एमाले र माओवादीले एकतापछि पार्टीकाे नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने !


काठमाडौं, पुस १८ । नेकपा एमाले र माओवादी केन्द्रवीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।

पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् ।

एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधिसहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ ।

हाल मुलुकमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था नभएको र जनवादी क्रान्ति चरण पुरा भएकाले अब सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा’ हुनुपर्ने भुसालको नयाँ प्रस्ताव छ । यसमा नारायणकाजी श्रेष्ठलगायतका माओवादी नेताले पनि समर्थन जनाउन थालिसकेका छन् । नागरिक दैनिक

मङ्ल, पुस १८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया