राष्ट्रिय एकता कायम गर्नुपर्नेमा शीर्ष नेताहरुको जोड

काठमाण्डौ ,२७ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

राप्रपाले २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रमा बोल्दै उहाँले संबिधान कार्यान्वयनका लागी राष्ट्रिय एकतामा जोड दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक रहेको बताउनु भयो ।

विभिन्न राष्ट्रहरुमा विभाजित नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको भूमिका नबिर्सेको भन्दै उहाँले पृथ्वीजयन्तिको अवसरमा बिदा दिने बिषयमा छलफल गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।

विसं २०६२÷६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको जानकारी दिदै यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिने उहाको भनाई छ ।

नेपाली काग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरुलाई एकीकरण गर्ने शाहलाई भुल्न नहुने बताउनु भयो ।
यस्तै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थ्सिद्धिका निम्ति प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।

शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको भन्दै ओलीले यसलाई गलत रुपमा व्याख्य गर्न नहुने बताउनु भयो ।

आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रम माधव नेपालले अहिले राष्ट्रलाई एकतावद्ध गर्न खाँचो रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि सहभागी थिए ।

राप्रपा नेपालले हरेक वर्ष आजकै दिन आयोजना गर्दै आएको सो कार्यक्रम दुई पार्टीबीच एकीकरण भएपछि पहिलोपटक यस्तो कार्यक्रमको आयोजना भएको हो ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य प्रमुख खबर समाचार