प्रचण्डसँग एकता गर्न बाबुराम सकारात्मक !


काठमाडौं , २८ साउन ।  नेताहरुले पार्टी परित्याग गर्न थालेपछि एक्लिदै गएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रस्ताव राखेका छन् ।

शल्यक्रियापछि आराम गरेर बसेका नेता भट्टराईलाई भेट्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो टोखास्थित भट्टराईले आराम गरेको निवासमा पुगेका थिए । दुई नेता वीच २ घण्टा लामो छलफलमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराएका थिए ।

भेटमा नेता भट्टराईले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका थिए । दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ ।

नयाँ शक्तिका नेताद्धय रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णय गरेका छन् भने देवेन्द्र पौडेलसहितका नेताहरुले पार्टीमा बिद्रोहको घोषणा गरेका छन् ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया