एक महिने स्वस्थानी ब्रत भोलीदेखि सुरु हुदै

काठमाडौ २७ पौष ।  

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत भोलीदेखि सुरु हुदैछ । हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गर्ने गरिन्छ ।

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने प्रचलन छ ।

एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई चढाइन्छ ।

स्वूथानीको ब्रत बस्दा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास रहिआएको छ ।

यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । यो ब्रत विधीपूर्वक सम्पन्न गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने जनविश्वास रहिआएको छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

ब्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । यसै अवसरमा काठमाडौको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालीनदीमा एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्दछ ।

मेलाका लागि साँखुस्थित सालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । मेलामा २० लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको जनाइएको छ ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार