बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको आग्रह, कारबाहीको चेतावनी ,कहाँ कस्का बिरुद्ध को उठ्यो वागी ? (सूचीसहित)


काठमाडौँ, ६ कात्तिक ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ ।

बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार उम्मेदवारी दर्ता गराउने क्रममा जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङलगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् ।

दुवै पार्टीले मंगलबारसम्म आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्ताले फिर्ता लिने विश्वाससमेत लिएका छन् । जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवार शक्ति बस्नेतविरुद्ध एमालेका नेता गोविन्दविक्रम शाहले उम्मेदवारी दिनुभएको छ ।

यस्तै रामेछापमा माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध लक्ष्मी गुरुङ, प्रदेश सभामा एमालेका शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेल र कैलाश ढुंगेलविरुद्ध माओवादीका मैनकुमार मोक्तानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै हुम्लामा माओवादी केन्द्रका उम्मेदवार छिमी लामाविरुद्ध छक्कबहादुर लामा र सोनामग्याजेन लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुगुमा गठबन्धनको उम्मेदवारीविरुद्ध माओवादी केन्द्रका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै रुकुम पूर्वमा पनि वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाम मगर र प्रदेश सभाका सदस्यका लागि निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तेजबहादुर ओलीविरुद्ध पूर्णिराज घर्तीको उम्मेदवारी परेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउनुभएका सबैलाई मंगलबारसम्म फिर्ता लिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही साथीहरुलाई चित्त नबुझेको अथवा तलमाथि भएको भन्ने परेको हुन सक्छ, उहाँहरुलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने विषयमा पार्टीले सोचेको छ । पार्टीको सिपाही भएका नाताले उहाँहरुले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्ने विश्वास लिएका छौँ ।”

पार्टी एकता र वामपन्थी दलहरुबीचको तालमेल गर्दा पार्टीका तर्फबाट दाबेदार रहेका तर उम्मेदवार हुन नपाएकालाई धैर्य र संयमित हुन एमालेले आग्रह गरेको छ । एमालेले आगामी दिनमा त्यस्ता नेता तथा कार्यकर्तालाई प्राथमिकतामा राखेर निर्णय गर्नेसमेत बताएको छ ।

केही दिन पहिलेको स्थायी समितिको बैठकले पार्टीको आधिकारिक लाइनविपरीत नजान नेता तथा कार्यकर्तालाई आग्रह गरिसकेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले केही जिल्लामा समस्या रहे पनि मंगलबारसम्म एमालेका तर्फबाट बागी उम्मेदवारी दिएका सबैको फिर्ता हुने जानकारी दिनुभयो । उहाँले बझाङको समस्या समाधान भएको, बाग्लुङमा मिलाउने क्रम जारी रहेको र दोलखामा भने एमाले नेता लालकुमार केसीले नेकपा (माले)का तर्फबाट उम्मेदवारी दिएकाले फिर्ता गराउन केही गाह्रो भएको बताउनुभयो ।

नेता श्रेष्ठले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरिएको स्थानमा माओवादी केन्द्रका तर्फबाट दर्ता भएका बागी उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।

सोम, कार्तिक ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया