नेपाल–फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ६९ वर्ष पुरा, नेपाल फ्रान्स मैत्री संघद्धारा काठमाडौंमा भव्य कार्यक्रमको आयोजना


काठमाण्डौ , ९ वैशाख ।
नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष पुगेको अवसरमा नेपाल फ्रान्स मैत्री संघले आज काठमाण्डौमा शुभकामना आदान प्रदान गरेको छ ।
काठमाण्डौको जमलस्थित यल्लो पेगोडा होटलमा आयोजित कार्यक्रममा झन्डै एक दर्जन पुर्व राजदूतका साथै नेपाल र फ्रान्सका प्रबुद्ध व्याक्तिहरुको उपस्थिति रहेको थियो ।
सन् १९४९ को अप्रील २४ को दिन देखि औपचारिक रूपमा नेपाल फ्रान्स बिच मैत्री संबन्धको शुरुवात भएको थियो ।
उक्त कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल फ्रान्स सम्बन्ध अझै मजबुत अनि सुमधुर बनाउन पर्ने भन्दै दुई देश बिच भएका बिभिन्न समयको भेटघाट तथा औपचारिक सम्बन्धको विषयमा चर्चा गरेका थिए ।
नेपाल र फ्रान्स सम्बन्धको ईतिहासबारे चर्चा गदै वक्ताहरुले फ्रान्सको शासक नेपोलियन तेस्रोको पालामा राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा सन् १८५० को २ अगष्ट देखि १० अगष्टसम्म फ्रान्सको भ्रमण गरेको र त्यसकै प्रभावबाट नेपाली सैनिकमा सुधार गरिएको र ठूला–ठूला भवनहरू फ्रेन्च कालिगढकै सक्कल गरेर निर्माण गराएको कुराको स्मरण गराएका थिए ।

साथै नेपालको कला सस्कृति लगायतका थुप्रै बिषयहरुसँग फ्रान्स प्रभावित भएको चर्चा गर्दै वक्ताहरुले प्रताप मल्लको पालामा हनुमान ढोकामा लेखिएको शिला लेखसमेत फ्रेन्च भाषा रहेकोले नेपाल फ्रान्स सम्बन्ध धेरै पुरानो रहेको, नेपाल एकीकरणमा फ्रेन्चको सहयोग गरेको र वर्तमान अवस्थामा पनि पर्यटनक्षेत्रमा दुई मुलुकबीच भईरहेको सहयोग आदनप्रदानले प्रष्ठ पारेको बताए ।


पृथ्वीनारायण शाहको समयमा पनि केही फ्रान्सेली सैनिकहरू कलकत्ता हुँदै गोरखा गई हातहतियार बनाउने तालिम दिएको अभिलेखमा पाइने बताउदै जानकारहरुले विगतमा नेपालमा पनि फ्रान्सकै नियम कानुनको अनुसरण गरेर मुलुकी ऐन निर्माण गरेको कुरा पनि इतिहासमा रहेको जनाएका थिए ।
सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि फ्रान्सेली जनस्तरमा नेपाल परिचित बनेको पनि कार्यक्रममा सहभागीहरुको बताएका थिए ।
राजा महेन्द्रले सन् १९५८ र १९६० मा अनौपचारिक र १९६६ मा राजकीय भ्रमण गरेको चर्चा गर्दै उनीहरुले भ्रमणकै फलस्वरूप २४ अप्रिल १९६७ मा नेपालको आवासीय दूतावास र जुन महिनामा पेरिसमा नेपालको आवासीय दूतावास स्थापना गरेसँगै दुई देशवीच कुटनैतिक सम्बन्ध प्रगाढ भएको बताएका थिए ।


पछि सन् १९८१ र १९८९ मा राजा वीरेन्द्रले फ्रान्सको व्यक्तिगत र सन् १९९४ मा राजकीय भ्रमण गरेका थिए भने फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले सन् १९८१ मा नेपालको डेढ दिने भ्रमण गरेका थिए । फ्रान्ससँग झण्डै २ सय ५० बर्षदेखिको ऐतिहासिक सम्बन्ध र पचासौँ वर्षदेखिको कुटनीतिक सम्बन्ध रहेको कार्यक्रमका वक्ताहरूले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल फ्रान्स मैत्री संघको उपाध्यक्ष सोमा पन्तले स्वागत मन्तब्य राख्नु भएको थियो । सस्थाको स्थापना गर्नुका कारण र यसको औचित्वबारे प्रष्ठ पार्दै उहाँले संघले एक आपसमा भाषा, साहित्य, कला र संस्कृतिको आदान प्रदान गरी नेपालमा आर्थिक, सामाजिक, शैक्षिक, वातावरण, कृषि, पर्यटन, स्वास्थ्य, सूचना तथा संचार, साहित्य, कला संस्कृति, रोजगारी र कुटनैतिक क्षेत्रमा समेत मैत्री सम्बन्ध विकास गर्न स्थानीय र बाह्य वातावरण अनुसार स्थानीय तथा बाह्य श्रोत र साधानको अधिकतम परिचालन गरी विभिन्न रचनात्मक कार्यहरुलाई प्रभावकारी गराउन तालिम, सेमिनार, गोष्ठी, कुटनैतिक भ्रमणहरुको आदान प्रदान गर्ने सस्थाको उद्देश्य रहेको बारेमा समेत प्रष्ट्याउनु भएको थियो ।
साथै उपाध्यक्ष पन्तले नेपाल फ्रान्स मैत्री संघले स्थापनाकाल देखि हालसम्म गरेका कार्यहरुबारे जानकारी समेत गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठले फ्रान्स र नेपाल बिचमा रहेको व्यापारिक सम्झौताका बारेमा जानकारी गराउनु भएको थियो ।

साथै रसियाको लागि नेपालको तर्फ बाट पुर्व राजदूत हिरण्य लाल श्रेष्ठ, जापानको लागि नेपालको तर्फ बाट पुर्व राजदूत रहनु भएको डा विष्णुहरी नेपाल, बंगलादेशको लागि नेपालको तर्फ बाट पुर्व राजदूत रहनु भएको डा मोहन प्रसाद लोहनी लगायतले नेपाल र फ्रान्सको दौत्य सम्बन्धको विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न देशका कुटनैतिक नियोगका अधिकारी लगायत व्यापारी, शिक्षक, पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

नेपाल फ्रान्स मैत्री संघको कार्यवाहक अध्यक्ष एसिस्टेन्ट प्रोफेसर डम्वर विर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारको तर्फ बाट परराष्ट्र मन्त्रालयको सह सचिब घनश्याम भण्डारीले नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको दिनुको अवसरमा शुभकामना दिदै आफ्नो धारणा राख्नुभएको थियो ।
उहाँले बुद्धको शान्ति, सहअस्तित्व, विश्वव्यापी भाइचारा र दुखबाट मुक्ति पाउने पथका बारेमा समेत जानकारी गराउँदै प्राकृतिक, जिवित विविधता, जलश्रोतमा नेपाल अत्यन्तै धनी रहेकाले यसको उपयोग गर्न सके नेपाल विश्वमा नै धनी देश हुने विश्वास व्यक्त गर्नु भयो । नेपालमा बैदशिक लगानी मैत्री वातावरण रहेकोले फ्रान्सलाई आगामी दिनमा नेपालमा लगानी गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रमको सन्चालन सस्था का सदस्य तथा गेट कलेजका संचालक खेम लकाईले गर्नुभएको थियो ।

आइत, बैशाख ९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया