स्थानीय निकाय निर्वाचनको तयारीमा लाग्न निर्देशन

ललितपुर, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन घोषणा हुने भएकाले तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अबको केहि दिनमा नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनु भयो ।

सङ्क्रमणकालीन अवस्थाको हल गर्दै हुन लागेको निर्वाचनलाई सफल बनाउन उचित कार्ययोजना बनाएर कार्यान्वयनतर्फ लाग्न निर्देशन पनि दिनुभयो ।
स्थानीय निकायको संरचनाले हालको स्थानीय निकायको अवधारणा पनि छिटै आउने भएकाले त्यसतर्फ चनाखो भएर स्थानीय निकायले काम गर्नुपर्ने मन्त्री पाण्डेको भनाई छ ।

उहाले विश्वबैंकको सहयोगमा सञ्चालन भइरहेको आयोजना चैत महिनासम्म सम्पन्न गराउनुपर्ने भएकाले त्यसतर्फ उत्सुकतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले आयोजनामार्फत स्थानीय समुदायमा बालबालिका तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध भइरहेको बताउनुभयो ।

प्रजनन उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न सामाजिक धारणा, व्यवहार र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य रहेको छ ।

उक्त आयोजना हाल ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी, सिरहा, सिन्धुली, रोमछाप, धनुषा, महोत्तरी, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

बिहि, पुस २८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया