होलेरी, राडी र सिन्धुलीगढीमा यसरी भएको थियो पहिलो सफल फौजी कार्वाही

-उदय बहादुर चलाउने 'दीपक'


संयुक्त जनमोर्चा नेपाल तत्कालीन माओवादी पार्टीको वैधानिक मोर्चा थियो । पार्टीको नीति र कार्यक्रम प्रायः यही सङ्गठनमार्फत् सार्वजनिक गर्ने गरिन्थ्यो । त्यसक्रममै २०५२ को माघ २१ गते राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विषयहरूलाई केन्द्रित गरेर संयुक्त जनमोर्चा नेपालमार्फत् माओवादी पार्टीले तत्कालीन सरकारसमक्ष ‘४० बुँदे माग’ पेस ग¥यो । मागपत्र पेस गर्दा सरकारलाई सय दिनको ‘अल्टिमेटम’ तोकिएको थियो । यदि समयमै आफ्नो मागहरू बारे सरकारले उपयुक्त ठोस कदम नचालेमा सशस्त्र सङ्घर्षको बाटो हिँड्ने माओवादी पार्टीले स्पष्ट सूचित गरेको थियो ।

महाभारतको कथामा पाण्डवहरुले पाँच गाऊँ मागे झैं त्यो ‘मागपत्र’ एक अर्थमा आफ्नो युद्ध–राजनीतिलाई जनतामा अनुमोदन गर्ने माओवादी चलाखी समेत थियो । माओवादी पार्टीका लागि मागपत्रको त्यो कदम आफूले सुनिश्चित गरेको अवश्यम्भावी हिंसात्मक कदमलाई राजनीतिक औचित्य प्रदान गर्न एक आवश्यक पहलकदमि थियो । हुनलाई त जनयुद्ध श्रमजिवि जनताको अस्तित्व र अधिकारको युद्ध थियो । यो कुनै आतङ्कवादी कार्य विल्कुल थिएन । त्यसका बाबजुद पनि विश्व प्रतिक्रियावादका नाईकेहरुले आतङ्कवादका नाममा शुरुमै जनयुद्धको निर्मम हत्या गर्न सक्थे । त्यसबाट जोगाउन ‘मागपत्र’ एउटा गतिलो राजनीतिक रक्षा कवच थियो ।

‘युद्ध राजनीतिको उच्चरूप’ तथा ‘रक्तपातपूर्ण राजनीति’ हो भन्नेमा माओवादी नेतृत्व पूर्ण सचेत थियो । उता शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले त्यो मागपत्रबारे कुनै गम्भीर चासो राखेन । फलस्वरूप माओवादी पार्टीले आफ्नो मागबारे राज्यले कुनै गम्भीर चासो नराखेको आरोपसहित २०५२ फागुन १ गते देशमा जनयुद्धको घोषणा ग¥यो ।

फागुन १ गते देशव्यापी मूलतः पर्चा छरेर, पोस्टर टाँसेर र भित्तेलेखन गरेर युद्ध घोषणाको सन्देश प्रवाह गरिएको थियो । त्यही दिन राती केही सशस्त्र हमलाहरू पनि गरिए । सशस्त्र हमलाको निशानामा रहेका थिए– ‘स्थानीय सुद्खोर, जाली–फटाहाहरू’, सरकारी कार्यालय (फौजी र गैर–फौजी) र बहुराष्ट्रिय कम्पनीहरू । त्यसमध्ये सरकारी कार्यालयको सशस्त्र निकायअन्तर्गत रोल्पा जिल्लाको होलेरी, रुकुम जिल्लाको राडी र सिन्धुली जिल्लाको सिन्धुलीगढीस्थित प्रहरीचौकीहरूमा सशस्त्र आक्रमण गरियो । माओवादी पार्टीको तत्कालीन प्रारम्भिक सैन्यशक्ति ‘लडाकु दल’ को प्रमुख नेतृत्वमा ती आक्रमणहरू गरिएका थिए ।

प्रारम्भिक अनुभव र प्रविधिको न्यूनताका बाबजुद पहिलोपटक गरिएको प्रहरीचौकी हमलाका ति कार्वाहीहरु माओवादी लडाकुहरूका लागि त्यति सजिलो कार्य अवश्य थिएन । त्यसलाई सफल गर्न बलियो जनाधारक्षेत्र आवश्यक हुन्थ्यो । मनोबल र सापेक्षिक ज्ञानको केन्द्रीकरण आवश्यक हुन्थ्यो । त्यसका लागि आफ्नो मुख्य जनाधार क्षेत्रभित्र भरपर्दो जनशक्तिको केन्द्रीकरण गरेर यो आवश्यकताको परिपूर्ति गर्ने रणनीति माओवादी पार्टीले लियो ।

पश्चिममा रोल्पा, रुकुम, जाजरकोट र सल्यान, पूर्वमा सिन्धुली र काभ्रे तथा मध्यक्षेत्रको गोर्खा माओवादी पार्टीको त्यो बेलाका पहिलो पङ्क्तिका जनाधारका जिल्लाहरू थिए । स्वाभाविक रूपले फौजी आक्रमणका निशानाहरू तिनै मुख्य क्षेत्रभित्रकै रोल्पा, रुकुम र सिन्धुलीमा छनौट गरिए । पार्टीको तत्कालीन सङ्गठित फौजी शक्ति लडाकु दलको पश्चिम कमान्डअन्तर्गत शक्ति केन्द्रित गरेर रोल्पाको होलेरी र रुकुम जिल्लास्थित राडी प्रहरीचौकी तथा पूर्वी कमान्डको शक्ति केन्द्रित गरेर सिन्धुलीगढी प्रहरीचौकीमा आक्रमणको लक्ष्य निर्धारण गरियो ।
थालनीको दिनमा देशभरि हजारौँ अरू कार्बाहीसमेत सम्पन्न गरिए । काभ्रे र जाजरकोटमा स्थानीय सुद्खोरहरू दौलतविक्रम बिस्ट र दीपबहादुर सिंहमाथि उनीहरूको घरमा रहेका किसानको नाममा बनाएका जाली तमसुक च्यातेर कार्बाही भएको थियो । गोर्खामा साना किसान विकास बैङ्कमा आक्रमण गरियो । बैङ्कमा रहेका कागज–पत्र जलाएर जनतालाई सरकारी कृषि ऋणबाट मुक्तिको घोषणा गरियो । त्यसैअन्तर्गत भएको प्रहरीचौकी हमलाका कार्वाहीहरु मार्फत् पुरानो सत्तालाई माओवादी पार्टीले आफ्नो फौजी चुनौतीसमेत पेस ग¥यो । तीन प्रहरी चौकी हमलाका यिनै कार्बाहीहरू नै माओवादी जनयुद्धको ऐतिहासिक थालनीका फौजी हमलाहरू थिए ।

“राज्यसत्ताबाहेकका सबै कुरा भ्रम हो” भन्ने मालेमावादी प्रस्तावनालाई द¥हो आत्मसात गर्दै राज्यसत्तालाई बन्दुकको नालमा टिकेको हुन्छ र त्यसलाई पल्टाउन बन्दुक नै उठाउनुपर्छ । साथै, राज्यसत्ता प्राप्तिको सङ्घर्षमा “सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनि हुँदैन” जस्ता राज्यसत्ताको स्वरूप, त्यसको स्थायित्वको आधार एवम् त्यसलाई प्राप्तिको लागि श्रमजीवीवर्गले अपनाउनुपर्ने बाटोबारेमा स्पष्ट दिशा निर्देशका साथ २०५२ फागुन १ गते हाम्रो पार्टीले ऐतिहासिक विद्रोहको शङ्खघोष ग¥यो । इतिहासका निर्माता जनता नै हुन् भन्ने मूल प्रस्तावनामाथि विश्वासका साथ आम जनतामा भर पर्ने “सही राजनीतिक कार्यदिशाले सबथोक निर्धारण गर्दछ” भन्ने सैद्धान्तिक मान्यताका साथ सीमित साधनसहितका हतियारविहीन जनताका लडाकु दस्ताले नोकरशाहीयन्त्रको प्रतीकको रूपमा रोल्पाको होलेरी प्रहरीचौकी, रुकुमको राडी प्रहरीचौकी र सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकीमाथि एकसाथ सफल धावा बोल्यो ।” (२०५८ भदौमा सम्पन्न जनमुक्ति सेनाको प्रथम भेलाबाट पारित प्रतिवेदनबाट) ।

जनयुद्धको उद्घोषसहित माओवादी पार्टीको नेतृत्वमा सम्पन्न हजारौँ फौजी र गैर–फौजी कार्बाहीहरूअन्तर्गत ‘तीन चौकी हमला’ का ती कार्बाहीहरू नै सबैभन्दा अग्रपङ्क्तिमा रहेका छन् । यी कार्बाहीहरूले नेकपा माओवादीको राजनीतिक उद्देश्यलाई स्थापित गर्न ठुलो मद्दत गरे । माओवादी शक्तिलाई पुरानो सत्ता र शक्तिका विरुद्ध फौजि–राजनैतिक रूपमै समानान्तर सत्ता (जनताको जनवादी गणतन्त्र) को स्तरमा खडा गरिदिए ।

यी तीनवटै कार्बाहीहरूमा माओवादी शक्तिद्वारा घरेलु हतियार, मूलतः भरुवा बन्दुक प्रयोग गरिएको थियो । त्यसबाहेक सुतली बम, खुकुरी र लट्ठीसमेत प्रयोग गरिएका थिए । रोल्पाको होलेरीमा भने एक थान थ्रीनटथ्री राइफल प्रयोग गरिएको थियो । माओवादी पंक्ति भित्र ‘होल टाईमर राइफल’ का नामले चिनिने त्यो राइफल माओवादी पार्टीसँग रहेको तत्कालीन एक मात्र आधुनिक हतियार थियो ।
कार्वाहीमा सिन्धुलीगढी र राडी प्रहरीचौकी पूर्ण रूपले कब्जा गरिए । तर, होलेरी भने कब्जा हुन सकेन । राडी र सिन्धुलीगढीमा प्रहरीसँग हतियार थिएन । उता होलेरीमा प्रहरीले आफूसँगको हतियार थ्री नट थ्री राइफलद्वारा प्रतिवाद ग¥यो । एकातिर, प्रहरीसँगको प्रविधि माओवादी शक्तिभन्दा धेरै हुनु र अर्कोतिर माओवादी शक्ति लडाइँको कलामा प्रहरीभन्दा निकै सामान्यस्तरमा हुनुको परिणाम होलेरी कार्बाही सफल हुन सकेन । तर, चौकी भवनको तल्लो तला भने माओवादी लडाकुहरूद्वारा कब्जा गरियो । त्यसबाट उनीहरूले केही विष्फोटक पदार्थ र लजिस्टिक हात पारे ।

जनयुद्धका यी तीनवटै कार्बाहीको समान विशेषता के रह्यो भने कुनै पनि स्थानमा माओवादी लडाकु र प्रहरी दुबैतर्फ मानवीय क्षति भएन । त्यसो नहुनुमा पहिलो, माओवादी पार्टीको ‘सकभर मानवीय क्षति नगर्ने’ भन्ने नीति र सोअनुरूप तयार गरिएको योजनाको परिणाम थियो भने दोस्रो, दुबैपक्ष युद्धकलामा खारिएका थिएनन् । होलेरी प्रहरीचौकी कब्जा नभए पनि राडी र सिन्धुलीगढीका प्रहरीहरूलाई कब्जा गरिसकेपछि माओवादी लडाकुहरूले उनीहरूलाई पार्टीको नीतिअनुरूप सम्झाई बुझाई छोडिदिएका थिए । यसवारे सिन्धुलीगढीको लडाइँमा सहभागी सदस्य तथा पछि जनमुक्ति सेनाको डिभिजन सहायक कमान्डर बनेका हरिबहादुर श्रेष्ठ ‘प्रमोद’ आफ्नो पुस्तक ‘आँधीमय ती दिन’ मा लेख्छन्, “चौकीलाई पूर्ण रूपमा घेरा हालिसकेपछि प्रहरीहरूलाई आत्मसमर्पण गर्ने कासन गर्दै सबभन्दा पहिले सुतली बम र सीसी बम पड्कायौँ । चौकीमा हवल्दारको कमान्डमा ६ जना सिपाही बस्दा रहेछन् । हामीले चौकी कब्जामा लिँदा तीन जना मात्र पुलिसहरू त्यहाँ रहेका थिए । बाँकी तीन जना त्यही दिनमा सिन्धुली सदरमुकाम गएका रहेछन् । चौकीमा खासै युद्ध–सामग्रीहरू रहेनछन् ।”

होलेरी आक्रमणबारे कार्बाहीका सहायक कमान्डर तथा पछि जनमुक्ति सेनाका प्रमुख बनेका नन्दकिशोर पुन ‘पासाङ’ आफ्नो पुस्तक ‘इतिहासका रक्तिम पाइला’ मा लेख्छन्, “कार्बाहीको निम्ति टिम दुई भागमा बाँडिएको थियो । त्यसमध्ये एउटा टिम अनन्तको नेतृत्व रहेको थियो । सो टिमले पुलिसहरू सुत्ने उपल्लो तलामा सुटुक्कै साङ्लो लगाई भित्र थुन्ने योजना बनाइएको थियो । र, मेरो कमान्डमा रहेको अर्को टिमले भान्सामा भात खाँदै गरेका पुलिसहरूलाई आक्रमण गर्ने योजना बनाइएको थियो तर पुलिसहरू सबेरै खाना खाई उपल्लो तलामा सुत्न गइसकेकाले भान्सा कोठामै हमला गर्ने हाम्रो योजना मेल खाएन । तर पनि, भान्सा कोठामा भएका जिलेटिन र लजिस्टिकहरू कब्जा गर्दै आगो लगाइयो र फायरिङ सुरु गरियो । हतियार बुझाएर आत्मसमर्पण गर्न कासन गरियो । उनीहरू ‘बचाऊ … बचाऊ’ भन्दै रुन कराउन थाले । यता बैङ्कतिर हल्ला–खल्ला हुँदै थियो, त्यतै फर्काएर बन्दुक पड्काएपछि हल्ला शान्त भयो । सुतलीबम हान्ने, आगो लगाउने, बन्दुक पड्काउने काम रातभरि जसो भइरह्यो तर पुलिसहरूलाई बाहिर निकाल्न नसकेपछि त्यहाँ रहेको लजिस्टिक र जिलेटिन बोकेर हामी रिट्रिट भयौँ ।”

युद्धकलाको स्तरका दृष्टिले यी कार्बाहीहरू अति सामान्य थिए । त्यसैगरी प्रविधिको प्रयोगका दृष्टिले समेत कार्बाहीहरू पूर्णतः घरेलु प्रविधिमा निर्भर थिए । तर, यी कार्बाहीहरू नै माओवादी जनयुद्धको राजनीतिक उद्देश्य स्थापित गर्ने ऐतिहासिक हमलाहरुमा दर्ज हुन पुगे ।

-उदय बहादुर चलाउने ‘दीपक’

शनि, फाल्गुन ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य फिचर न्युज समाचार

Like us On Facebook

Follow Us On Twitter