सिन्धुलीमा पहिरोले पुरिएर एकै घरका चारको मृत्यु

काठमाडौँ, २८ साउन ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको पर्खाल लडेर घर भत्किँदा २७ वर्षीय दुर्गा खड्का, उनका छोरा १० वर्षीय अनिष र ८ वर्षीय मनिष तथा १५ वर्षीय छोरी शोभाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमलामाइ नगरपालिका ६ स्थित पत्रकार महासंघको जमिनमा टहरो बनाएर बस्दै आएका खड्काको परिवारलाई पहिरोले पुरिएको हो । आज बिहान करिब २ बजे झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको प्रहरीले जनाएको छ ।

घट्नामासँगै सुतिरहेका उद्यबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयले नयाँ भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिँदा उक्त घट्ना भएको हो ।

जिल्ला प्रहरी कार्यालयले भवन बनाउँदा माटो थुपारेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै पत्रकार महासंघ सिन्धुलीले यसअघि नै बारम्बार हटाउन अनुरोध गरेपनि बेवास्ता गर्दा घटना हुनपुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ ।
प्रहरीले खनेको माटोको व्यवस्थापन राम्रोसँग नगर्ने हो भने पत्रकार महासंघको भवन समेत खतरामा रहेको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताउनु भयो ।

हाल पहिरो गएको स्थान वरपर करिव आधा दर्जनको संख्यामा रहेका रुखको समेत व्यवस्थापन नगर्ने हो भने प्रहरी कार्यालय नजिकै रहेका करिव २० घर जोखिममा रहेको भन्दै स्थानीयले उक्त रुखहरुको समेत व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय समक्ष माग समेत गरेका छन । तस्विर :नयाँपत्रिकाबाट

 

शनि, साउन २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...