संसोधन प्रस्ताव पेश भएपछि नेताहरुको मिश्रीत प्रतिक्रिया

काठमाडौँ, २४ पुस ।

व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव टेबल भएपछि सत्तारुढ तथा बिपक्षी दलका नेताहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् ।

बिरोधका बाबजुत सदनमा संसोधन बिधेयक पेश भएपछि एमालेले सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ भने सत्तारुढ दलले भने असहमतिबीच सहमति खोजेर संसद् चलाइएको बताएका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरुको असहमति रहँदारहँदै सरकारले संविधान संशोधन प्रस्ताव टेबल गरेको बताउनुभयो ।

उहाँले एमालेको सहमतीमा संविधान संशोधन प्रस्ताव टेबल नभएको भन्दै संसारका कुनै पनि देशमा सम्पूर्ण प्रतिपक्षी दल एकठाउँमा भएको बेलामा कुनै पनि प्रस्ताव टेबुल नहुने बताउनु भयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मुलुकलाई सधैँ बन्दक बनाएर नहुने भएकाले सबै दलको सहमतिमा नै प्रस्ताव दर्ता गरिएको बताउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दलको समेत संविधान संशोधन प्रस्तावमा सहमति जनाएको, उहाँहरुले विरोध गरे पनि प्रस्ताव अगाडि बढाउने अनौपचारिक सहमतिपछि प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन अझै एक महिनाको समय बाँकी रहने भएकाले सोही अवधिमा सबै दलले पूर्ण समर्थन जनाउने उहाँको भनाइ थियो ।

संशोधन प्रस्ताव पारित गर्नका लागि नै सरकारले टेबुल गरेको हो भन्ने स्पष्ट पार्दै उहाँले छलफल गर्दै परिमार्जनसहित पारित गरिने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता अग्नी सापकोटाले प्रतिपक्षी दलको विरोधभित्र सहमति खोजिएको बताउनुभयो । उहाँले संसद्को एउटा प्रक्रिया सुरु भएकाले त्यसले निकास पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

आइत, पुस २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया