राष्ट्रिय भलिबल प्रतियोगिता चैत २१ देखि


 

काठमाडौँ, ७ चैत। 

मेलम्ची नगरपालिक र नमुना युथ एक्टिभ गु्रपको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म दोस्रो खुला राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष शिरबाहदुर तामाङले भूकम्प प्रभावित नागरिकलाई मनोरञ्जनसँगै आन्तरिक पर्यटन बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

करिब १५ टोलीले भाग लिने उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु एक लाख बाउन्न हजार दुई सय पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले रु ८२ हजार दुई सय २२ तथा तेस्रो हुने टोलीले रु ५२ हजार दुई सय २२ प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतयोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई रकमसहित मेडल शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।

राष्ट्रिय भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले प्रतियोगिताले प्रतिभावान खेलाडी उत्पादन गर्ने बताउनुभयो । प्रतियोगिता सञ्चालनको लागि करिब रु २० लाख १३ हजार ६६६ लाग्ने अनुमान गरिएको छ ।

बुध, चैत्र ७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया