पहिरोका कारण देशभरका राजमार्ग अवरुद्ध : कहाँ कहाँ बन्द छ बाटो ? हेनर्सहोस्


काठमाडौ २९ साउन ।
लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि देशका अधिकांश राजमार्ग अवरुद्ध बनेका छन् । उपत्यका भित्रिने मुख्य नाका मुग्लिन–नारायणगढ सडकखण्ड हिजो दिउँसोबाट खुल्न सकेको छैन ।

पूर्वी जिल्ला जोड्ने विपी राजमार्गको खुरकोटखण्ड बाहेक देशभरका सबै राजमार्ग अवरुद्ध रहेको ट्राफिक प्रहरीले जनाएको छ । धादिङ हुँदै मुग्लिन जाने पृथ्वी राजमार्ग पहिरोका कारण ठप्प छ ।

नवलपरासीको दाउन्नेमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । बर्दघाट तर्फ दाउन्नेको एसमोडदेखि केही पूर्वतर्फ पक्की सडक २५ मिटर तह खसेको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भएपनि थुप्रै ठाउँमा पहिरो खसेको तथा पानी परिरहेकाले बाटो खुल्न अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरोले काठमाडौंको साँखु हुँदै सिन्धुपाल्चोक जोड्ने सडक पनि अबरुद्ध भएको छ । यस्तै हेटौंडा निस्कने वैकल्पिक बाटो सिस्नेरी–फाखेल सडकखण्ड पनि अबरुद्ध रहेको मध्यक्षेत्रिय ट्राफिक प्रहरीले जनाएको छ ।

मुग्लिनबाट पोखरा जाने बाटो खुलाउन भने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट मौवाखोला सडकखण्डमा सात ठाउँमा पहिरो खसेकाले तत्काल गाडी चलाउन नसकिने प्रहरीले जनाएको छ ।

पाल्पाको सिद्धाबाबामा पहिरो खसेपछि सिद्धार्थराजमार्ग पनि अवरुद्ध बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वी तराई भेगमा बाढीका कारण सवारी साधान सन्चालन गर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

यस्तै टेङग्रा खोलाले कर्भट भत्काउँदा धरान इटहरी सडकखण्ड अबरुद्ध भएको छ । पहिरोका कारण पहाडी जिल्लाका अधिकांश ग्रामीण सडकहरु पनि अस्त व्यस्त बनेका छन् ।

 

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया