वर्ग, राज्यसत्ता र पार्टीहरू ईश्वरीय शक्तिका उपज होइनन् :विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद–साम्यवादको खोज


वैज्ञानिक समाजवाद–साम्यवाद राज्यव्यवस्था र मानवसभ्यता सन्बन्धमा गरिएको उन्नाईसौँ शताब्दीको अभूतपूर्व खोज हो । जर्मनीमा जन्मिनुभएका कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले उन्नाईसौँ शताब्दीको मध्यतिर पुँजीवादी सभ्यताको केन्द्र युरोपबाट यो सिद्धान्तको खोज गर्नुभयो । समाजमा पुँजीवादको उदय भएपछि पहिले नभएको सर्वहारा (मजदुर) वर्गको विकास तीव्र रूपमा भइरहेको थियो । राज्यभित्र सर्वहारावर्ग र मालिकवर्गका बीचमा सङ्घर्ष चर्किंदै गएको थियो । मालिकवर्गले एकदमै अमानवीय प्रकारले मजदुरवर्गमाथि शोषण–उत्पीडन लादिरहेको थियो भने सर्वहारावर्गले उत्पीडनको जुवाबाट आफूलाई मुक्त गर्न विद्रोहको ज्वाला दन्काइरहेको थियो । यो सङ्घर्षबाट चिन्तित एकथरी चिन्तकले वा ‘काल्पनिक समाजवाद’ को वा ‘अराजकतावादी’ वा ‘प्रतिक्रियावादी समाजवाद’ को परिकल्पना गरिरहेका थिए । यही नयाँ वर्ग–अन्तर्विरोध, वर्गसङ्घर्ष र वैज्ञानिक दृष्टिकोणको आवश्यकताको आधारभूमिमा माक्र्स–एङ्गेल्स सन् १८४३ देखि वैज्ञानिक साम्यवादी सिद्धान्तको अनुसन्धानमा प्रवेश गर्नुभयो । सन् १८४८ मा पुग्दा साम्यवादी व्यवस्थाको सुव्यवस्थित दृष्टिकोण ‘कम्युनिस्ट घोषणापत्र’ संश्लेषण गर्न सफल हुनुभयो । उहाँहरूले कम्युनिस्ट घोषणापत्र लेखिसकेपछि मानवसभ्यतामा वैज्ञानिक समाजवाद–साम्यवाद एक वैज्ञानिक दृष्टिकोणका रूपमा आधिकारिक र व्यवस्थित प्रकारले स्थापित हुन पुग्यो ।

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवादको अनुसन्धान गर्दा मुख्यतः समाजका तीन सङ्घटक क्षेत्रमा ध्यान केन्द्रित गर्नुभयो । उहाँहरूले त्यस बेलासम्म उपलब्ध दर्शन, अर्थशास्त्र र समाजवादको गहन अध्ययन–विश्लेषण गर्दै त्यसका समस्याहरूलाई हल गर्दै वैज्ञानिक साम्यवादी दर्शन, अर्थशास्त्र र समाजवादको धारणा प्रस्तुत गर्नुभयो । माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवाद–साम्यवादबारे अनुसन्धान गर्नुभएका तीन सङ्घटक विषयहरू निम्न रहेका छन् :
(क) वैज्ञानिक समाजवाद–साम्यवादको दर्शन
(ख) वैज्ञानिक समाजवाद–साम्यवादको राजनीतिक अर्थशास्त्र
(ग) वैज्ञानिक समाजवाद—साम्यवादको राजनीतिक व्यवस्था

(क) समाजवाद–साम्यवादी दर्शनको खोज

माक्र्स–एङ्गेल्सले गर्नुभएको साम्यवादी दर्शनको अनुसन्धान दर्शनका क्षेत्रमा गरिएको नयाँ र वैज्ञानिक अनुसन्धान हो । यो दर्शनलाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । यो यस पहिलेका दर्शनहरूको ठीक विपरीत भएकाले यसलाई दर्शनमा गरिएको क्रान्ति भनिन्छ । सामान्य रूपमा भन्दा प्रकृति, समाज, राज्यको उत्पत्ति, विकास र रूपान्तरणलार्ई अध्ययन गर्ने, बुझ्ने र प्रयोग गर्ने ज्ञान दर्शन हो । दर्शनलाई ज्ञानको प्रेम र विशेष ज्ञान पनि भनिन्छ । दर्शनलाई माक्र्सले ‘आफ्नो समयको बौद्धिक सार’ भन्नुभयो । दर्शनको विकास तीन हजार वर्ष पहिलेदेखि भएको मानिन्छ तर सामन्तवाद र पुँजीवादसम्म वस्तुको उत्पत्ति, समाज र राज्यलाई हेर्ने दर्शन आदर्शवादी (अध्यात्मवादी) थियो । सन् १८४३ मा हेगेलको ‘आदर्शवादी द्वन्द्ववाद’ को आलोचना र सन् १८४५ बाट फायरबाखको ‘भाववादी भौतिकवादको आलोचना’ बाट माक्र्सले द्वन्द्वात्मक भौतिकवादी दर्शन (पदार्थ र प्रकृति नै सत्य हो र त्यो निरन्तर गतिमा छ भन्ने) का विषयमा हात हाल्नुभयो । माक्र्सले हेगेलको आदर्शवादी दर्शनको आलोचना गर्दै र द्वन्द्वात्मक भौतिकवादी दर्शनबारे प्रकाश पार्दै लेख्नुभयो, ‘हेगेलको द्वन्द्ववाद टाउकोले टेकेको थियो, मैले त्यसलाई खुट्टामा उभ्याइदिएँ ।’ त्यसैगरी फायरबाखको भाववादी भौतिकवाद दृष्टिकोणको आलोचना गर्दै माक्र्सले भन्नुभयो, ‘आजसम्मका सारा भौतिकवाद जसमा फायरबाखको भौतिकवाद पनि सामेल छ– मुख्य त्रुटि यो छ कि वस्तु, वास्तविकता र इन्द्रियताको केवल विषय वा अनुध्यानका रूपमा कल्पित गर्ने गर्छ, न कि मानवको इन्द्रिय क्रिया, व्यवहारका रूपमा, न कि आत्मनिष्ट रूपमा । यसकारण फल यो भयो कि क्रियाशील पक्ष, भौतिकवादको विपरीत, भाववादद्वारा विकसित गर्न पुगे तर केवल अमूर्त रूपमा किनकि भाववाद वास्तविक इन्द्रिय क्रियाभन्दा सर्वथा अपरिचित छ’, (माक्र्स–एङ्गेल्स, हिन्दी सङ्कलित रचनाहरू, खण्ड १ भाग १, फायरबाखमाथि निबन्ध, पृ. ११) । त्यही क्रममा एङ्गेल्सले पनि द्वन्द्वात्मक भौतिकवादी दर्शनसँग जोडेर सन् १८४५ मा पवित्र परिवार र दर्शनबारे चर्चा गर्नुभयो । एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादबारे स्पष्ट गर्दै लेख्नुभयो, ‘सबै दर्शनको खासगरी अत्याधुनिक दर्शनको महान््, आधारभूत प्रश्न चिन्तन र अस्तित्वसँग सम्बन्धित छ । दार्शनिकहरूले यस प्रश्नका जुन उत्तरहरू दिए, तिनले उनीहरूलाई दुईवटा विशाल शिविरमा विभक्त गरिदियो । जसले प्रकृतिभन्दा चेतनालाई प्राथमिकता दिए र त्यसैले अन्तिम रूपमा त्यसैबाट कुनै न कुनै रूपमा विश्व रचना भएको कल्पना गरे । … उनीहरू आदर्शवादीका शिविरमा परे । अरू प्रकृतिलाई प्राथमिक ठान्नेहरूचाहिँ भौतिकवादका विभिन्न धाराहरूमा पर्न पुगे’, (एङ्गेल्स माक्र्सवादी–लेनिनवादी, दर्शनशास्त्र, पृ. १६) । यसरी माक्र्स–एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादी दर्शनको विकास गरिसकेपछि समाजमा दुईखाले दर्शन अस्तित्वमा रहेका छन् :

१. अध्यात्मवादी दर्शन
२. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शन

१. आदर्शवादी (अध्यात्मकवादी) दर्शन

आदर्शवादी (अध्यात्मवादी) दर्शन प्रकृति र समाजलाई बुझ्ने र व्याख्या गर्ने आत्मप्रधान वा चेतना–प्रधान दृष्टिकोण हो । यस दृष्टिकोणले वस्तु, समाज, मानवको उत्पत्ति सहायक हो, मुख्य पक्ष यसको रचना र सञ्चालन गर्ने चेतना हो भन्ने विश्वास गर्छ । अर्थात् वस्तुको उत्पत्तिका सम्बन्धमा परम् चेतना (ईश्वर, भगवान्) मा विश्वास राख्दछ । यो दर्शनको सुरुआत तीन हजार वर्षअगाडि दासयुगबाट भएको मानिन्छ । यस दर्शनको निर्माण पश्चिममा ग्रिक, युनानका र पूर्वमा भारत, चीनका अध्यात्मवादी दार्शनिकहरूले गरेका हुन् । ती दार्शनिकहरू अफ्लातुन, बर्कले, फिख्टे, ह्युम, हेगेल, व्यास, मनु, कन्फुसियसहरू थिए । सामन्ती युगमा यो दर्शनको सबैभन्दा ज्यादा विस्तार भयो । पुँजीवादले पनि यो दर्शनलाई मलजल गरिरहेको छ । यसले प्रकृति, समाज, वर्ग र राज्यलाई अदृश्य चेतना (ईश्वर, भगवान्, प्रभु, अल्लाह वा कुनै अलौकिक शक्ति) ले निर्माण गरेको र उसैको इच्छाअनुसार चलिरहेको विश्वास गर्छ । यसको दृष्टिमा मान्छेले पदार्थलाई बुझ्न सक्दैन । मान्छे त केवल खेलौना मात्र हो । प्रकृति र समाज जुन रूपमा आएको हो, त्यही रूपमा चलिरहेको छ । मान्छेले ईश्वरकै चाहनामा काम गर्ने मात्र हो । आदर्शवादबारे माक्र्स–एङ्गेल्सले ‘समग्र दर्शनका साथै विशेषगरी नूतन दर्शनको महान् एवम् आधारभूत प्रश्न चिन्तन र अस्तित्वको सम्बन्धको … आत्मा र प्रकृतको सम्बन्धको हो, … यो प्रश्न आत्मा र प्रकृतिमा कुन प्राथमिक हो … दर्शनिकहरूलाई यो प्रश्नले दुई भागमा बाँडिदियो, जसले आत्मालाई प्रकृतिको सट्टा प्राथमिकता दियो र साथै यसकारण आखिरमा यस वा त्यस रूपमा विश्वको सिर्जन स्वीकार ग¥यो, उनीहरूलाई आफ्नो अलग भाववादी (आदर्शवादी) शिविरमा पु¥यायो’, (लेनिन, हिन्दी खण्ड ५, कार्ल माक्र्सको शिक्षा, पृ. २९) भन्नुभयो । त्यसैगरी लेनिनले ‘भाववादी दर्शन … जसको अर्थ हमेसा कुनै न कुनै रूपमा धर्मको वकालत वा त्यसको समर्थनमा हुन्छ’, (लेनिन, हिन्दी खण्ड ४, माक्र्सवादका तीन स्रोत तथा ती सङ्घटक अङ्ग, पृ. १९५) भन्नुभयो । वस्तु, समाज र राज्यलाई बुझ्ने दृष्टिकोणका आधारमा हेर्दा अध्यात्मवादी दर्शनका विशेषताहरू निम्न रहेका छन् :

(क) प्रकृति र समाज कुनै अदृश्य परम् चेतनाले निर्माण गरेको हो ।
(ख) प्रकृति र समाज जड छन् ।
(ग) प्रकृति र समाजलार्ई बुझ्न र बदल्न सकिँदैन ।

(क) प्रकृति र समाज कुनै अदृश्य चेतनाले निर्माण गरेको हो

आध्यत्मवादी दर्शनले प्रकृति, समाज र राज्यलाई अदृश्य चेतना, परम शक्ति (ईश्वर–भगवान््) ले निर्माण गरेको हो भन्ने दृष्टिकोण राख्छ । यसको दृष्टिकोणमा वस्तुको उत्पत्तिमा चेतना (अदृश्य शक्ति) प्रमुख हो र प्रकृति सहायक हो । हामीले आफू र आपूmभन्दा बाहिर ब्रह्मान्ड, पृथ्वी, हावा, पानी, मान्छे, जीवजन्तु जे कुराको अस्तित्व देख्छौँ, यसलाई कुनै न कुनै शक्तिले निर्माण गरेको हो । त्यो शक्ति अरू कुनै नभएर परम् शक्ति, अदृश्य हात वा ईश्वर नै हो । यो दृष्टिकोण राख्ने मान्छेहरूले व्याख्या गर्छन् कि ईश्वर—भगवान्ले पहिले पृथ्वी बनाए, त्यसपछि पानी, हावा, माटो, अग्नि बनाए र पछि एउटा पुरुष, एउटा महिला बनाएर पठाए । त्यसपछि मात्र आजको मानव–समाज बन्न पुग्यो । तर यो दर्शनका समर्थकहरूबीचमा कुनचाहिँ अदृश्य र परम् शक्तिले यो संसारको रचना ग¥यो र कसले सञ्चालन गरिरहेको छ भन्नेबारे भने निकै ठूलो विवाद छ । क्रिस्चियनहरू प्रभुले बनाएको ठान्छन्, हिन्दुहरू ब्रह्माले बनाएको ठान्छन्, मुस्लिमहरू अल्लाहले बनाएको ठान्छन् । कसैकसैले यी कुनैले पनि नभएर परम्शक्तिले बनाएको ठान्छन् । ईश्वर, भगवान्, अल्लाहको विवाद यति अतिमा छ कि ईश्वरवादीहरूले हरेकले आफूलाई ईश्वरको एक मात्र प्रतिनिधि र अर्को धर्मलाई दानव, सैतान र काफिर ठान्छन् । उनीहरू आफ्नो ईश्वरले मात्र यो दुनियाँँको रचना र रक्षा गरिरहेको दाबी गर्छन् । वैज्ञानिक भौतिकवादप्रति भने सबैको असहमति र समान विरोध रहेको छ ।

(ख) प्रकृति र समाज जड छन्

अध्यात्मवादी दर्शनको अर्को विशेषता वस्तु, समाज र राज्यलाई जड र गतिहीन अस्तित्वका रूपमा बुझ्नु रहेको छ । यसको दृष्टिमा परम्शक्ति वा ईश्वरको शक्तिले वस्तुहरू जुन रूपमा बनेका हुन्, त्यही रूपमा र जस्तो अवस्थामा तयार भएका हुन्, त्यही रूपमा छन् । ईश्वरले नयाँ बनाउने इच्छा नराखेसम्म यही रूपमै रहिरहन्छन् । ग्रह, पृथ्वी, जनावर, मान्छे, समाज, राज्य सुरुमा जुन अवस्थामा बनेका हुन्, त्यही अवस्थामा छन् र जसरी सञ्चालन गरिएको थियो, त्यही रूपमा चलिरहेका छन् । यसमा कुनै नौलो परिवर्तन आएको छैन । मान्छे मान्छेकै रूपमा जन्मिएको हो, जनावरहरू उत्पत्तिमै जनावर भएर आएका हुन्, समाज र राज्यको रचना पनि भगवान्को इच्छाले गर्दा भएका हुन् । राज्यको सञ्चालन गर्ने राजा–महाराजा, सम्राट र शासकहरू पनि भगवान्ले आफ्नो दूतका रूपमा शासन गर्न खटाएका हुन् । जनता शासित हुनकै लागि पैदा गरिएका हुन् । समाजमा गरिब र धनी, दुःखी र सुखी, शासक र शासित हुनु मान्छेहरूले जन्मिँदै ल्याएर आएको हुन्छ । आज बाह्य दुनियाँ (प्रकृति, समाज, राज्य, राजनीति, आर्थिक, प्रविधि) मा जेजस्ता विकास, हेरफेर र परिवर्तनहरू देखिन्छन्, ती केवल ईश्वरका लीला र खेल मात्र हुन् । सबै वस्तु खेलौनाका रूपमा नाचेका मात्र हुन् । मान्छे देख्ने गति, विकास र परिवर्तन वस्तुका रूपमा देखिने फेरबदल मात्र हुन् । वस्तुहरू यस्तै आए, यस्तै छन् र यस्तै रहनेछन् । यी वस्तुहरूको आयु पनि ईश्वरको इच्छामा भर पर्छ ।

(ग) प्रकृति र समाजलाई बदल्न सकिँदैन

अध्यात्मवादको तेस्रो दृष्टिकोण वस्तु, समाज र राज्यलाई बुझ्न र बदल्न सकिँदैन भन्ने रहेको छ । उनीहरूको तर्कअनुसार सबै वस्तु चेतनाका उपज भएकाले मान्छेको बुद्धि र चेतनाले त्यसलाई बुझ्ने क्षमता राख्दैन । वस्तु यति व्यापक र विशाल एकप्रकारले रहस्यको गुजुल्टो छ कि यसलाई मानव विवेकले खोतल्नै सक्दैन । जब बुझ्न सकिँदैन भने मान्छेको क्षमताले बदल्ने भन्ने प्रश्न नै उठ्दैन । त्यसैले यी अस्तित्वमान् वस्तुहरू जस्ता छन्, त्यही रूपमा रहन्छन् र यसरी नै रहन दिनुपर्छ । समाज जस्तो छ, त्यो त्यसरी नै जान्छ, देश जस्तो छ त्यही रहन्छ । राज्य जसरी सञ्चालित छ, त्यसरी नै चल्दै जान्छ । संस्कार संस्कृति जस्ता छन् ती त्यसरी नै जान्छन् । मान्छे स्वयम् पनि ईश्वरकै रचना भएकाले आफू पनि त्यसरी नै सञ्चालित हुनुपर्छ । यसको विचारमा वस्तुलाई मान्छेले बदल्न सक्छ, बदल्नुपर्छ भनेर सोच्नु भनेको उसका मनका भावना र लहडबाजी मात्र हुन्, त्यो सम्भव छैन र प्रयत्न गर्नु पनि हुँदैन । यो दृष्टिकोणअनुसार समाजमा वर्ग, वर्गसङ्घर्ष, राज्य जुन रूपमा छन्, तिनलाई त्यसरी नै चल्न दिनुपर्छ । त्यहाँ विभेद, शोषण, उत्पीडन, कुसंस्कार, छुवाछूत, अन्धविश्वास, अशिक्षाजस्ता विषयहरू छन् भने पनि ती परम्शक्तिका इच्छाले गर्दा भएका हुन्, मान्छेले ईश्वरको भक्तिद्वारा मुक्त हुन प्रार्थना गर्नुबाहेक अरू गर्न सकिँदैन । तिनलाई मान्छेले फेर्न चाहेर सम्भव छैन, यी फेरिन्छन् भने पनि भगवान्कै इच्छाले फेरिन्छन् । आदर्शवाद (अध्यात्मवाद) को निष्कर्ष छ– आज मान्छेहरूले जे छ, त्यसैमा चित्त बुझाऊ ! पीडा, दुःख, उत्पीडन, दमन छ र त्यसबाट मुक्त हुने चाहना छ भने भए यही जुनीमा नभए अर्को जन्मका लागि प्रभु, भगवान् र अल्लाहको पुकार गर, उसैलाई खुसी राख !

२. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शन

ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रकृति, समाज, राज्यलाई अध्ययन गर्ने र बुझ्ने वैज्ञानिक दृष्टिकोण हो । यसको अनुसन्धान माक्र्स–एङ्गेल्सले सन् १८४३ पछि अर्थात् उन्नाईसौँ शताब्दीको मध्यमा गर्नुभएको हो । यसको दृष्टिकोणअनुसार प्रकृति र वस्तु मुख्य हो, चेतना सहायक हो । हाम्रो वरिपरि जेजस्ता वस्तुहरू अस्तित्वमा रहेका छन्, ती प्राकृतिक हुन् र तिनलाई बुझ्न सकिन्छ । यी तत्वहरू निरन्तर गतिशील र विकासशील रहेका छन् । माक्र्स–एङ्गेल्सले यो दर्शनको अनुसन्धान नगर्दासम्म समाजमा अध्यात्मवादी दर्शन हाबी थियो । दार्शनिकहरू परम्–ईश्वरीय शक्ति र विश्व–आत्माको वरिपरि घुमिरहेका थिए । यस्तो अवस्थामा माक्र्स–एङ्गेल्सले दर्शनमा खोज गर्नुभएको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद परम्परागत दर्शनमा गरिएको क्रमभङ्ग र क्रान्ति थियो । यो दर्शनको अनुसन्धान माक्र्सले सन् १८४३ मा हेगेलको ‘आदर्शवादी दर्शनको आलोचना’ बाट आरम्भ गर्नुभयो । उहाँँले हेगेलको प्रत्ययवादलाई आलोचना गर्दै ‘टाउकोले टेकेको दर्शन’ बताउनुभयो । युवा हँुदा माक्र्स स्वयम् पनि हेगेलकै विद्यार्थी हुनुहुन्थ्यो । पछि माक्र्सले सन् १८४५ मा फायरबाखको भाववादी एवम् अधिभूतवादी (जड) भौतिकवादको पनि आलोचना गर्नुभयो । उहाँसँगै मिलेर एङ्गेल्सले पवित्र परिवार लेख्नुभयो । सन् १८४८ मा माक्र्स–एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र लेखेपछि द्वन्द्वात्मक भौतिकवादी दर्शन व्यवस्थित बन्न पुग्यो । ऐतिहासिक भौतिकवादबारे माक्र्सले प्रकाश पार्दै भन्नुभयो, ‘इतिहासको भौतिकवादी अवधारणाहरूले विचारबाट व्यवहारलाई व्याख्या गर्ने होइन, बरु भौतिक व्यवहारबाट विचारहरूको बनोटलाई व्याख्या गर्दछ’, (माक्र्सवादी, लेनिनवादी दर्शनशास्त्र, पृ. १६५) । यसबारे लेनिनले स्पष्ट गर्दै भन्नुभयो, ‘माक्र्सवादी दर्शन भौतिकवाद हो । युरोपको पूरै आधुनिक इतिहासमा विशेष रूपले अठारौँ शताब्दीको अन्त्यमा फ्रान्सभित्र, जहाँ हरप्रकारका मध्ययुगीन कचराको विरुद्ध, संस्थाहरू र विचारहरूमा भूदासताका विरुद्ध निर्णायक सङ्घर्ष चलायो, भौतिकवाद एक मात्र यस्तो सुसङ्गत दर्शन सिद्ध भयो, जो प्राकृतिक विज्ञानको समस्त शिक्षाहरूको कसौटीबाट खरो उत्रियो, साथै अन्धविश्वास, पाखण्ड आदिको विरोधी निक्लियो’, (लेनिन, सङ्कलित रचनाहरू, हिन्दी खण्ड ४, माक्र्सवादका तीन स्रोत तथा तीन सङ्घटक अङ्ग, पृ. १९४) । माक्र्स–एङ्गेल्सले अनुसन्धान गर्नुभएको र लेनिन–माओले विकास गर्नुभएको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनका विशेषताहरू निम्न रहेका छन् :

(क) प्रकृति, मानव–समाज प्राकृतिक हुन् ।
(ख) वर्ग, राज्यसत्ता, पार्टी मानवनिर्मित हुन् ।
(ग) प्रकृति, समाज, वर्ग, राज्य गतिशील र परिवर्तनशील छन् ।
(घ) समाज, वर्ग र राज्यलाई बुझ्न र परिवर्तन गर्न सकिन्छ ।

(क) प्रकृति र समाज प्राकृतिक हुन्

द्वन्द्वात्मक भौतिकवादी दर्शनको दृष्टिकोणअनुसार प्रकृति र मानव–समाजको उत्पत्ति एवम् विकास प्राकृतिक छ । सबै वस्तुको जन्म प्राकृतिक घटनाहरूको क्रिया–प्रतिक्रियाद्वारा भएको हो । मानवजाति र समाजको विकास पनि प्राकृतिक ढङ्गले भएको हो । पछिल्लो समयका विकास मानव ज्ञान र चेतनाको सहयोगसहित भए पनि मूल विशेषता प्राकृतिक नै हो । उदाहरणार्थ, हामी बसेको यो ब्रह्मान्ड, पृथ्वी, जीवजन्तु, मानव, मानव–समाजको उत्पत्ति र विकासलाई लिऔँ । भौतिकवादी वैज्ञानिकहरूका अनुसार कुनै समय यो ब्रह्मान्ड, हामी बसेको पृथ्वी, जीवहरू र मानवजाति केही र कोही पनि थिएनन् । यी सबैको उत्पत्ति प्राकृतिक प्रतिक्रियाद्वारा भयो । ब्रह्मान्ड, पृथ्वीको उत्पत्ति महाविस्फोटबाट भयो भन्ने छ भने केहीले धुलीकनद्वारा भयो भन्ने छ । त्यसैगरी पृथ्वीका उत्पत्ति ४.५ अर्ब पहिले भयो भने पृथ्वीमा जीव उत्पत्ति भएको एक अर्ब वर्ष भएको मानिन्छ । जीवबाट मानव उत्पत्ति भएको जम्मा चालीस लाख वर्ष भयो । त्यसमा पनि सामुदायिक चरित्रमा विकास भएको १० लाख वर्ष मात्र भयो । आधुनिक मानवमा फड्को मारेको १० हजार वर्ष भयो । सामन्तवाद १४०० सय वर्ष चल्यो भने पुँजीवाद आएको ५०० वर्ष पुग्दैछ । जतिबेला मानवजाति घुमन्ते जङ्गली युगमा थियो त्यसबेलासम्म समाजमा धनी, गरिब वर्ग पनि थिएन, वर्गसङ्घर्ष र राज्य पनि थिएन । यी सबैको उत्पत्ति भएको १० हजार वर्षयता मात्र हो । यसले के साबित गर्छ भने प्रकृतिमा अन्तर्निहित सङ्घर्ष र प्राकृतिक घटनाहरूको विकासका क्रममा जीव र मानवजातिको विकास भएको हो । आज पनि प्रकृतिमा हुने अनेकौँ क्रिया र प्रतिक्रियाका कारण नयाँनयाँ कीटाणु, रोग, उपचार विधि बन्ने र सकिने प्रक्रिया चलिरहेको छ । यो अध्यात्मवादीहरूले सोचेजस्तो कुनै चेतना, आत्मा वा दैवी शक्तिले बनाएको होइन । अहिले आएर यो दृष्टिकोणमा कम्युनिस्ट मात्र होइन, सबै भौतिकवादी, वैज्ञानिक र मानवशास्त्रीहरू पनि पूर्ण रूपले सहमत छन् ।

(ख) वर्ग, राज्यसत्ता, पार्टीहरू समाजका उपज हुन्

द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको दोस्रो विशेषता वर्ग, राज्यसत्ता र पार्टीहरू समाजका उपज हुन् भन्ने रहेको छ । यो विशेषताअनुसार वर्ग, राज्यसत्ता र राजनीतिक पार्टीहरू समाजको अर्थ–सम्बन्धका कारण पैदा भएका वस्तुहरू हुन् । यी प्राकृतिक रूपले धेरै पहिलेदेखि वा पृथ्वीको उत्पत्ति भएदेखि नै अस्तित्वमा थिएनन् । पृथ्वी, हावापानी, जीवको उत्पत्ति भएको धेरै पछि मात्र अस्तित्वमा आएका हुन् । कैयौँ त पछिल्लो मानव–समाजको विकास क्रममा उत्पन्न भएका हुन् । समाजमा पहिले वर्ग उत्पत्ति भएको होइन, पशुपालन र कृषि उत्पादन कार्य सुरु भएको हो । जब आर्थिक उत्पादन वा सम्पत्तिको उत्पत्ति भयो तब समाजमा वर्गहरू जन्मिन पुगे । वर्गहरू उत्पत्ति भएपछि मात्र वर्गस्वार्थको रक्षा गर्न राज्यसत्ताको विकास भयो । राजनीतिक पार्टीहरू त निकै समयपछि मात्र निर्माण हुन पुगे । यसबारे माक्र्स–एङ्गेल्सले सन् १८४८ को कम्युनिस्ट घोषणापत्रमा लेख्नुुभयो, ‘राजनीतिक सत्ता भनेको एक वर्गले अर्को वर्गलाई दबाउने सङ्गठित शक्ति मात्र हो’, (कम्युनिस्ट घोषणापत्र, पृ. ४८) । त्यसैमा उहाँँहरूले थप्नुभयो, ‘आधुनिक कार्यकारी राज्य भनेको सम्पूर्ण रूपले बुर्जुवावर्गको साझा स्वार्थ रक्षार्थ बनाइएको छ ।’ त्यसैगरी लेनिनले राज्यका बारेमा ‘राज्य भनेको शक्तिको विशेष सङ्गठन हो, कुनै वर्गलाई दबाउनका निम्ति बल प्रयोगको सङ्गठन हो’, (राज्य र क्रान्ति, दोस्रो अध्याय, क्रान्तिको पूर्व–बेला, पृ. २५) भन्नुभएको छ । जब राज्यसत्ताको विकास भयो, त्यसैको सङ्घर्षका क्रममा वर्गहरूको नेतृत्व गर्न र वर्ग–विचारको प्रतिनिधित्व गर्न नै राजनीतिक पार्टीहरू पनि निर्माण भए । समग्रमा भन्दा वर्ग, राज्यसत्ता र पार्टीहरू समाज विकासका क्रममा मानवद्वारा बनाइएका वस्तुहरू हुन् । कुनै पनि यी ईश्वरीय शक्तिका उपज होइनन् ।

(ग) प्रकृति, समाज, वर्ग, राज्यसत्ता गतिशील र परिवर्तनशील छन्

द्वन्द्वात्मक भौतिकवादी दर्शनको तेस्रो विशेषता प्रकृति, मानव–समाज र राज्यसत्तालार्ई गतिशील र परिवर्तनशील वस्तुका रूपमा बुझ्नु रहेको छ । यसको अर्थ हो, प्रकृतिका हरेक वस्तु उत्पत्ति भएदेखि आजसम्म गतिशील छन्, विकासशील र परिवर्तनशील छन् । यी सबै वस्तुहरूको जन्म नै प्राकृतिक घटनाहरूको गतिमा भएको हो । जबदेखि यिनको जन्म भयो, तबदेखि नै यी गति र विकासमा रहँदै आएका छन् । यी एकबाट अर्कोमा परिवर्तन र रूपान्तरण पनि हुँदै आएका छन् । वस्तुहरू उत्पत्तिकालमा जुन रूपमा थिए, त्यही रूपमा छैनन् । आज जुन रूपमा छन्, ती पछि रहने छैनन् । निरन्तर परिवर्तन हुँदै जानेछन् । यस सन्दर्भमा एङ्गेल्स भन्नुहुन्छ, ‘कुनै पनि कुरा शाश्वत् छैन तर सबै सधैँँ परिवर्तनशील छ, अनन्त रूपमा गतिशील छन्, पदार्थ र ती नियमहरू जसअनुसार पदार्थ गतिशील बन्दछन् …’, (माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्र, पृ. ३२) ।

माथि नै चर्चा गरियो, कुनै समय यो ब्रह्मान्ड, पृथ्वी, जीवजन्तु केही थिएनन् । पछि मात्र उत्पत्ति भए, मानव पनि सुरुमा जङ्गली जनावरकै रूपमा थियो । बाँच्नका लागि मान्छेले अरू जनावरले भन्दा फरक प्रकारले श्रम गर्न थाल्यो । श्रमको कारणले नै मान्छेको पुच्छर हराउँदै, हात–गोडा फरक बन्दै अरू जनावरबाट अलग भयो । श्रम, चेतना, विचारको कारण मान्छे आधुनिक समाजका विभिन्न चरणहरू पार गरेर पुँजीवादी युगभित्र आइपुगेको छ । आज मान्छे पुँजीवादबाट वैज्ञानिक समाजवादतिर यात्रारत छ । सम्भवतः आउँदा केही शताब्दीपछि पुँजीवादको अन्त्य हुनेछ । विश्वमा साम्यवाद आउनेछ र त्यो पनि विकासको नियमअनुरूप नै नयाँ बन्दै जानेछ । विज्ञानअनुसार करोडौँ वर्षपछि पृथ्वी पनि समाप्त हुनेछ र मानवले नयाँ पृथ्वीको विकास गर्नेछन् । वस्तुको जन्म, विकास र परिवर्तनको वैज्ञानिक भौतिकवादी नियमले दिएको उच्चतम् ज्ञान यही हो ।

(घ) समाज, वर्ग, राज्यलार्ई बुझ्न र बदल्न सकिन्छ

द्वन्द्वात्मक भौतिकवादी दर्शनले मानव–समाजलार्ई वैज्ञानिक ज्ञानद्वारा बुझ्न र परिवर्तन गर्न सकिन्छ भन्नेमा विश्वास गर्छ । वस्तु, समाज र राज्यको जन्म र विकासबारे वैज्ञानिक बुझाइ भइसकेपछि त्यसभित्रका गुण र विशेषतालाई पनि बुझ्न सकिन्छ । बुझिसकेपछि तिनलाई परिवर्तन पनि गर्न सकिन्छ भन्ने यसको मान्यता हो । यस सन्दर्भमा दार्शनिकहरूको विशेषतालाई उल्लेख गर्दै माक्र्सले भन्नुभयो, ‘दार्शनिकहरूले विभिन्न विधिहरूबाट विश्वको केवल व्याख्या मात्र गरेका छन् जब कि मुख्य प्रश्न विश्वलाई बदल्नु हो’, (माक्र्स–एङ्गेल्स रचनाहरू, हिन्दी खण्ड १, भाग १, फायरबाखमाथि निबन्ध, पृ. १४) । यसो भन्दा सबै प्राकृतिक वस्तुहरूलाई परिवर्तन गर्न सकिन्छ भन्ने होइन । प्रकृति र समाजका केही प्राकृतिक नियम छन्, तिनलाई बदल्न सकिँदैन तर केही त्यसका विकसित विशेषताहरू छन्, जसलाई मानवज्ञानद्वारा बदल्न वा रूपान्तरण गर्न सकिन्छ । सूर्य पूर्वबाट उदाउँछ, पश्चिममा अस्ताउँछ । दिनपछि रात आउँछ, ऋतुहरू फेरिन्छन्, मान्छे जन्मेपछि मर्छ । यी नियमहरू फेर्न सकिँदैन तर चिसो मौसममा न्यानो बनाउन सकिन्छ । अँध्यारोलाई उज्यालो बनाउन सकिन्छ । रोग लागेर मर्नेलाई बचाउन सकिन्छ । शोषण, दमन, अत्याचार हटाउन सकिन्छ । सबैलाई शिक्षा दिएर मानव जीवनलाई समान बनाउन सकिन्छ । त्यसैगरी मानव–समाजको विकास र समृद्धिका लागि श्रम (बौद्धिक र शारीरिक) अनिवार्य छ, यसलाई फेर्न सकिँदैन तर एक वर्गले अर्कोलाई शोषण उत्पीडन गर्ने, कोही सुखी, कोही दुःखी हुने, कोही अर्बपति, कोही भीखमङ्गा हुने विशेषतालाई फेर्न सकिन्छ । तर यी विशेषताहरू स्वतः फेरिन्छन् भन्ने भने होइन, त्यसका लागि सबैभन्दा पहिलो सर्त मान्छेलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र ज्ञानद्वारा सुसज्जित गर्नुपर्छ । त्यो अवसर आज माक्र्सवादी दर्शनले श्रमिकवर्गलाई उपलब्ध गराइसकेको छ । यस सन्दर्भमा लेनिनले भन्नुभयो, ‘माक्र्सवादी दर्शन एउटा सम्पूर्णतः दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई, विशेषतः श्रमिकवर्गलाई ज्ञानका शक्तिशाली उपकरणहरू प्रदान गरेको छ’, (लेनिन, सङ्कलित रचनाहरू, हिन्दी खण्ड ४, माक्र्सवादका तीन स्रोत तथा तीन सङ्घटक अङ्ग, पृ. १९५) ।

भौतिकवादको विकास नहुँदासम्म पृथ्वीको उत्पत्ति र यसको अस्तित्वबारे सही ज्ञान थिएन । ज्ञान नहँुदा यसलार्ई मानवअनुकूल बनाउने र परिवर्तन गर्ने कल्पना पनि थिएन । उदाहरणार्थ, हिन्दु धर्मअनुसार पृथ्वीलार्ई भगवान्ले बनाएका हुन् र यसलाई भीमले बोकेर राखेको विश्वास गरिन्थ्यो । युरोपमा कछुवाको पीठमा पृथ्वी अडेको मानिन्थ्यो (हकिन्सले उल्लेख गरेअनुसार) । एसियामा सर्पको मुखमा बसेको ठानिन्थ्यो तर पछि भौतिक विज्ञानले पत्ता लगायो कि पृथ्वीको उत्पत्ति चार अर्ब वर्षपहिले महाविस्फोटबाट भएको हो, पृथ्वी ब्रह्मान्डीय गुरुत्वाकर्षणको नियमअनुसार अडेको छ र चलिरहेको छ । यसले दुनियाँँलाई पूरै नयाँ ठाउँमा पु¥याइदियो । त्यसैगरी पहिले गरिब र धनी हुनुमा भाग्यको लेखा वा भगवान्को देन मानिन्थ्यो तर जब समाज विकासको नियमलाई भौतिकवादी कोणबाट बुझाइयो, तब गरिब–धनी हुनुमा आर्थिक उत्पादनमा कायम हुने स्वामित्वको भूमिका मुख्य छ भन्ने पत्ता लाग्यो । गरिब–धनी हुनुको कारण पत्ता लगाइसकेपछि मान्छेले मान्छेलाई ठग्न र शोषण गर्न पाइँदैन भन्ने मान्यता स्थापित हुन पुग्यो । सचेततापूर्वक शोषण, उत्पीडन र पुँजीवादको अन्त्य गरेर मानवजातिलाई शोषणविहीन समाजवादी व्यवस्थातिर लान सकिन्छ भन्ने विश्वास भयो र त्यसका लागि क्रान्ति गर्न थालियो । वस्तुलाई बुझ्न र बदल्न सकिने भएकाले नै विज्ञानका नयाँनयाँ अनुसन्धान र विकास सम्भव भएका छन् । मानव अन्तरिक्षदेखि अर्को ग्रहसम्म पुग्न सक्नुको कारण पनि यही हो । श्रमिकवर्गले विभेदकारी दुनियाँँलाई बुझ्न र परिवर्तन गर्न सक्छ भन्नुको ज्ञान पनि यही हो । समग्रमा हेर्दा मानव–दुनियाँलाई नयाँ स्थानमा पु¥याउनमा द्वन्द्वात्मक भौतिकवादी दर्शनको योगदान निकै महत्वपूर्ण रहेको छ ।

बिहि, बैशाख ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया