क्यान्सर रोग बहुआयामीक समस्या भएको प्रधानमन्त्रीको धारणा , क्यान्सर रोगीको तथ्यांक संकलन कार्य सुरु


काठमाडौं, माघ ४ । काठमाडौंमा आजवाट अन्तर्रा्ष्ट्रिय क्यान्सर सम्वन्धी सम्मेलन सुरु भएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जना क्यान्सर सम्वन्धी विशेषज्ञहरुको सहभागीता रहेको छ ।

नेपाल अर्वुदरोग निवारण समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विकासशील राष्ट्रहरुमा क्यान्सरको समस्या प्रमुख चुनौतीको विषय बन्दै गइरहेको वताउनु भयो ।

उहाँले क्यान्सर रोग कुनै एक देशको मात्र समस्या नभएर बहुआयामीक समस्या भएकाले यसको निवारणका लागी सबै राष्ट्रहरुको साझा धारणा र प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

स्वास्थ्यमन्त्री दिपक वोहराले पछिल्लो समय क्यान्सर रोगको उपचार र यसको नियन्त्रणका लागि सरकार र नीजि क्षेत्रबाट उल्लेखनीय प्रगती भईरहेको जानकारी दिनुभयो ।

बोहराले कृषि प्रणालीमा प्रयोग हुने विषादीका कारण जीवन र जमिन दुबैलाई असर गरिरहेकोले विषादी प्रयोगमा रोक लगाउन सरकारले थप कार्यक्रमहरु अघि सारेको जानकारी गराउनु भयो ।

कार्यक्रमका सहभागी क्यान्सर सम्वन्धी विषेशज्ञहरुले नसर्ने रोगहरुमध्ये क्यान्सर रोग चुनौतीको रुपमा देखापरेको बताउदै खानपान र जिवनशैलीमा ध्यान नदिने हो भने आगामी सन २०३० सम्म क्यान्सरले भयाभह रुप लिन सक्ने चेतावनी दिएका छन् ।

उनीहरुले स्वाथ्यसम्न्धी नीति निर्माणमा सुधार आएपनि यसलाई व्यवहारिका रुपमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

यसैबीच , सरकारले क्यान्सर रोगीको संख्या र उनीहरुको स्थितिबारे आजदेखि तथ्यांक संकलन कार्य सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पहिलो पटक ‘जनसंख्यामा आधारित क्यान्सर दर्ता प्रणालीको आजदेखि सुरु गरेको हो ।

सरकारका कुनै पनि निकायसँग अहिलेसम्म क्यान्सरका कति बिरामी छन् भन्ने एकिन तथ्यांक छैन । पहिलो चरणमा उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट तथ्यांक संकलन सुरु गर्ने जनाएको छ ।

यसपछि सातवटै प्रदेशका ७७ जिल्लाका प्रत्येक स्थानीय निकायबाट सूचना संकलन गरिने परिषदका अध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले जानकारी दिनुभयो । क्यान्सरका बिरामीमध्ये कति पुरुष, कति महिला, कुन उमेर समूहका हुन् भन्ने जानकारी लिइने छ ।

यस अतिरिक्त कुन प्रकारको क्यान्सर रोग हो, सरकारी सुविधा लिए÷नलिएको, रोगको परीक्षण (उपचार) स्वदेश अथवा विदेशका कुन स्वास्थ्य संस्थामा गराएको लगायतका विषयमा समेत सूचना संकलन गरिनेछ ।

क्यान्सर रोग पत्ता लागेर पनि विविध कारण घरमै रहेका बिरामीको संख्यासमेत यकिन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सेवा लिन जाने बिरामीमध्ये क्यान्सरका बिरामीको आधिकारिक रुपमा सन् २००३ देखि बिपी कोइराला क्यान्सर अस्पतालबाट सूचना संकलन गर्न थालेको थियो ।

मन्त्रालयअन्तर्गतको व्यवस्थापन महाशाखाले अहिले विभिन्न ५० प्रकारका विधि प्रयोग गरी २३४ प्रकारका रोगका बारेमा अभिलेख राख्दै आएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रक्षेपणअनुसार नेपालमा झण्डै २९ हजार ८९८ विभिन्न प्रकारका क्यान्सरका रोगी छन् ।

पछिल्लो समयमा नेपालमा खासगरी महिलाको पाठेघर र स्तन, रगत, हड्डी जस्ता अंगको क्यान्सर रोगी बढ्दै गएको बताइन्छ । सरकारले मुटु, मिर्गाैला, क्यान्सरलगायतका रोगका उपचार गर्न एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने यस्ता बिरामीका लागि मासिक पाँच हजार थप दिने तयारी समेत थालेको छ ।

बिहि, माघ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया