डा. केसीद्वारा पुन अनशन सुरु , प्रधानमन्त्रीसहित शीर्ष नेताहरु लुटतन्त्रमा लागेको आरोप

काठमाडौं ,आश्विन ९, ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी १२ औं पटक आमरण अनशनमा बस्नु भएको छ ।

सरकारले माथेमा प्रतिवेदनको प्रतिकुल हुने गरी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको भन्दै डा. केसीले आजबाट पुनः अनशन सुरु गर्नुभएको हो ।

राजधानीको महाराजगञ्जस्थित त्रीवी शिक्षण अस्पतालमा अनशन बस्नु अघि आज पत्रकारहरुसँग कुरा गर्दै डा. केसीले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरु नै लुटतन्त्रमा लागेको आरोप लगाउनुभयो ।

दशैं पछि मात्र आगामी २० गतेबाट अनशन बस्ने घोषणा गरेपनि डा. केसीले ब्यवस्थापिका संसदबाट आजै चिकित्सा शिक्षा विधेयक पारितको तयारी गरेको भन्दै अनशनमा बस्न बाध्य भएको बताउनुभयो ।

मुलुकमा प्रजातन्त्र सक्ने चलखेल भईरहेको आरोप लगाउदै उहाँले माग पुरा नभएसम्म अनशन नतोड्ने बताउनुभयो । बिगतमा सरकारले माग सम्बोधनका लागि प्रतिबद्धता ब्यक्त गरेपनि बारम्बार झुक्याएकाले अब भने कागजी सहमतिमा अनशन नतोड्ने डा. केसीको भनाई थियो ।

साउन अन्तिम साता तराईका बिभिन्न जिल्लामा बाढीले निम्त्याएको विपदलाई कारण देखाउदै डा. केसीले ११ औं पटकको २३ दिन लामो अनशन गत साउन ३१ गते तोड्नु भएको थियो ।

सोम, अशोज ९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया