बिदेश गएका श्रीमानले घर फर्कँदा ६ जना छोराछोरीसहित श्रीमतीलाई अर्कैसँग भेटेपछि…


बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो ।

२०३४ सालमा जन्मनु भएका कामीले २०५१ मा १७ वर्षको उमेरमा गाउँ नजिकै रहेको बुंगल नगरपालिका –८, कै मंगली बिकसँग विवाह गर्नुभयो । पञ्चेबाजा बजाएर दुलहीलाई घर भित्र्याउनुु भयो । हिरा कामी २ वर्षको हुँदा नै उनका बुवा राइसिङे कामीको निधन भएको थियो ।

हिराकी आमा सुन्दरी कामीले हिरालाई खुबै मेहनत गरी पालनपोषण गर्नुभयो । सुन्दरीको एउटै छोरो भएकाले हिराको बाल्यकाल निकै राम्रो थियो । सुन्दरीले भन्नुभयो, ‘बुढेसकालको सहारा नै मेरो एउटै छोरा हिरा थियो । घरमा खान लगाउन केही पनि थिएन ।’

उहाँको जग्गा पनि उब्जनी हुने खालको थिएन् । अर्काको घरमा गएर मागेर, कसैको काम गरेर खानु पर्ने बाध्यता पहिलेदेखि नै थियो सुन्दरी कामीको । उब्जनी हुने जग्गाबाट २ महिना समेत राम्रोसँग खान पुग्दैन थियो ।

‘एक जोर कपडा नयाँ कहिले पनि फेर्न सकिएन । गाँउका कसै भाग्या (दलितले माथिल्लो जातलाई सम्मान स्वरुप भन्ने शब्द)हरुले लगाएर फालेको कपडा दिएमा लगायो । नत्र फाटेकै कपडाले काम चलाउनु पर्ने बाध्यता मेरो घरको थियो र अहिले पनि छँदैछ’, सुन्दरीले भन्नुभयो, ‘मेरा बुढा सामान्य बिरामी पर्नुभयो । उपचार गर्ने पैसा नभएकै कारण हिरा २/३ वर्षको हुँदा नै उहाँको निधन भयो ।’

सुन्दरी कामी भन्नुहुन्छ, ‘घरमा अरु कोही भएन । एउटै छोरा हिरा मात्रै बाँकी रह्यो । छोरालाई मैले खुबै माया गरी हुर्काए । छोरा ठूलो हुँदै गयो । छोराको विवाह गरेर मर्न पाए हुन्थ्यो । मेरा आत्माले शान्ति पाउँथ्यो भन्ने सोच मैले बनाए । छोराको १७ वर्षको उमेरमा नै  विवाह गरिदिए ।’

हिराले विवाह गरेपछि हिराकी श्रीमती मंगली पनि घरमा थपिइन् । घरमा खानलाउन सबै कुराको समस्या थियो । त्यसैमाथि एकजना थपिएपछि झन ठूलो समस्या भयो । सधैँ मागेर खानु पर्ने । कहिले भोक–भोकै बस्नु पर्ने बाध्यता हुन थाल्यो । गरिबीकै समस्या सल्टाउन हिरा रोजगारका लागि भारत जाने भए ।

गाउँमा केही काम पनि नमिल्ने । अर्काको काम गर्दा समेत खान लगाउन समस्या हुने ।  बिहानदेखि बेलुकासम्म गाउँमा अर्काको काम गर्यो । बेलुका एक माना चामल वा अन्न लिएर घर आउनु परेपछि हिरा रोजगारका लागि भारत जान तम्सिए ।

हिराले विदेश गएर प्रशस्तै पैसा कमाउने सोच बनाएर भारत जाने योजना बनाए । विवाह गरेको महिना दिन भएको थियो । पैसा कमाएर घरमा खुशी भित्र्याउने सोचमा हिरा आफ्नी श्रीमती र जन्म दिने आमालाई छोडर रोजगारीको खोजीमा भारततर्फ लागे ।

‘भारत गएर पनि भने जस्तो काम पाउन सकिनँ’, हिराले भने, ‘म कामकै खोजी गर्न थाले । धेरै पैसा कमाउने सोच्दा–सोच्दै समय बित्दै  गयो । भारतको पिथौरागढतिर काम गरेर आफूलाई खान मात्रै ठिक्क हुन थाल्यो । न पैसा कमाउन सकियो, न घरमा खबर गर्न नै ।  पैसाको पछि दगुरेको म भारत गएको ५ वर्षसम्म त्यतै भैतारिइरहेँ । त्यत्रो समय मैले न परिवारसँग सम्पर्क गरेँ, न पैसा नै पठाउन सकेँ ।’

राम्रो रोजगारी पाउने आशामा हिरा भारतमा नै रोजगारीमा भौँतारिइरहे । ‘फेरि पनि भारतमै राम्रो रोजगारीको खोजी गर्न थालेँ । गाँउघरका कसैसँग सम्पर्क नै भएन । मैले धेरै पैसा कमाएर एकै चोटी घर जाने भन्ने विचार बनाएको थिएँ । घर फर्किने सोच कुनै  बेला आउँथ्यो । आमा र श्रीमतीको याद त आई नै रहन्थ्यो’, हिरा भन्नुहुन्छ, ‘यत्रो वर्ष भारत बसेर घरमा के लिएर जाने ? कमाई केही पनि छैन भन्ने सोच्थेँ । फेरि म आफ्नै मनलाई शान्त पार्थे र राम्रो रोजगारीका लागि सधैँ भौँतारिइरहन्थेँ ।’

‘मलाई घर जान त मन थियो तर, त्यहाँको दुःख सम्झन्थे अनि केही पैसा नलिई कसरी घर जाने भनेर झसंग हुन्थेँ । जुन दिन धेरै पैसा कमाउला, त्यो दिन घर जाउँला भन्ने मनमा लाग्थ्यो’, हिरा कामीले भन्नुभयो, ’यस्तो सोच्दासोच्दै मलाई समय गएको पत्तो नै भएन ।’

हिराको कथा उनकै आवाजमा

२०५१ सालमा घर छाडेर विदेश गएको गाउँमा मैले कसैलाई खबर नै गरिनँ । आमाले र मेरी श्रीमतीले गाउँलेलाई मेरो एउटै छोरा हरायो, खोजी दिन पर्यो भन्दै सबैसँग हार–गुहार गर्न थाल्नु भएछ ।

घरको एक्लो छोरो म, खोजी गर्नु पनि स्वभाविक नै थियो ।  गाँउका आफन्तले पनि खोजी गर्न थालेछन्, मलाई जानकारीसम्म भएन । मलाई कसैले भेटाएनन् ।

गाउँलेले खोजी गर्दै जाँदा मेरै अनुहार र  हाइटसँग मिल्ने एक जना भारतमै फेला परेछन् । गाउँकाले हिरा त हामीले फेला पार्यौँ भनेर आमालाई खबर गर्नु भएछ । गाउँकै आफन्तहरुले तिनै मान्छेलाई जबरजस्ती तिमी हिरा नै होउ भनेर भन्न थालेछन् ।

मेरोजस्तै अनुहार र हाइट मिल्ने, त्यो मान्छेको घर बैतडी रहेछ । उनी ऊ पनि मजस्तै दलित रहेछन । उनको पनि घरमा आर्थिक समस्याकै कारण रोजगारीका लागि भारत गएका रहेछन् ।

उनले म हिरा होइन भन्दै थिए रे ! तर, तिमी नै हिरा हौ । तिम्रो श्रीमती–आमा मात्रै घरमा छन् । उनीहरु तिम्रो प्रतिक्षामा छन् ।  तिम्रो बाटो हेरेर बसेका छन्, ५÷६ वर्षमा नै कस्तो घर भुलेको ? भनेर उनलाई मेरो घर फर्काएछन् ।

आमाले पनि छोरालाई घरसम्म ल्याइदिनु भनेर गाउँका मान्छेहरुसँग हार–गुहार नै गर्नुभएछ । नक्कली हिराले मेरो घर बैतडी हो भन्दा समेत यसले घरव्यवहार त्याग्न खोजेछ भनेर घर ल्याएछन् ।

आमाले पनि नक्कली छोरो छुट्याउन सक्नुभएनछ । उसलाई नै आफ्नो छोरो स्वीकार्नुभएछ । यति लामो समय भारत गएर सबै कुरा बिर्सिएछ भन्ठानेछन् गाउँलेहरुले । गाउँलेका नजरमा त उ मानसिक समस्या भएका कारण उसले आफू हिरा नभएका भन्यो होला भन्ने लागेछ । गाउँका कुनै व्यक्तिले पनि सक्कली र नक्कली हिरा छुट्याउन सकेनछन् ।

नक्कली हिरा बनेका बैतडीका ती मानिस नै मेरो घरमा बस्न थालेछन् । घरमा बसेको १÷२ वर्ष पछि  गाउँका केही मान्छेले अलि शंका गर्न थालेछन् । मेरो आँखाको रंग कालो थियो । उनको सेतो रहेछ । गाँउका मान्छेले तिम्रो आँखाको रंग कालो थियो, सेतो कसरी भयो भनेर साधेछन् ।

नक्कली हिराले आफ्नो आँखामा औषधि हालेको भन्दिएछन् ।  त्यति भनेपछि फेरि सबैले विश्वास गरे ।  अनि बैतडी घर भएका ती नक्कली हिरा मेरै घरमा बस्न थालेछन् ।  यतिसम्मकी उनले घरको सम्पूर्ण जिम्मेवारी सम्हालेछन् ।

मेरी श्रीमतीले समेत उनलाई छुट्याउन सकिनछिन् ।  हुन त आफ्नै जन्म दिने आमाले त छुट्याउन सक्नु भएन भने श्रीमतीले झन कसरी छुट्याउन सक्नु ? उनको मेरी श्रीमतीसँगै यौनसम्बन्ध पनि भएछ । छोराछोरी समेत भएछन् ।

म भारतमै थिए । मेरो सपना पैसा कमाएर घर जाने र परिवारलाई खुशी बनाउने नै थियो । भारतमा गएर काम गरे पनि कहिले ठेकदारहरुले पैसा नदिने, कहिले, साहुले ठग्ने, धेरै दुःख पाएँ भारत पसेर ।

सुखी हुन्छु र सुख भित्र्याउँछु भनेर भारत गएको म, आफैले उतै दुःख पाउन थालेँ । जति काम गरे पनि कहिले तलब नपाइने, कहिले ठेकेदार त कहिले साहुले पैसा नदिने ।  हुँदा–हुँदा भारतमा खान बस्नै ठिक्क हुन थाल्यो ।

खान बस्न नै समस्या भएपछि मैले घर नै फर्कने मनसाय बनाएँ । अब जे भए नि घरमै जान्छु भन्ने विचार आयो ।  सिस्नो नै खाए पनि आफ्नै गाउँमा परिवारको साथमा खाँदा आनन्द आउने सोच बनाएँ । त्यसपछि म २०६९ सालमा म घर फर्किएको  हुँ । म सिधैँ मेरो आफ्नै घरमा पुगे ।

घरमा म जस्तै अर्को मान्छे छ । म धेरै अचम्ममा परेँ । मैले कोही पाहुना होला भन्ठाने । घरमा केटाकेटी समेत देखेपछि म झनै अचम्ममा परेँ । शंकालाई केही शान्त पार्दै कोही आफन्त आमालाई सहयोग गर्न आएका होलान् भन्ठानेर म घरमा नै गएँ ।

आमालाई ढोग गर्छु त आमाले चिन्नु नै भएन, उल्टै तिमी को हौ बाबु भन्नुहुन्छ ! म अचम्ममा परेँ । अनि मैले आमालाई म तपाईँकै छोरो हुँ भन्दा आमाले पत्याउनु नै भएन । को आएछ भनेर वल्लो–पल्लो घरका मान्छे पनि जम्मा भए । ‘होइन तिमी को हौ ? कहाँ बाट आएको ?’ भनेर  उल्टै गाउँलेले मलाई नक्कली हिरा आयो भनेर घरमा नै बस्न नदिने भए ।

त्यसपछि म २/४ दिन अरुकोमा श्रम गरेर बस्न थालेँ । घरमा बस्न नदिएपछि म बाध्य भएर गाउँलेकोमा श्रम गरेर बसेको थिएँ । जसरी भए पनि मलाई आफू हिरा भएको चिनाउनु थियो । त्यसैले म नजिकैको घरमा श्रम गरेर बसेको थिएँ । त्यसपछि गाउँका मान्छेलाई मैले सबै कुरा भनेँ ।

मेरा नाम हिरा हो । म भारत जाँदा गाउँका यी साथीहरुसँग गएको थिए । मेरो विवाह हुँदा म १७ वर्षको थिएँ । म सानैमा गोरु गोठालो जाँदा गाउँका यी साथीहरुसँग जान्थेँ । जन्मेदेखि आफूलाई याद भएको सबै कुरा गाँउलेहरुका अघि प्रष्ट भने । त्यसपछि सबै अलमलमा परे । बुंगल नगरपालिका भरिका मान्छेहरु मलाई हेर्नका लागि घरमा नै आउन थाले । ४/५ दिनसम्म भीड नै लाग्योे ।

अनि बैतडी घर भएर नक्कली हिरा बनेर मेरा घरमा बसेको मान्छे र मलाई सँगै राखेर गाँउका राजनीतिक दलका अगुवा, समाजसेवी, सबै गाउँलेले सोझबुझ गरे ।

त्यसपछि नक्कली हिराले आफ्नो घर बैतडी भएको स्वीकारे । मैले घरमा बस्न पाएँ । त्यतिबेलासम्म मंगली र नक्कली हिराले २ छोरा र ४ छोरी जन्माइसकेका थिए । मैले विवाह गरेको श्रीमती भए पनि मबाट छोराछोरी भएका थिएनन् । त्यति मात्र होइन उनीहरुले मेरो आमाबाट नागरिकता लिइसकेका रहेछन् ।

नक्कली हिरालाई गाउँलेले गरे बिदाई

त्यसपछि गाउँलेले नक्कली हिरा र श्रीमती मंगलीसँग छलफल चलाए । मेरा २ छोरा ४ वटा छोरी र श्रीमतीलाई लिएर आफ्नै घर बैतडी जान्छु भनेपछि गाउँलेले नक्कली हिरालाई २०७० मंसिरमा त्यहाँबाट बिदाई गरे । सक्कली हिराका अनुसार नक्कली हिराले उनको घर बैतडीको दोगडाकेदार गाउँपालिकाको न्वालीमा रहेको छ ।

मंगलीका माइतीलाई भने शंका लागेको रहेछ । नक्कली हिराले आफ्नी छोरीलाई फसाइदिने हो कि भन्ने आशंकाले होला त्यतिबेला मंगली र नक्कली हिरासँगै उनका माइती पनि बैतडी गएको सक्कली हिराले जानकारी दिए । नक्कली हिराका आफन्तहरुले नक्कली हिरालाई बैतडीमा राम्रै स्वागत गरे ।

सक्कली हिरालाई नागरिकता लिन समस्या

आमाका नामबाट नक्कली हिराले नागरिकता समेत बनाइ सकेका कारण मैले अहिलेसम्म नागरिकता समेत पाउन सकेको छैन’, हिराले भन्नुभयो, ‘मैले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कुनै पनि ठाँउमा उजुरी दिएको छैन ।’

‘उजुरी दिएर पनि के गर्नु ? म आएपछि उ आफ्नो घर गइसक्नुभयो, अनि उहाँको एउटै दोष पनि छैन । यसका म, आमा, गाँउका आफन्तलगायत हामी सबै दोषी छौं ।  त्यसैले मैले उजुरी नदिएको हुँ ।’

‘अब अरुको कुरा जे भए पनि मैले नागरिकता पाँए भने आनन्दै हुन्थ्यो हिराले भने, ‘नागरिकता लिनका लागि आफूले जाने र बुझेको र गाउँका सबै मान्छेले भनेको प्रकृया पूरा गरिसकेँ । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउन सकेको छैन ।

नक्कली हिराले भने सक्कली हिराको नामबाट बनाएको नागरिकता समेत छोडेर गएका छन् । त्यस नागरिकता मैले जिल्ला प्रशासन कार्यालयमा बुझाएको छु । तर, पनि नागरिकता पाएको छैन ।

जिल्ला प्रशासनले नागरिकता दिन मिल्दैन भन्छ । यस विषयमा मैले के गर्ने ? एक दिन चैनपुर पुगियो भने मेरो ३÷४ हजार रुपैयाँसम्म खर्च हुन्छ । आफूसँग एक रुपैयाँसम्म छैन । कसरी नागरिकता लिने ?

श्रीमती ‘तेरो–मेरो’मा सक्कली र नक्कली हिराको विवाद

सक्कली हिरा आफू भएपछि उनी त्यही घरमा बस्न थाले । नक्कली हिरा पनि त्यहीँ बसेका थिए । पछि नक्कली हिरा र सक्कली हिराबीच श्रीमतीको विषयमा झगडा हुन थाल्यो । सक्कली हिराले पहिला आफूले विवाह गरेकी श्रीमती भएकाले उनले श्रीमतीसँग बस्न पाउनुपर्छ भन्न थाले ।

नक्कली हिराले पनि दुई चार जना छोराछोरी भैसकेकाले श्रमिती आफूले नै राख्ने भनेपछि सक्कली र नक्कली हिराबीच द्वन्द्व भएको हो । दुई सक्कली र नक्कली हिराको द्वन्द्वले हिराकी श्रीमती मंगलीलाई ‘तातो दूध निल्न न ओकाल्न’ जस्तो भयो । उनले गाउँलेसँग समस्या समाधान गरिदिन हारगुहार गरिन ।

अहिले नक्कली र सक्कली हिराको सम्बन्ध

नक्कली हिरा अहिले पनि बझाङको बुंगल नगरपालिकाका सक्कली हिरासँग फोन सम्पर्क गर्नुहुन्छ । उनीहरुको हेलो–हाई भइरहन्छ । बैतडीबाट फोन गरेर घरको हाल खबर, आमाको हाल खबर र आफन्तहरुको हाल खबर सोधपुछ गर्ने गरेको यहाँका बझाङका हिरा बताउनुहुन्छ ।

अहिले के गर्दैछन् हिरा ?

आफ्नी श्रीमती नक्कली हिराले लगिदिएपछि सक्कली हिराले पनि स्थानीय पुरुषकै दोश्री श्रीमतीसँग विवाह गर्नु भएको  छ । स्थानीय एक पुरुषले दुई श्रीमती बिहे गरेको र कान्छीलाई हेला गरेपछि हिराले तीनै कान्छीसँग विवाह गर्नु भएको हो ।

अहिले उनीहरुको परिवारमा हिराकी आमा भगाएर ल्याएकी श्रीमती र श्रीमतीको पहिलो श्रीमानबाट जन्मेका एक छोरा रहेका छन् । आर्थिक अवस्था नराम्रो भए पनि अहिले पारिवारिक अवस्था राम्रो रहेको हिरा बताउनुहुन्छ । आफ्नो नागरिकता बनाउन सहयोग गर्नउहाँले आग्रह गर्नुभयो ।-उज्यालो अनलाईनबाट

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया