मुलुकका बिभिन्न स्थानमा बाढी पहिरोमा परी १८ जनाको मृत्यु

काठमाण्डौ , २८ साउन ।

केहि दिनदेखि परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोमा परी मुलुकका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ । अन्य केही घाईते भएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा गएको पहिरोमा परि ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा २७ वर्षीय दुर्गा खड्का, उनका छोरा १० वर्षीय अनिष र ८ वर्षीय मनिष तथा १५ वर्षीय छोरी शोभाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमलामाइ नगरपालिका ६ स्थित पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका खड्काको परिवारलाई पहिरोले पुरिएको हो । आज बिहान करिब २ बजे झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको प्रहरीले जनाएको छ ।

घट्नामासँगै सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घट्ना भएको हो ।

जिल्ला प्रहरी कार्यालयले भवन बनाउँदा माटो थुपारेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै पत्रकार महासंघ सिन्धुलीले यसअघि नै बारम्बार हटाउन अनुरोध गरेपनि बेवास्ता गर्दा घटना हुनपुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।

उता बाढीले बगाएर सुनसरी र मोरङमा ७ जनाको मृत्यु भएको छ ।
मोरङमा खोलाले बगाउँदा मिक्लाजुङ गाउँपालिका–२ रातमाटेका ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका–९ कुसुमेका ५६ वर्षीय मिनबहादुर थापाको मृत्यु भएको छ ।

खतिवडालाई घर फर्किने क्रममा बक्राहा नुनसरी खोला तर्ने क्रममा बगाएको हो भने थापालाई लोहन्द्रा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

यस्तै लेटाङ नगरपालिकामा पहिरोले घर पुर्दा स्थानीय गोपीमाया तामाङको मृत्यु भएको छ । परिवारका अन्य सदस्यको सकुशल उद्धार गरिएको छ ।

यसैगरी सुनसरीको ईटहरीमा बाढीले बगाउँदा इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।

यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाको बाढी पसेर गाउँ बस्ती जलमग्न भएपछि सयौं परिवार विस्थापित बनेका छन् । केही गाउँलेहरु सम्पर्क्बिहीन बनेको प्रहरीले जनाएको छ ।

उता बाराको सिम्रौनगढमा निरन्तरको बर्षाले घर भत्काउँदा कचोर्वाकी ४५ बर्षीया गहनी देवी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल बर्षाले जमुनी, तियर, थलही, दुधौरा, बंगरी, पसाहा, अडुवा, लालबकैया लगायतका खहरे खोलाबाट बाढी पसेर जिल्लाको अधिकांस ठाउँ डुबानमा परेको हाम्रा सहकर्मीले जनाएका छन् ।

यस्तै पाल्पाको दोभान २ सिद्धबाबा सडकखण्डमा अविरल वर्षासंगै खसेको पहिरोले मोटरसाइल पुरिँदा चालकको मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार अर्का एकजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गर्दा लु १३ प १३६५ नम्बरको मोटरसाइल पहिरोले पुरिँदा घाइते भएका तानसेन, ३ का ३५ वर्षिय गृहपति शाक्यको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार ५० वर्षिय अजय श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

आजै बिहान पाचथरको फालेलुङ गाउँपालिकामा पहिरो जादा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ १ का त्रिलोचन बिक रहेको प्रहरीले जनाएको छ । यस्तै फालेलुङ ३ मा अन्य तीन जना बेपत्ता भएका छन् ।

यस्तै बाकेको राप्ती सोनारी गाउँपालीका ४ लालपुरमा स्थानीय कमिलाल थारुको घर भत्किादा तीन जनाको मृत्यु भएको छ ।

गएराति बर्षा सँगै घरभित्र पानि पसेर घर भत्किदा थारुका तीन छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया