आज अन्तरराष्ट्रिय युवा दिवस

काठमाडौँ, २८ साउन ।

आज अन्तरराष्ट्रिय युवा दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

युवाका विषयमा आवाज उठाउने उदेश्यले संयुक्त राष्ट्र संघको ४५ औँ साधारणसभाले सन् १९९९ देखि अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालमा भने सन् २००४ देखि दिवस मनाउन थालिएको हो । राष्ट्रिय युवा परिषद्सँगै ४५ गैरसरकारी संघसंस्थाले पनि संयुक्त रुपमा दिवस मनाउने गर्दछन् ।

दिवसको अवसरमा आज परिषद्को अगुवाइमा राष्ट्रिय सभागृहमा ‘शान्ति र समृद्धिमा युवा’ भन्ने नाराका साथ विशेष कार्यक्रम गरिदैछ । उक्त कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले संबोधन गर्ने कार्यक्रम छ ।

त्यसअघि आज बिहान राजधानीको भृकुटिमण्डव देखि सहिदगेट , सुन्धारा , जमल घण्टाघर हुदै सभागृहसम्म र्याली निकालेको थियो । मुलुकभर रहेका युवा परिषदहरुले पनि आज बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

दिवसका अवसरमा आज १० युवा उद्यमीसहित गायन, वाचन र दृश्य विधाका उत्कृष्ट युवालाई सम्मान गर्ने परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।

नेपालमा कुल जनसंख्याको ४०.३ प्रतिशत युवा छ । वर्षेनी पाँच लाख ३८ हजार युवा रोजगारीका लागि विभिन्न मुलुक जाने गरेको सरकारी तथ्याँक छ ।

 

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...