सिंहदरबार मूलद्वार अगाडिको पृथ्वीनारायणको सालिकमा माल्यार्पण


काठमाडौँ, २७ पुस ।

नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा आज उहाँको सालिकमा माल्यार्पण गरिएको छ ।

विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

यो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालले विश्वसामु पहिचान बनाउनुका साथै नेपाली भएर बाँच्न पाएको भन्दै उहाँले शाहको योगदानको कदरस्वरुप यो पर्वलाई सरकारले भव्यरुपमा मनाउनुपर्नेमा सार्वजनिक बिदासम्म नदिनु उचित नभएको बताउनु भयो ।

राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुक निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयोे ।

उहाँले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गरेर सिङ्गो राष्ट्र निर्माण गरेजस्तै अहिले सबै राजनीतिक दल एकजुट भई मुलुकलाई निकास दिने बेला आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया