क्याम्ब्रीयन गस्ती अभ्यास २०१७ मा नेपाली सेनालाई स्वर्ण पदक


काठमाडौँ, ५ कात्तिक।

नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा आज सम्पन्न क्याम्ब्रीयन गस्ती अभ्यासमा स्वर्ण पदक प्राप्त गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त अभ्यास असोज २७ देखि आजसम्म सञ्चालन भएको थियो ।

उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन हुने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षतालाई मूल्यांकन गरिने नेपाली सेनाले जनाएको छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री बोकेर ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ ।

सो क्रममा सहभागी टोलीकोे लडाईंको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कताको परीक्षण हुने सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त अभ्यासमा नेपालसहित २८ देशका १३९ सैन्य टोलीको सहभागिता रहेको
थियो । नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो ।

प्रतिस्पर्धात्मक उक्त अभ्यासमा भाग लिने अन्य राष्ट्रका करिब ३३ प्रतिशत सहभागीले सो अभ्यास पूरा गर्न नसकेको नेपाली सेनाले जनाएको छ ।

व्यावसायिक, समर्पित, साहसी र संयमित फौजले मात्र पूरा गर्नसक्ने अभ्यासमा अब्बल प्रमाणित गर्दै स्वर्ण पदक जित्न सफल हुनुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठा थप उच्च भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आइत, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया