विश्व स्वास्थ्य संगठनले मुगाबेको नियुक्तिबारे पुनर्विचार गर्ने


एजेन्सी, कात्तिक ५ । चरम मानवअधिकार उल्लंघनको आरोप लागेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सद्भावना दूत नियुक्त गर्ने निर्णयको पुनर्विचार गरिने भएको छ ।

डब्लूएचओले सद्भावना दूत नियुक्त गर्ने निर्णय गरलगत्तै मुगाबेको सर्वत्र आलोचना भएपछि डब्लूएचओका प्रमुख डा. टेड्रोस आधानोम घेब्रेयेसुले निर्णयमा पुनर्विचार गर्ने बताएका छन् ।

सार्वजनिक स्वास्थ्यप्रति मुगाबेको प्रतिवद्धताको प्रशंसा गर्दै डब्लूएचओ प्रमुख घेब्रेयेसुले सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेका थिए । तर आलोचकहरुले भने ३० वर्षे शासनमा मुगाबेले गरेका अत्याचारका अघिल्तिर स्वास्थ्य क्षेत्रमा गरेको सुधारको कुनै अर्थ नरहने भन्दै आलोचना गरेका छन् ।

सधैं विदेशका महँगा अस्पतालमा आफ्नो उपचार गर्ने ९३ वर्षीय राष्ट्रपति मुगाबेले कसरी स्वास्थ्य क्षेत्र सुधारमा प्रतिवद्धता जनाए भन्दै आलोचकहरुले खरो टिप्पणी गरेका छन् ।

बेलायतले त मुगाबेले गरेको मानवअधिकार उल्लंघनलाई ख्याल नै नगरी सद्भावना दूत नियुक्त गर्ने डब्लूएचओको निर्णयले उसका राम्रा कामहरुलाई नै छायाँमा पारेको प्रतिक्रिया दिएको छ । अमेरिका, क्यानडालगायतका देशले पनि यस निर्णयको आलोचना गरेका छन् ।

टेड्रोस डब्लूएचओको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् ।

 

आइत, कार्तिक ५, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया