किन अड्कियो एमाले र माओवादीबीच एकता ?


काठमाडाैं ।

एमाले–माओवादी एकता तयारीका लागि गठित दुई कार्यदलको समयसीमा थपिएको छ । एकता तयारी लम्बिँदै गएपछि दुवै कार्यदललाई १० चैतसम्मको समयसीमा दिइएको हो ।

कार्यदलका कतिपय सदस्य मन्त्री बनेकाले एकता गृहकार्य प्रभावित भएको छ । एकता गृहकार्यका लागि १० फागुनमा अन्तरिम विधान र संगठन तथा अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदल गठन भएको थियो । २५ फागुनसम्म प्रतिवेदन बुझाउन समय दिइएको थयो । तर, तयारी नपुगेको भन्दै थप १० दिन समय थपियो । यद्यपि, २५ फागुनयता दुवै कार्यदलको एउटै पनि बैठक बस्न सकेको छैन ।

अन्तरिम राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा पाएको एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले समय नपुगेको भन्दै पुनः १० दिन समय मागेपछि माओवादी नेता रामबहादुर थापा नेतृत्वको अन्तरिम विधान र संगठनसम्बन्धी कार्यदलले पनि मस्यौदालाई अन्तिम रूप दिएको छैन ।

थापाले २५ फागुनयता तीनपटक विधान मस्यौदामा छलफल गर्न बैठक बोलाउँदै स्थगित गर्दै गरेको कार्यदलका एक सदस्यले बताए ।
‘उहाँ मन्त्रीका रूपमा सरकारी काममै व्यस्त हुनुहुन्छ, अन्य साथीहरूले पनि त्यति चासो देखाउनुभएको छैन,’ ती सदस्यले भने, ‘तयारीका काम लम्बिँदै गएकाले तत्काल छलफल टुंगिहाल्ने स्थिति देखिएको छैन ।’
नेपाल नेतृत्वको कार्यदलले आपसमा विषय बाँडेर अन्तरिम राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएको छ । तर, बैठक नबसेका कारण मस्यौदामाथि औपचारिक छलफल भएको छैन ।
नयाँ पत्रिकाबाट

मङ्ल, चैत्र ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया