सम्बन्धविच्छेदका चुनौती


– अजवी पौड्याल

रु नाता सम्बन्ध र वैवाहिक सम्बन्धमा एउटा फरक छ । वैवाहिक सम्बन्धलाई ‘बन्धन’ मान्ने धारणा अझै जिउँदै छ र यही सम्बन्ध मात्र पारपाचुके अर्थात् विच्छेद हुनसक्छ । हिजोआज सम्बन्धविच्छेदका घटना बढिरहेको बारे सञ्चार माध्यममा खबर बारम्बार आउने गर्छन्। एउटा अनौपचारिक तथ्यांक अनुसार काठमाडौं जिल्ला अदालतमा मात्र सम्बन्धविच्छेदका मुद्दा मासिक चार सयदेखि पाँच सयवटा दायर हुन्छन्। जुट्नुभन्दा फुट्नु र जोडिनुभन्दा छुट्टिनु पक्कै पनि दु:खदायी कुरा हो। परिवार टुट्नु त झनै पीडादायी कुरा हो।

सम्बन्धविच्छेद शब्दै सुन्दा पनि प्रिय लाग्दैन । अप्रिय नै भए पनि सम्बन्धविच्छेदका घटना बढेको चाहिँ सत्य हो। अदालतमा दायर हुने लगभग शतप्रतिशत सम्बन्धविच्छेदका मुद्दा महिलाले दायर गर्छन्। पुरुषले सम्बन्धविच्छेदको मुद्दा दायर गर्न केही झन्झटिलो पनि छ । तर मुख्य कारण त्यो होइन ।

नारी–पुरुष सम्बन्धचाहिँ परिवर्तनका लहरबाट अछुतो हुने कुरै हुँदैन । पछिल्लो समय नेपालका नारीको आत्मविश्वास बढेको छ ।

आत्मनिर्भर हुने महिलाको संख्या पनि उल्लेख्य वृद्धि भएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको सहभागिता पनि ह्वात्तै बढेको छ । सारांशमा भन्दा महिला चुलोचौकोबाट निस्केर सामाजिक भूमिकामा देखापर्न थालेका छन्। बितेका तीन दशकमा देशमा धेर रै ाजनीतिक परिवर्तन भए ।

राजनीतिक आन्दोलनको एउटा महत्त्वपूर्ण अंगको रूपमा महिला आन्दोलन पनि साथसाथै रह्यो। माओवादी ‘जनयुद्ध’मा ठूलो संख्यामा छापामार महिला देखापरे। त्यसपछि नेपाली सेना र प्रहरीमा पनि उल्लेख्य संख्यामा बन्दुक बोकेका महिला देखापर्न थाले। नेपालको नारी मनोविज्ञानमा यसको महत्त्वपूर्ण प्रभाव परेको छ । दोस्रो जनआन्दोलनपछि आएको समावेशिताको सिद्धान्तले धेरै महिलालाई राजनीतिमा आउने मार्ग खुल्ला गर्‍यो। त्यसैगरी आरक्षणका कारण कर्मचारीतन्त्र, सेना, प्रहरी आदि राज्यका अंगमा पनि महिला प्रवेश गर्न थाले। स्थानीय तहमा पनि अहिले प्रशस्तै महिला निर्वाचित भएका छन्। घरेलु घेराबाट महिलाहरू समाजमा भूमिका खोज्न पुगे भन्ने कुराको यो बलियो प्रमाण हो। यतिले नै लैंगिक समानताको लडाइँ सकिएको छैन, तर नारीको दिमागमा रहेको पितृसत्ता चाहिँ अब कमजोर हुँदै गयो। आत्मनिर्भर भैसकेका वा परिवर्तनको चेतनाले सल्किएका महिलालाई पुरानै किसिमको वैवाहिक सम्बन्धको डोरीले बाँधेर राख्न सकिँदैन । यो तथ्यलाई लोग्ने भैसकेका वा हुनचाहने पुरुषले अझै बुझेका छैनन्।

उनीहरू पुरानै विचार र परम्परामा अल्झिएका छन्। परिवर्तनलाई आत्मसात गर्न नसकेपछि विद्रोह हुनु स्वाभाविक छ । सम्बन्धविच्छेद त्यसैको परिणाम हो। समाजशास्त्रीहरूको भनाइमा बढ्दो सहरीकरणले पनि वैवाहिक सम्बन्धमा नयाँ आयाम ल्याएको छ । सहरीकरणसँगै सूचना प्रविधिको बढ्दो प्रयोगले मानिसको जीवनशैली र चेतनाको स्तर फरक ठाउँमा पुगेको छ । महिलाहरू आफ्नो हक–अधिकारका बारेमा सुसूचित हुनथालेका छन्। त्यसैगरी आत्मसम्मानको खोजी गर्ने महिला ठूलो संख्यामा देखापरेका छन्। आत्मनिर्भरताले महिलालाई स्वाभिमानी बनाएको तथ्य एकातिर छ, अर्कोतिर रेमिटेन्सका कारण पनि महिलाको हातमा आर्थिक कारोबार आएको छ । वैदेशिक रोजगारीमा महिला आफैं पनि पुगेका छन्। यी सब कारणले महिलाले सोच्ने तरिका बदलियो, तर पुरुषले पुरानै तरिकाले सोचिरहेको छ भने वैवाहिक सम्बन्ध सुमधुर हुने सम्भावना हँुदैन ।

उत्पीडित लिंग भएकाले महिला नै सम्बन्धविच्छेदको फिराद गर्ने ठाउँमा हुनु स्वाभाविक छ । जो बन्धनमा छ, मुक्तिको खोजी उसैले गर्छ । परम्परागत धारणामा पति–पत्नीको सम्बन्ध ‘पाल्ने’ र ‘पालिने’ बीचको सम्बन्ध हो। आजसम्म पनि बिहेबारीको कुरो चल्दा छोरीलाई ‘दिने’ वस्तुकै रूपमा हेरिन्छ । पति–पत्नीको सम्बन्ध एउटा करार सम्बन्ध हो, त्यसैले यो सम्बन्धमा एक– अर्काप्रति सम्मान छैन भने करार भङ्ग हुन्छ । हिजो पत्नीमाथि शासन गरेको भरमा यो सम्बन्ध टिक्थ्यो। आज पनि बहुसंख्यक पत्नीको हालत त्यही छ ।

सम्बन्धविच्छेद जति बढे पनि यो संख्या उत्पीडित महिलाको जनसंख्यामा ठूलो होइन । त्यसैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि एउटी महिलाले धेरै चुनौती सामना गर्नुपर्ने स्थिति छ । नेतृत्व र हैसियतमा पुगेका महिलाको हकमा केही सजिलो पनि होला । तर सर्वसाधारण महिलाले स्वतन्त्र जीवन बाँच्ने निर्णय गरिनसक्दै चुनौतीको पहाड तेर्सिन्छ । ‘मारे पाप पाले पुण्य’ भनेर छोरी जिम्मा लगाउने माइतीको सहयोग कतिको मिल्छ भन्ने कुरा मुख्य हुन्छ । यातनाग्रस्त सम्बन्ध रहिरहनुभन्दा छोरीले सम्बन्धविच्छेद गरेर नयाँ जीवनको सुरुवात गरोस् भन्ने चेतना माइतीमा पलाउनु जरुरी छ । पैतृक सम्पत्तिमा समान हक नभएको हुनाले छोरीहरू आसको जिन्दगी पर्खिन बाध्य छन्। सम्बन्धविच्छेद गर्ने निर्णय गर्नबाट धेरैलाई यही कारणले रोक्छ । सम्बन्धविच्छेदपछि लोग्नेको सम्पत्तिमा हक लाग्ने कानुनी व्यवस्था छ । तर स्वतन्त्र जीवन रोज्ने धेरैजसो महिलाले सजिलै त्यो सम्पत्ति पनि पाउँदैनन्। अनेक कानुनी झन्झट त छँदैछ, वकिलको खर्च बेहोर्न नसक्ने स्थिति पनि छ । कानुनी लडाइँ धेरै लामो समय चल्दा आफ्नो व्यक्तित्व विकास गर्ने समय बर्बाद हुने अवस्था छ । धेरै महिलालाई यो चक्रले निराश पनि बनाइदिन्छ ।

सम्बन्धविच्छेदको निर्णय आत्मसम्मानका लागिमात्र नभएर स्वतन्त्रतापूर्वक प्रगतिको पाइला चाल्न पनि गरिन्छ । वैवाहिक सम्बन्धले जब पीडामात्र दिन्छ, व्यक्तित्व विकास गर्न दिँदैन, महिलाका लागि सम्बन्धविच्छेद एक अवसरका रूपमा आउँछ । आफ्नो व्यक्तित्व विकास गर्ने, स्वतन्त्र पहिचान बनाउने र सामाजिक भूमिका खोज्ने अधिकार महिलालाई पनि पुरुषलाई जत्ति नै हुन्छ । त्यसैले सम्बन्धविच्छेदले पेस गर्ने चुनौतीलाई महिलाले अवसरमा बदल्न सक्नुपर्छ । सम्बन्धविच्छेद आफैंमा एक समस्या त हो, तर सम्बन्ध नै समस्या हँुदा सम्बन्धविच्छेद नै समाधान पनि हुन्छ । परम्परागत वैवाहिक सम्बन्धलाई नयाँ परिभाषा दिने अवसर सम्बन्धविच्छेदले प्रदान गर्न सक्छ । समग्र नारीको आत्मसम्मान उँचो पार्न पनि सचेत नारीले अन्याय सहेर बस्न अस्वीकार गर्नुपर्छ । अन्तरजातीय, अन्तरधार्मिक लगायतका विवाहले पनि वैवाहिक सम्बन्धमा परिवर्तन ल्याइरहेका छन्। पुरानो संस्कार भत्किने क्रममा छ । वैवाहिक सम्बन्धमा हुर्काउने नयाँ संस्कार निर्माण गर्न स्वतन्त्र महिलाले महत्त्वपूर्ण योगदान गर्न सक्छन्। पुरुषप्रधान समाजका मान्यता भत्काउन र पुरुषको पुरानो मनोविज्ञान बदल्न पनि सम्बन्धविच्छेदको बढ्दो दरले काम गरिरहेको छ । पुरुषले बाहिरको काम र महिलाले घरको काम भन्ने परम्परागत कार्यविभाजनलाई बदलेर दुवैले एकअर्काको काममा सघाउने, योग्यता बढाउन सहयोग गर्ने समाज निर्माण गर्नु आवश्यक छ । त्यस्तो चेतना नाराले मात्र ल्याउँदैन । सम्बन्धविच्छेद गरेर वैवाहिक सम्बन्धको नयाँ परिभाषा खोज्ने महिलाले अरू कैयौं घरभित्रको नारी विरोधी व्यवहार बदल्न भूमिका खेलिरहेका हुन्छन्।

सम्बन्धविच्छेदले अप्ठ्यारो परिस्थिति निर्माण गर्न सक्छ । तर स्वतन्त्रताको कुन लडाइँ सरल छ, मान्छेको इतिहासमा ? राजनीतिक र सामाजिक क्षेत्रमा नारी आन्दोलनले नयाँ अवसरहरू सिर्जना गरिरहेका छन्। यस्तो माहोलमा समानताको संस्कृति निर्माण गर्न खराब सम्बन्धलाई भंग गर्नु आफैंमा एक रचनात्मक काम होइन र ? पुराना संस्कृति र चेतना बोकेर न पुरुषले परिवार थेग्न सक्छ, न थोत्रिसकेको समाज व्यवस्था नै।

सम्बन्धविच्छेदको चुनौती सामना गर्न अब पुरुषप्रधान समाजका बन्द झ्यालढोका खुल्नैपर्छ । -कान्तिपुर बाट

[email protected]

 

शुक्र, मंसिर २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया