जुम्लामा यो वर्षको पहिलो हिमपात : जनजीवन कष्टकर

काठमाडौ २४ पौष । 

जुम्लामा गएरातिदखि परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । चिसोका कारण वृद्धवृद्धा र विपन्न परिवार बढी समस्यामा परेका छन् ।

यो वर्षमा पहिलो पटक परेको हिँउले जुम्लाका धेरैजसो क्षेत्र सेताम्य भएका छन् । अघिल्ला वर्षमा कात्तिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पौष महिनामा मात्र हिमपात भएको हो ।

सदरमुकाम खलंगामा झण्डै पाँच ईन्चसम्म हिँउ जमेको छ । जिल्लाको डिल्लीचौर, छुमचौर, पातारासी, गोठिचौर, बुम्रा माडिचौर, बोता मालिका, मालिका ठाटा, घोडे महादेव र ताम्ती लगायतका गाविसमा बाक्लो हिमपात भएको छ ।

मौसम परिवर्तन भएसँगै दुई दिनदेखि बादल लागेपछि सोलार प्यालन चार्ज हुन नपाउँदा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन् ।

हिमपातका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या भएको छ । हिमपातसँगगै चिसो बढेकाले सुरक्षित भएर बस्न जिल्ला प्रशासन कार्यालय जुम्लाले आग्रह गरेको छ ।

आइत, पुस २४, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...