरेर राजनीतिक तथा वैचारिक मोर्चामा समाजवादी क्रान्तिमार्फत निरन्तर सङ्घर्ष चलाइरहनुपर्छ ।  त्यसैले सर्वहाराद्वारा राजनीतिक सत्ता कब्जा गर्ने कार्य समाजवादी क्रान्तिको आरम्भ मात्रै हो ।

समाजवादी समाज साम्यवादी समाजको प्रारम्भिक चरण हो, र यो भर्खरै “पुँजीवादी समाजबाट उदय भएको हुन्छ, जसमा आर्थिक, नैतिक, बौद्धिक हरेक पक्षमा पुरानो समाजको गर्भबाट आएका विकारहरू अझै बाँकी रहेका हुन्छन् ।” गर्भबाटै आएका पुराना समाजका यी विकारहरू समाप्त पार्न र साम्यवादको माथिल्लो चरणमा अगाडि बढ्न निश्चय पनि लामो ऐतिहासिक समय लाग्छ ।  समाजवादी समाजमा उत्पादनका साधनहरू निजी स्वामित्वबाट साझा स्वामित्वमा रूपान्तरित गरिएको हुन्छ । एक हदसम्म बुर्जुवा अधिकार हराएको हुन्छ, तर यो अझै पनि अन्य पक्षमा विद्यमान रहिरहेको हुन्छ । उदाहरणका रूपमा हरेकलाई उसको काम अनुसारको सिद्धान्त लागू गर्ने काम “अझै— सिद्धान्तमा—बुर्जुवा अधिकार” भित्रै रहेको हुन्छ । यहाँ जो कसैले पनि एकै सामाजिक श्रम गर्दछ, उसले सामाजिक उत्पादनको उपभोग पनि समान किसिमले पाउँन सक्छ । तर व्यक्तिगत श्रम शक्ति तगडा अथवा कमजोर हुनसक्छ, केटाकेटीको सङ्ख्यामा पनि भिन्नता हुनसक्छ, त्यसैले पारिवारिक समुन्नताको स्थिति व्यक्तिव्यक्तिमा फरक हुन्छ । यही भिन्नतामा असमानता विद्यमान रहन्छ । यसका साथै पुरानो समाजका अवशेषहरू मजदुर र किसान, सहर र गाउँ, मानसिक र शारिरीक भिन्नता पनि अझै बाँकी रहन्छन् । शोषक वर्गीय विचारधारा र जब्बर रूपमा रहेका पुराना बानीव्यहोराहरू पनि एकैपल्टमा फ्याल्न सकिँदैन । क्रान्तिकारी रूपान्तरणको यस अवधिमा  हटाइएका शोषक वर्गहरूले मात्रै पुरानो सत्ताको पुनर्स्थापना गर्ने प्रयास नगरी, निम्न पुँजीपति वर्गसित सम्बद्ध स्वच्छन्द शक्तिहरूसमेतले पनि नयाँ बुर्जुवा तत्वहरू जन्माउन सक्छन्,  बुर्जुवाहरू  र  निम्न पुँजीवादी स्वच्छन्द तत्वहरूले गर्ने गरेको भ्रष्टाचारबाट प्रभावित भएर, मजदुर किसानसमेत गलत दिशातिर लाग्छन् र नयाँ बुर्जुवा तत्वहरू—बुर्जुवाहरूका दलालहरू श्रमजीवी वर्गको तह र तप्काभित्रैबाट, पार्टीका विशिष्ट व्यक्तिहरूबाट र राज्य संयन्त्रबाटै पनि  बुर्जुवा तत्वहरू विकसित हुन थाल्छन् । अध्यक्ष माओले भन्नुभएको छ : “लेनिनले भन्नुभयो ‘लघु उत्पादनले पुँजीवाद र बुर्जुवाहरूको विकासमा, घन्टाघन्टामा, दिनदिनै, अलिअलि गरेर र व्यापकरूपमै पनि निरन्तर सघाउ पुर्याउँछ ।’ यी प्रवृत्तिहरू श्रमजीवी वर्गभित्र र पार्टी सदस्यहरूमा समेत विकसित हुनथाल्छन् । दुवै, सर्वहारा तह र तप्काभित्र अनि राज्य र अन्य सयन्त्रमा रहेका व्यक्तित्वहरूसमेत,  यस्ता पात्रहरू छन्, जसले बुर्जुवा जीवनशैली अँगालेका छन् ।”

जबसम्म विश्वमा साम्राज्यवाद र सामाजिक साम्राज्यवाद विद्यमान रहन्छन्, तबसम्म सर्वहारा वर्गको अधिनायकत्वलाई कमजोर पार्न घरेलु प्रतिक्रियावादीहरूका गतिविधिहरूमा अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरूका गतिविधिहरू प्रतिबिम्बित भइरहन्छन् । यी सबै कुराले समग्र समाजवादी अवधिभर नै सर्वहारा  र बुर्जुवाबीचको वर्गसङ्घर्ष दीर्घकालीन, बाङ्गोटिङ्गो र कतिपय समयमा चोटिलो पनि हुन्छ भन्ने कुरा देखाउँछ । बुर्जुवा वर्ग र अन्य शोषक वर्गको प्रतिरोधमाथि प्रभुत्व कायम  गर्न, पुँजीवादको पुर्नस्थापना रोक्न, वर्गहरूको उन्मूलन गर्न, बुर्जुवा हैहुकुममाथि प्रतिबन्ध लगाउन र अन्त्यमा यी उन्मूलन गरी साम्यवादको अनुभूत गर्न निश्चय पनि लामो समय लाग्ने छ, यसमा निश्चय पनि एउटा राजनीतिक सङ्क्रमणको समय हुनेछ, जसमा सर्वहारा अधिनायकत्वलाई निरन्तर रूपमा लागू गर्नुपर्ने हुन्छ । मार्क्सले भन्नुभएको छ :  समाजवाद क्रान्तिको स्थायित्वका लागि घोषणा हो, सर्वहारा अधिनायकत्व सामान्यतः वर्ग उन्मूलनको अनिवार्यतः प्रवेशबिन्दु हो, जसले तिनीहरूसित सम्बद्ध उत्पादन सम्बन्धको उन्मूलन गर्छ,  जसमा उत्पादन सम्बन्धसित सम्बद्ध सबै सामाजिक सम्बन्धहरूको उन्मूलन पनि पर्छ, यसको काम भनेको यी सामाजिक सम्बन्धबाट प्राप्त सबै विचारहरूलाई क्रान्तिकारीकरण गर्नु हो ।” (‘दि क्लास स्ट्रगल्स इन फ्रान्स’ )

सर्वहाराको अधिनायकत्व मार्क्सवादको निचोड हो । समाजवादको समग्र ऐतिहासिक अवधिभर सर्वहारा अधिनायकत्वलाई समातिरहने अथवा यसको विरोध गर्ने भन्ने कुरा सही र गलत मार्क्सवादको परिक्षणको मानदण्ड हो । वर्गसङ्घर्षको आवश्यकता बोध  गर्नु मात्र पुग्दो छैन, त्यो मात्रै मार्क्सवादी हो, जसले वर्गसङ्घर्षको आवश्यकतालाई सर्वहारा वर्गको अधिनायकत्वसम्म पुर्याउनु  आवश्यक ठान्छ भनेर लेनिनले भन्नुभएको थियो ।  बुर्जुवा शासन फ्याल्नु मात्र पुग्दो छैन, सम्पन्नहरूबाट विपन्नहरूले बलपूर्वक सत्ता कब्जा गर्नु र सर्वहार वर्गको अधिनायकत्व लागू गर्नु पर्ने आवश्यकता पनि हुन्छ । “राज्यसत्ता सम्बन्धी मार्क्सको शिक्षाको सारतत्त्वलाई तिनले मात्र सही किसिमले बुझेका छन्, जसले आमरूपमा हरेक वर्गयुक्त समाजमा एउटा खास वर्गको अधिनायकत्वको आवश्यकता हुन्छ मात्र होइन, बुर्जुवा वर्गलाई मिल्काउने सर्वहाराका लागि मात्र होइन, समग्र ऐतिहासिक अवधि जुन, साम्यवादी ‘वर्गविहीन समाज’ र पुँजीवादी समाजबीचको अवधि हुन्छ, त्यसमा पनि सर्वहाराको अधिनायकत्व आवश्यक पर्छ ।” (लेनिन, ‘राज्य र क्रान्ति’) । गोथा कार्यक्रमले सर्वहाराको अधिनायकत्वका बारेमा केही पनि बोलेको छैन, बरु वैधानिक माध्यमबाट “स्वतन्त्र राज्य” को निर्माण गर्ने कुराको घोषणा गरेको छ । यसले यसको अवसरवादी सारलाई पुष्टि गर्छ । लासालको चिहान खोतलेर सोभियत संशोधनवादी गद्दार गुटले, “सम्पूर्ण जनताको राज्य” को बकवासलाई अगाडि सार्दै “राज्यसत्तालाई अगाडि बढाउन अब सर्वहारा वर्गको आवश्यकता छैन” भनेर चिच्यायो । यसले तिनीहरू जनताका ज्यानी दुस्मन हुन् भन्ने कुरा प्रस्ट रूपमा साबित हुन्छ ।

हाम्रो पार्टीमा विद्यमान आधुनिक संशोधनवाद र अवसरवाद विरुद्ध सङ्घर्ष गर्ने हाम्रा महान् नेता अध्यक्ष माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सकारात्मक र नकारात्मक दुवै अनुभवको सारभूत  निष्कर्ष निकाल्नुभयो र सर्वहारा अधिनायकत्वको मार्क्सवादी सिद्धान्तलाई विकसित गर्नुभयो । अध्यक्ष माओले दुई वर्ग र दुई बाटाहरूको गम्भीरताका साथ विश्लेषण गर्दै, समाजवादी सङ्क्रमणसित सम्बद्ध उत्पादनका साधनहरूको स्वामित्वको आधारभूत उन्मूलनपछि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको महान् सिद्धान्तलाई अघि सार्नुभयो र पार्टीको आधारभूत लाइनलाई सिङ्गो समाजवादी ऐतिहासिक अवधिभर गम्भीरतापूर्वक लागू गर्नुभयो । माओले प्रस्टताका साथ भन्नुभयो : “समाजवादी समाजले अवश्य पनि  निकै लामो समय ओगट्छ । ऐतिहासिक समाजवादी कालभरि  त्यहाँ अझै वर्गहरू, वर्गीय अन्तसर्वरोधहरू र वर्गसङ्घर्षहरू रहिरहन्छन्, समाजवादी बाटो र पुँजीवादी बाटोबीच सङ्घर्ष भइरहन्छ  र पुँजीवादको पुनस्र्थापनाको खतरा रहि नै रहन्छ । अवश्य पनि हामीले सङ्घर्षको दीर्घकालीन जटिल प्रकृतिलाई खुट्याउन सक्नुपर्छ । हामीले यसमा उच्च सर्तकता अँगाल्नुपर्छ ।
हामीले समाजवादी शिक्षा लागु गर्नुपर्छ । हामीले वर्गअन्तर्विरोध र वर्गसङ्घर्षलाई सही किसिमले बुझेर परिचालन गर्नुपर्छ , हामीहरूले हाम्रा आफ्नै र जनताका बीचमा रहेका सत्रुहरूबीचका अन्तर्विरोधहरूलाई राम्ररी पहिचान गरी तिनको सही किसिमले परिचालन गर्नुपर्दछ । नत्र भने हाम्रोजस्तो समाजवादी मुलुक विपरीत दिशातर्फ जानेछ र पुँजीवादको पुनस्र्थापना हुनपुग्ने छ । यस विषयमा हामीले अहिलेदेखि नै हरेक साल, हरेक महिना, हरेक दिन आफूलाई सजग बनाइरहनु पर्छ, जसबाट हामीले यस समस्याको अझ सही बुझाइ राख्न सक्छौँ र मार्क्सवादी-लेनिनवादी कार्यदिशामा अडिग रहन सक्छौँ ।”

अध्यक्ष माओको आफ्नै पहल र नेतृत्वमा चलेको चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले समाजवादअन्तर्गत सर्वहारा अधिनायकत्वलाई कसरी दरिलो पार्ने र कसरी पुँजीवादको पुनर्स्थापनालाई रोक्ने भन्ने जल्दोबल्दो विषयलाई सिद्धान्त र व्यवहारमै समाधान गरेको छ । लिन प्याओ र कन्फुसियसको आलोचना अभियान, जुन अहिले व्यापक, गहिराइका साथ प्रभावकारी किसिमले विकसित भइरहेको छ, यो उपरिसंरचनामा राजनीतिक र वैचारिक सङ्घर्षको उदाहरण हो, जसले सर्वहाराले बुर्जुवामाथि र समाजवादले पुँजीवादमाथि सफलता प्राप्त गरेको छ । यो अभियान सर्वहारा अधिनायकत्वलाई सुदृढ पार्नु, पुँजीवादको पुनर्स्थापना रोक्नु र सर्वहारा अधिनायकत्व अन्तर्गत दृढताका साथ निरन्तर क्रान्तिलाई अगाडि बढाउने उद्देश्यसित सम्बद्ध छ । अध्यक्ष माओले सिद्धान्तको महत्त्वमाथि जोड दिएर महत्वपूर्ण दिशानिर्देश गर्नुभएको छ । अध्यक्ष माओले भन्नुभएको छ : “किन लेनिनले बुर्जुवाहरूमाथि  अधिनायकत्वको कुरा गर्नुभयो ? यसमा प्रस्ट हुनु आवश्यक छ । यस प्रश्नप्रतिको अस्पस्टताले संशोधनवादतर्फ प्रवृत्त गराउँछ । समग्र राष्ट्र यसबारे प्रस्ट हुनु आवश्यक छ ।” साथसाथै वहाँले यो पनि भन्नुभयो : “हाम्रो मुलुकले यतिबेर वस्तु उत्पादन परिपाटीलाई अँगालेको छ, आठौँ तह र त्योभन्दा उता ज्यालादारी परिपाटी पनि असमान छ ।  यस्ता कुराहरू सर्वहारा अधिनायकत्वअन्तर्गत हटाएको हुनुपर्छ । यस्तो कारणहरूले गर्दा जनताले यदि लिन प्याओ सत्तामा आएको देख्न चाहे भने पुँजीवादी व्यवस्था बहाल गर्न चाहनेहरूका लागि एकदमै सहज हुनेछ ।” यो अध्यक्ष माओको एकदमै महत्वपूर्ण दिशानिर्देश हो, जसले सर्वहारा अधिनायकत्वको ऐतिहासिक महत्त्वलाई उजागर गर्छ र संशोधनवादी लाइन उत्पन्न हुने सामाजिक आधारको गहिराइका साथ विश्लेषण गर्छ । पार्टीको आधारभूत लाइन लागू गर्न, सर्वहारा अधिनायकत्व सुदृढ र मजबुत पार्न, सर्वहारको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति अगाडि बढाउन र संशोधनवादलाई रोक्न तथा यसका विरुद्ध सङ्घर्ष गर्ने काममा हाम्रा लागि यसले निकै ठूलो व्यावहारिक र दूरगामी ऐतिहासिक महत्व राख्दछ ।

लिउ साउ चि र लिन प्याओ दुवै गद्दारले सर्वहारा अधिनायकत्वप्रति गद्दारी गरेका थिए । उनीहरूले सर्वहारा र बुर्जुवाबीचको अन्तर्विरोधलाई अस्वीकार गरे, समाजवादी समाजको प्रधान अन्तर्विरोध समाजवाद र पुँजीवादबीचको अन्तर्विरोधलाई अस्वीकार गरे, उनीहरूले उपरिसंरचना र संस्कृतिसित सम्बद्ध सबै पक्षमाथि समग्र रूपमा सर्वहारा अधिनायकत्व लागू गर्ने कुरा अस्वीकार गरे, उनीहरूले सबै बुर्जुवा अधिकार र अन्य कुरामाथि सर्वहारा अधिनायकत्वले रोक लगाउनुपर्छ भन्ने कुरा पनि अस्वीकार गरे । लिन प्याओले पार्टीको आधारभूत लाइनलाई फेर्ने प्रयासका लागि सर्वहारा अधिनायकत्वको महत्वलाई न्यूनीकरण गर्दै पुँजीवादको पुनस्र्थापन गर्न कन्फ्युसियसको अनुशरण गर्दै, उसले “ आत्मनियन्त्रण र आध्यात्मिक मार्गतर्फ”  को प्रतिक्रियावादी कार्यक्रममा आफूलाई खुम्च्यायो । चिन वंशको पहिलो बादशाह चिन सिह हुवाङमाथि आक्रमण गर्ने नाममा उसले “सच्चा समाजवादी”, राज्य  “लोकहितकारी नीति” कार्यान्वयन गर्दैछ भन्ने दाबी गर्दै सर्वहारा अधिनायकत्वमाथि विषाक्त हमला गर्यो । उसको तथाकथित “सच्चा समाजवादी” राज्य पुरानो संशोधनवादको नाइके लासालकै “स्वतन्त्र राज्य” र सोभियत संशोधनवादी गद्दार गुटको “सम्पूर्ण जनताको राज्य” को कुहीगन्ध मात्र थियो । वास्तवमा लिन प्याओले चाहेको कुरा जमिनदारहरू, धनी किसानहरू, प्रतिक्रान्तिकारीहरू, सामाजिक कुतत्वहरू, दक्षिणपन्थीहरू तथा नयाँ बुर्जुवा तत्त्वहरूको गिरोह सत्तामा आओस् भन्ने थियो, जसबाट उसले फासिवादी लिन वंशको स्थापना गर्न सकोस् ।

जर्मनीको पार्टीमा मार्क्सवादी लाइन र लासालवादी अवसरवादी लाइनबीचको मूल पक्ष भनेको सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वलाई समातेर अघि बढ्ने कि त्यसलाई विसर्जन गर्ने भन्ने नै हो । पार्टी विरोधी गुटहरू लिउ साउ चि र लिन प्याओ विरुद्ध हाम्रो सङ्घर्ष पनि पार्टीको आधारभूत लाइनलाई सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वलाई सुदृढ गर्ने दिशातिर अघि बढाउने कि यसलाई खारेज गर्नेतिर लाग्ने भन्ने नै हो । भविष्यमा पनि यस किसिमको सङ्घर्ष जारी रहनेछ । त्यसैले यो वर्गसङ्घर्ष, सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वसम्बन्धी आधारभूत मार्क्सवादी सिद्धान्तहरू उत्साहपूर्वक अध्ययन गर्ने दीर्घकालीन काम हो । सबै अवसरवादीहरूले सिद्धान्तका सम्बन्धमा भ्रम उत्पन्न गर्नेगर्छन् । आफ्नो भ्रमपूर्ण लेखनमा आम मान्छेलाई अन्योलमा पार्न लासालले मार्क्सबाट लिइएका सही कुरालाई आफ्ना गलत कुरासित मिसाएका छन् । लिउ साउ ची र लिन प्याओजस्ता पाखण्डीहरूले पनि त्यस्तै तिकडमको प्रयोग गरेका छन् । सही र गलत छ्ट्याउन हाम्रो सोझो  हेराइ पुग्दो छैन, त्यसैले हामीले मार्क्सवादको टेलिस्कोप र सूक्ष्मदर्शक यन्त्रको सहयोग लिनु एकदमै आवश्यक  छ । सिद्धान्तको मामिलामा लिब्कनेख्तलाई त्रुटीपूर्ण बाटोमा डोर्याउने मूल कारण “सैद्धान्तिक रूपमा उनी सधैँ अन्योलमा थिए” र मार्क्सवाद र लासालवादी अवसरवादबीच सही रेखा कोर्न सक्षम भएनन् । यो शिक्षालाई  हामीले गम्भीरतापूर्व लिनुपर्छ ।

सिद्धान्त लाइनको आधार हो । “क्रान्तिकारी सिद्धान्तबिना एउटा मजबुत समाजवादी पार्टी हुन सक्तैन ।” (लेनिन: ‘हाम्रो कार्यक्रम’ )  जागरुक सर्वहारा क्रान्तिकारी हुन जो-कोहीले पनि उत्साहपूर्वक  मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र अध्यक्ष माओका रचनाहरूको अध्ययन गर्नैपर्छ, बुर्जुवाहरू र संशोधनवादीहरूको सङ्घर्षमा मार्क्सवादी अडान, दृष्टि र पद्धतिलाई सही किसिमले अँगाल्दै आफैँप्रति आलोचक बन्दै आफ्नै राजनीतिक लाइनको स्तर अभिवृद्धि गर्नु आवश्यक छ । अध्यक्ष माओले हामीलाई भन्नुभएको छ : “मार्क्सवादी-लेनिनवादी रचनाहरूको बढीभन्दा बढी अध्ययन गर” । हामीले अध्यक्ष माओको निर्देशन पालना गर्नु पर्छ, सर्वहारा अधिनायकत्व सम्बन्धी मार्क्स , एङ्गेल्स, लेनिन, स्टालिन र अध्यक्ष माओका मूलमूल ग्रन्थहरूको गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ,  वर्गसङ्घर्षसम्बन्धी चेतनाको अभिवृद्धि र दुई-लाइन सङ्घर्ष र निरन्तर क्रान्तिलाई अगाडि बढाउँदै पार्टीको आधारभूत लाइनलाई लागू गर्दै लिन प्याओ र कन्फुसियसको आलोचनासम्बन्धी कार्यमा सफलता प्राप्त गर्न सर्वहारा अधिनायकत्वलाई मजबुत पार्न समाजवादी आर्थिक आधारलाई थप सुदृढ पार्नु आवश्यक छ ।

अनु : ऋषिराज बराल

मङ्ल, जेष्ठ १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया