अन्ततः राप्रपा नेता पुगे ज्ञानेन्द्रसँग हारगुहार गर्न ,सरकार एउटै राप्रपा बनाऔं, हजुर संरक्षक बस्नुपर्यो !


काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो राष्ट्रिय प्रजातन्त्र पार्टी फुटाएर बनेका तीन बेग्लाबेग्लै पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) का तीनतीन नेता भेला गरेर एउटै पार्टी बनाउन छलफल गरेका हुन् । राप्रपाबाट उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्यद्वय भास्कर भद्रा र प्रह्लाद शाह, राप्रपा प्रजातान्त्रिकबाट महामन्त्री राजाराम श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय सुरेश आचार्य र सगुन लावती, राप्रपा राष्ट्रवादीका नेताहरू केशव श्रेष्ठ, तारा लुइँटेल र डा. सुषमा आचार्य छलफलमा सहभागी थिए ।

आइतबार साँझ झापाको दमकस्थित हिमालय चिया बगानमा भएको छलफलमा पूर्वराजा शाहले तीनवटा राप्रपा पुनर्गठन गरेर एउटै राप्रपा बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि आफ्नै स्वामित्वको उक्त चिया बगानमा रहेका शाहले अपराह्न ४ साँझ ७ बजेसम्म लन्चसहित छलफल गरेका थिए । मुलुकको समसामयिक विषयमा छलफल भएको सहभागी नेता केशव श्रेष्ठले बताए । ‘सरकारले हामीसँग लन्चसहित तीन घन्टा वर्तमान राजनीतिक अवस्था र बिग्रँदो परिस्थितिबारे छलफल गर्नुभयो,’ श्रेष्ठले भने, ‘जनताले संयुक्त नेपाल खोजेका छन्, श्री ५ महेन्द्रले सुरु गरेको संयुक्त नेपाल अभियानअनुसार मुलुक चल्यो भने समृद्धिका ढोका खुल्न सक्छन् भन्ने उहाँको मनसाय हामीले पायौँ ।’

पार्टी एकीकरण गर्न सुझाब
राप्रपामा देखिएको गुट र फुटले कसैको हित नभएको भन्दै पुनः एकीकरणमा जान पूर्वराजाले नेताहरूलाई सुझाएका थिए । ‘म तपाईंहरूका पार्टीको संरक्षक पनि होइन, म राजनीतिमा छैन, राजनीति गर्ने पनि होइन, तर आज तपाईंहरू गुट बनाएर, फुटेर कसैको हित भएन भन्ने प्रमाणित भयो,’ पूर्वराजाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी राप्रपा केन्द्रीय सदस्य शाहले नयाँ पत्रिकासँग भने, ‘त्यसबारे सोच्नुस् । म धेरैतिर जाँदा पार्टी फुटेको गुनासो गर्छन्, यसले गर्दा कमजोर भयो, अब एउटा टार्गेट बनाएर तपार्इंहरू अगाडि बढ्दा उपयुक्त हुन्छ ।’ उनले राप्रपाका सबै समूह एक हुनुपर्ने र पार्टी पुनर्गठन गरिनुपर्ने बताएका थिए ।

अदृश्य रूपमा संरक्षकत्व दिन तयार छुः पूर्वराजा
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि तीनवटै पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकीकरणको पहल गरी संरक्षकत्वको भूमिका लिइदिन पूर्वराजालाई आग्रह गर्दै आएका छन् । पूर्वराजावादीहरूको अस्तित्व कायम राख्न पूर्वराजाकै संरक्षकत्व आवश्यक रहेको तर्क उनीहरूको छ ।चिया बगानको भेटमा उपस्थित नेताहरूले आ–आफ्ना पार्टीका शीर्ष नेतृत्व व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी कमजोर बनेको बताएका थिए । ठूला नेताबीच जुँगाको लडाइँ चलेका कारण पार्टी फुटेको र चुनावमा पराजय व्यहोर्नुपरेको जानकारी उनीहरुले पूर्वराजालाई गराए । तीनवटै पार्टीको नेतृत्वमा रहेकाहरूलाई हटाएर दोस्रो तहका नेताहरूले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने र त्यसको संरक्षकत्व पूर्वराजाले नै गर्नुपर्ने उनीहरूको आग्रह थियो । ‘अहिलेको नेतृत्वमा रहेका तीनै नेताबाट एकीकृत र सशक्त पार्टीको परिकल्पना गर् न सकिन्नँ, पार्टी एकीकरण गरी दोस्रो तहका नेतामध्ये कसैले नेतृत्व सम्हाल्नुपर्छ भन्ने तर्क हामीले उहाँसामु एकस्वरमा राख्दै त्यसको संरक्षकत्व प्रदान गरिदिन आग्रह गर्यौँ,’ बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले देखिएर होइन, अदृश्य रूपमा संरक्षकत्व प्रदान गर्न आफू तयार रहेको बताउनुभयो ।’
नयाँ पत्रिकाबाट

मङ्ल, चैत्र ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया