उत्तर कोरियालाई सैन्य जवाफ दिन अमेरिका तयारी अवस्थामा

एजेन्सी २८ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाबाट हुनसक्ने संभावित आक्रमणको जवाफ दिन अमेरिकी सेना ‘लक्ड एन्ड लोडेड’को अवस्थामा रहेको बताउनु भएको छ ।

उत्तर कोरियाले आफ्नो हद नाघेमा त्यसलगतै जवाफी कारवाहीका लागि अमेरिकी सेना तयारी अवस्थामा रहेको राष्ट्रपति ट्रम्पको भनाई छ ।

उत्तर कोरियाले गत बुधबार प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग गुआममा मिसाइल आक्रमण गर्ने चेतावनी दिएको थियो । त्यसयता दुई देशबिच तनाव उत्कर्षमा पुगेको छ ।

दुवै तर्फबाट सैन्य कारवाहीका लागि तयार रहेको दाबी आउन थालेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाले सुझबुझ नदेखाएमा उसमाथि सैन्य कारवाहीका लागि अमेरिकी सेना तयार रहेको उल्लेख गर्नुभएको छ ।

यसअघि उत्तर कोरियाले अमेरिकाका कारण कोरियाली प्रायद्विप परमाणु युद्धको संघारमा पुगेको आरोप लगाएको थियो । उत्तर कोरियाले एक महिनाको बिचमा दुईवटा अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि विवाद बढ्दै गएको हो ।

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...