सिन्धुलीमा भुकम्प पछि झण्डै १ हजार महिला डकर्मी उत्पादन


रुद्रबहादुर खड्का/सिन्धुली,चैत १ ।

सिन्धुलीमा भुकम्प पछि झण्डै एक हजार नयाँ महिला डकर्मी उत्पादन भएका छन् ।
जिल्ला भूकम्प पछि विभिन्न संघसंस्थाले सञ्चालन गरेको ९ दिने र ५० दिने डकर्मी तालीमबाट जिल्लामा ९ सय ५० महिला डकर्मी उत्पादन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय सिन्धुलीका प्रमुख बासुदेक हुमागाईले बताए ।
जिल्लाका ९ वटै स्थानीय तहमा भूकम्पप्रभावितलाई पुनःनिर्माणमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले उनिहरुलाई तालिम प्रदान गरिएको थियो । तालिम पछि ती महिला डकर्मीहरु पूर्न्निर्माणलाई रोजगारीको माध्याम बनाउदै आत्मनिर्भर भएका छन् ।
आर्थिक रुपले विपन्न तथा सामाजिक रुपमा विभेदमा परेका भूकम्प प्रभावितलाई डकर्मी बनाइएको छ । डकर्मी तालीमका कारण स्थानीयहरु सीप सिकेर गाउँमै स्वरोजगार बनिरहेका छन् । साथै आफ्नो घर निर्माण गर्न सहुलियत भएको उनिहरु बताउछन् । निजी आवास पुर्न्निर्माणबाट मनग्य आम्दानी गर्न सकिने उनीहरुको भनाई छ ।
कमलामाई नगरपालिका वडा नम्बर १० की प्रमिला माझीले ५० दिने डकर्मी तालिम अवधीमा घर निर्माण गरिसकेकी छिन् । डकर्मी तालीम नलिएको भए घर सजिलै कहाँ बन्थ्यो र ? प्रमिलाले भनिन, ‘तालिमबाट मिस्त्री खर्च र निर्माण सामाग्रीका लागि ठुलो सहुलियत भएकोछ ।
डकर्मी तालिम पछि प्रमिलासहितको अन्य डकर्मी टोलीले अहिले त गाँउमा झण्डै एक दर्जन भूकम्प प्रतिरोधि घर बनाइसकेका छन् । प्रमिला अहिले सिन्धुलीमा मात्र होइन छिमेकी जिल्ला रामेछाप, दोलखा लगायतका स्थानमा पनि घर बनाउन पुग्छिन् । पहिले गाउँघरमा महिलाहरुले डकर्मी भएर काम गरेको राम्रो मानिदैन थियो । डकर्मीको काम गर्दै अहिले उनले राम्रो आम्दानी गरिरहेकी छन् ।
प्रमिला घर बनाउने कामलाई निरन्तरता दिने सोचमा छन् ।अहिले सरकारले नीजि आवास अनुुदान वितरण एंव पूनःनिर्माण समयसीमा तालिका सार्वजनिक गरेपछि झनै आफुुहरुलाई काम गर्न भ्याईनभ्याई भएको उनको भनाई छ ।
कमलामाई नगरपालिका ५ चिसापानी झोराकी सुमित्रा आछामीले पनि एस.एस.आर.पि.परियोना अन्र्तरगत ९ दिने तालिम लिएकीछिन् । भूकम्प प्रतिरोधी घर बनाउन तालीम लिएपछि अहिले उनलाई फुर्सद छैन । ठेक्कापट्टाको काम समेत गर्ने सुमित्रा भूकम्पले भत्काएको गाउँको घर, गोठ, विद्यालय बनाउन नेतृत्वदायी भूमिकामा छिन । पहिले मासिक २५ हजार आम्दानी हुन्थ्यो भने अहिले मासिकरुपमा ३५ हजारसम्म आम्दानी हुने गरेको उनि बताउछिन् ।
यसैविच, सिन्धुलीमा पछिल्लो भूकम्पपछिको पुनःनिर्माणले गति लिएको छ । जिल्लामा भूकम्पले भत्किएका १५ हजार घर पुनःनिर्माणको चरणमा रहेको सचिवालयले जनाएको छ । पछिल्लो समय जिल्लामा भूकम्पछिको पुनःनिर्माण तिव्ररुपमा अघि बढेको पुनःनिर्माण प्राधिकरणको सचिवालय प्रमुख बासदेव घुमागाईले बताए । भूकम्प प्रभावितहरुले प्राथमिकताका साथ धमाधम घर निर्माण गरिरहेको उनको भनाई छ ।
त्यस्तै ३ हजार ५ सय भन्दा बढी घर पुनःनिर्माण भइसकेको जिल्ला समन्वय समिती पुनःनिर्माण प्राधिकरणको सचिवालय सिन्धुलीले जनाएको छ ।

बिहि, चैत्र १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया