स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा


काठमाडौँ, १२ वैशाख ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ ।

चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताउनुभयो ।

स्वर्गीय ठकुरीले देखेको सपना पूरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाइ थियो । उहाँले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाली काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय ठकुरीले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्णकुमार राईले स्वर्गीय ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष गजेन्द्र महर्जनले स्वर्गीय ठकुरीको नाममा सामाजिक काम गर्ने उद्देश्यले गत वर्षदेखि फाउण्डेशनको स्थापना गरेर सामाजिक काम गर्दै आइरहेको जानकारी दिनुभएको छ ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाकानजिक ढिस्कोले पुरिएर उहाँको निधन भएको थियो ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया