अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाको आग्रह

काठमाडौ, २९ साउन ।
देशभरका नदीमा पानीको सतहले आज पनि खतराको तह पार गर्ने संभावना रहेका प्रभावित क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

आजपनि भारी वर्षा हुने भएकाले देशका विभिन्न नदीमा पानीको बाहब बढेर खतराको तह पार गर्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन शाखाले आग्रह गरेको हो ।

शाखाका अनुसार बबई नदीमा पानीको सतह अहिलेसम्म कै उच्च पुगेको छ । त्यहाँ पानीको सतह खतराको तह भन्दा धेरै माथि ९ दशमलव ९ मिटर पुगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बेलुकीसम्म नै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यस्तै पूर्वी राप्तीको रजैया र चितवनको माडीको रिउ खोलामा पानीको सतहले खतराको तह पार गरेको छ । रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बागमती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा लगायतका नदीमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।

शाखाका अनुसार पूर्वमा झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, जनकपुर, धनकुटाको मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढीखोला, रातु कमला लगायतका क्षेत्रमा भोली बिहानसम्म नै उच्च जोखिम छ ।

उता पश्चिममा कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने पश्चिम राप्ती, बबई लगायतका नदीमा भोली बिहानैसम्म उच्च जोखिम भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा शाखाले अनुरोध गरेको छ ।

आइत, साउन २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया