तीन वटा प्रदेशमा अाज सरकार गठन हुँदै, ७ नम्बरले मुख्यमन्त्री पाउँदै


काठमाडौं, फागुन ३ ।प्रदेश १, २ र ५  नम्बर प्रदेशमा अाज सानो आकारको मन्त्रिमण्डल गठन हुँदै छ । त्यसअघि तीनै प्रदेशका मुख्यमन्त्रीले आज सम्बन्धित प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको सपथ लिँदैछन्  । सपथ लगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी उनीहरुको छ ।

सरकार गठनसँगै आज नै मन्त्रिपरिषद्को बैठक बस्ने र आजै पदबहाली गर्ने तयारी छ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट सपथ लिदै हुनुहुन्छ ।

प्रदेश नं २ मा पनि आजै अपरान्ह मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रदेश नं. ५ मा हिजो नियुक्त हुनु भएका मुख्यमन्त्री शंकर पोखरेलले पनि अपरान्ह ३ बजे प्रदेश प्रमुख उमाकान्त झाबाट सपथ लिंदै हुनुहुन्छ । प्रदेश नं ७ मा भने आज मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री पदका लागि माओवादी केन्द्र संसदीय दलका नेता त्रिलोचन भट्टले वाम गठबन्धनका ३७ जना प्रदेशसभा सदस्यहरूको दस्तखतसहितको पत्र हिजै प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेस गरिसक्नुभएको छ । मुख्यमन्त्रीको सपथ भने शनिबारका लागि तोकिएको छ ।

सोही दिन माओवादी केन्द्र र एमाले दुवै दलबाट कम्तीमा ३ जना सरकारमा पठाउने आन्तरिक तयारीमा छन्।

प्रदेश ४ मा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने भोली मात्रै सपथ ग्रहण गर्ने कार्यक्रम छ । प्रदेश ६ मा भने माओवादी केन्द्रको सहमतिविपरीत एमालेले आलोपालोको सर्त राखेपछि मुख्यमन्त्री नियुक्ति हुन सकेको छैन । यसैबीच प्रदेश ४ को सभामुख चयन आज हुने भएको छ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकले माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य नेत्रनाथ अधिकारीलाई सभामुखमा चयन गर्नेछ । सभामुखमा अधिकारीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ ।

बिहि, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter