मेरो आत्महत्याको समाचार !

 काठमाडौँ सहर, मान्छेहरूको भीड, भीड भित्रका अनेकौँ सपनाहरू ……. । एउटै सहर, एउटै आकाश तर मान्छे थरीथरीका, व्यथा परीपरीका । सहरको कोलाहलभित्र एउटा युवक यता भौतारिन्छ, उता भौतारिन्छ । सबै मान्छेहरू अपरिचित, न कसैलाई कसैको वास्था, न कसैमाथि कसैको भरोसा । सडकै ढाकेर हिँड्ने गाडीहरू, गाडीभित्रका कोचा कोच मान्छेहरू, के कुनै गन्तव्य ताकेर हिँडेका हुन ? । उ बेच्न राखेका अखबारहरू पल्टाउँदै हिँड्छ । पढ्छ उही राजनैतिक आतंक, चोरी, डकैटी र बलत्कारका समाचारहरू । बाह्र वर्षे युद्धमा आफ्नो दाजुको हत्या भएको उसलाई हिजो जस्तो लाग्छ । उसलाई आफ्नी बहिनीको सिन्दुर पुछिएको आजै जस्तो लाग्छ । हृदय विदारक समाचारले पनि अब त उसलाई छुन छाडेको छ । यस्तो लाग्छ सम्वेदना भन्ने कुरा पनि ऊ बाट हराइसकेको छ । कसैको लागि रुने आँसु पनि रित्तिइसकेको छ । उसको दिनचर्या सधैँ एकै किसिमले बित्ने गर्छ । पत्रपत्रिकाहरू पल्टाउनु विज्ञापन हेर्नु अनि जागिरको आशामा अफिस धाउनु । तर उसका प्रत्येक आशाहरू तुहिएर झर्छन । झमम्क साँझ परेपछि निराश भएर डेरा फर्कन्छ । ऊ थाकेर लखतरान परेको हुन्छ । खाटमा पल्टिन्छ ।

सोच्न थाल्छ “कस्तो ठाउँ, कस्तो सहर । हजार ठाउँ धाउँदा पनि हजार बिन्तिभाउ बिसाउँदा पनि जागिर त के आश्वासन पाउन समेत गाह्रो ।” जागिर पाउन कि त गाँठ (पैसा) चाहिँदो रहेछ, कि त ठूला वडाहरूको साथ (सिफारिस) चाहिँदो रहेछ । दिन उस्तै, रात उस्तै । शहरको झिलिमिली बत्तिले पनि ऊ भित्रको अन्धकारलाई हटाउन सक्दैन । ऊ बारम्बार सपना देख्छ, देशको अवस्था फेरिएको । जागिर पाएको अफिस गएको । तर अफसोच, सपना पनि उसको लागि मुटु घोच्ने काँडा बन्छ । बाटो हिँड्दा कसैले उसलाई चिने जस्तो गरेर अनायसै सोधी दिन्छ “के छ हालखबर ? के गर्दै हुनुहुन्छ ?” “कस्तो बेकारको कुरा” । ऊ भित्रभित्र मुर्मुरिँदै हिड्छ । ऊ देख्छ आफू जस्तै युवकहरू कोही गाडी चढेर मोजमस्ती गर्दै हिँडेका । कोही कठोर मन पारेर विदेश जानभनी हिँडेका, कोही आफू जस्तै विचल्लीमा परेका । “कस्तो असमानता, कसैलाई मरीमरी कसैलाई परीपरी ।” संसार २१ औँ शताब्दीको रफ्तारमा दौडीरहेको छ ।

ऊ भने ढुङ्गे युगको मान्छे झैँ भौतारिरहेको छ, केवल बाँच्नको लागि आहाराको खोजीमा । घर, परिवार, राष्ट्रको अघाद मायाले हो या इराकमा काटीएका नेपालीयुवाहरूको टाउकाको कथा सुनेर हो । विदेश जान पनि मान्दैन । ऊ सम्झन्छ आफ्नै गाउँघर । देशको लागि रक्तदान गर्नुपर्छ भन्दै लिन आउने उसका आफ्ना साथीहरू । युद्धको बेला गाउँमा बस्न नसक्ने भएपछि एक दिन ऊ आधा रातमा घरबाट भागेर हिँडेको थियो । आफ्नै देशमा शरणार्थी बनेर । “विर्खे ! काले ! म मर्दा देशको मुहार फेरिन्छ भने म तयार छु यार ।” ऊ एक्कासी उत्तेजित हुन्छ । फेरी शान्त हुन्छ । “तर मेरा साथीहरू तिमीहरू पनि बेरोजगार भएर भौतारिँदै हिँडेका हौँ ।” हतियारको युद्ध लडेर देशको मुहार फेरिने कुरामा विश्वास थिएन उसलाई । नभन्दै बाह्र वर्षे युद्धपछि पनि देशले कुनै निकास पाउन सकेन । पृथ्वी गोलो भएरै होला, घुम्दै फिर्दै ऊ एकै ठाउँमा आइपुग्छ । नयाँ र नौला क्षितिज भेटाउन सक्दैन । रातमा न निन्द्रा, दिनमा न चैन मात्र अशान्ति । आजकाल त उसले पिउन पनि थालेको छ ।

ऊ आफै भन्थ्यो “जाँड रक्सी, चुरोट बिँडी खानु हुँदैन ।” तर जीवनदेखि हरेस खाएपछि मान्छेले चरेससम्म खाँदो रहेछ । आखिर मन त बहलाउनु प¥यो नै । स्वास्थ्यको लागि हानिकारक छ भनेर, जाने मात्र हुँदो रहेनछ । “मान्छे कसरी कुलतमा फस्तो रहेछ मैले थाहा पाएँ यार ।” ऊ पिउँदापिउँदै कहिलेकाही एक्लै बोल्ने गर्छ । “मान्छेले चोरी गर्छ । लुटपाट गर्छ । हकैती गर्छ । पैसाको लागि मान्छे मार्छ । बाँच्ने उपाय नभएर त हो नी? पढ्ने, लेख्ने, जान्ने, बुझ्ने भएर मात्र के हुँदोरहेछ र ? मैले पनि त बि.ए. सम्म पढेको छु नि ।” ऊ एक्लै बर्बराउने गर्छ । “तपाई मलाई लाछी ठान्नु होला । पानीमरुवा भन्नु होला । जे भन्नु होस् ।” ऊ खिस्स हाँस्छ । ऊ जीवनदेखि नै निराश बन्दै गएको छ । पिरैपिरले चाउरिँदै गएको छ । यसरी नै दिनबित्दै जाने हो भने पक्का छ एक दिन ऊ कडा मानसिक रोगको शिकार हुनेछ । ऊ विछिप्त बन्ने छ । अनि एक दिन उसले आत्महत्या समेत गर्नेछ । उसको आत्महत्याको समाचार उसैले पढ्ने गरेका पत्रपत्रिकाहरूमा छापिनेछन् । अनि भयभित बन्ने छ ऊ जस्तै अर्को नेपाली युवक ……………… ।

यो लेखले एक सबल युवा कसरी नैराश्यता र अन्ततःउदासीपनतिर जान सक्दछ भन्ने तथ्य प्रस्तुत गर्न खोजेको छ । हाम्रो देशका युवाको जीवनलाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गर्नु लेखकको उद्देश्य हो ।

बिहि, पुस २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया