आन्दोलनकारी र प्रहरीबीच झडप ,५ प्रहरीसहित दर्जनौं घाईते


काठमाण्डौ, ५ माघ ।
प्रादेशिक राजधानीको माग राख्दै धनकुटा , दाङ र डोटीमा आज पनि आन्दोलन जारी छ ।

प्रदेश राजधानिको माग गर्दै डोटीमा जारी आन्दोलनमा आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा एक दर्जन आन्दोलनकारी र ५ जना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेहरुमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिकामा मेयर मञ्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रिय सदस्य जर्नादन जोशी रहेका छन् भने शुसिल घर्ती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझा सहितका एक दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।

त्यस्तै, झडपमा प्रहरीतर्फका इन्सपेक्टरसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसुधन लुईटेलले जानकारी दिनुभयो । दुई जना घाइते प्रहरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ र घाइते आन्दोलनकारीको यकिन विवरण आइनसकेको उनले जानकारी दिनुभयो ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरी माथी ढुंगामुडा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ दर्जन बढी अश्रुज्ञास प्रहार गरेको छ । डोटीको स्थिति तनाबग्रस्त बनेको छ । स्थितिलाई सामान्यीकरण गर्न अश्रुग्यास प्रहार गरेको प्रहरीको भनाइ छ ।

यस्तै, समाचार रिर्पो्टिङका लागि खटिएका पत्रकारमाथि पनि प्रहरीले कुटपिट गरेको छ । रेडियो डोटीका स्टेशन म्यानेजर गणेश मौनी प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर घाइते भएका छन् । त्यसैगरी, कारोबार दैनिकका डोटी समाचारदाता तथा बिम्ब नेपाली साप्ताहिकका सह– सम्पादक भूमिराज जोशी माथी प्रहरीले कुटपिट गरेको छ ।

आन्दोलनकारीले डोटीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कालो झण्डा गाडेका छन् भने सरकारी कार्यालयका बोर्ड फालेका छन् । जिल्ला बन, जिल्ला पशु सेवा, निर्वाचन कार्यालय, जिल्ला नापीको नवनिर्मित भबनमा तोडफोडम भएको छ ।

उता , दाङमा आजदेखि राजमार्ग केन्द्रित आन्दोलन थालिएको छ । प्रदेश मुकाम तोक्दा सरकारले अन्याय गरेको भन्दै उद्योग बाणिज्य संघको संयोजकत्वमा गठित प्रादेशिक राजधानी सरोकार समितिले आन्दोलन चर्काउने निर्णय गरेको हो ।

तीन दिनदेखि जारी आन्दोलनलाई थप सशक्त पार्न राजमार्ग केन्द्रित आन्दोलन गरेको जनाएका छन् । पूर्व भालुबाङदेखि पश्चिम हापुरेसम्म संघर्षका कार्यक्रम गरिने जनाएका छन् ।

घोराही, तुलसीपुर, लमही, भालुबाङ, गढवा, नारायणपुर, विजौरी, हापुरेलगायत स्थानलाई केन्द्र बनाइएको छ । प्रदेशस्तरका सबै कार्यालय दाङमा हुँदाहुँदै सरकारले बुटवलमा अस्थायी मुकाम तोकेको भन्दै दाङबासी आन्दोलित भएका हुन् ।

प्रदेश प्रहरी कार्यालय, उच्च अदालत, मूख्य निर्वाचन कार्यालय दाङमै रहेको छ ।

यस्तै प्रदेश नं १ को राजधानी माग गदै धनकुटामा पनि आन्दोलन जारी छ । सरकारले विराटनगरलाई प्रदेश राजधानी तोकेपछि झन चर्किएको आन्दोलन हिंसात्मक बन्दा धनकुटामा स्थानीय प्रशासनले कर्फ्यु समेत लगाएको थियो ।

शुक्र, माघ ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter