सामन्ती सोच राख्नेहरुले संसदलाई बन्धक बनाउन खोजेः प्रचण्ड

पौष २३, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबैका अधिकार समेट्न संविधान संशोधन प्रस्तावलाई अघि बढाउनुको विकल्प नरहेको स्पस्ट पार्नुभएको छ ।

शान्ता श्रेष्ठद्वारा लिखित पुस्तक ‘मान्छेभित्रको मान्छे’को राजधानीमा आज विमोचन गर्दै प्रधानमन्त्री दाहालले संविधानलाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।

कुनै व्यक्ति विशेष र कुनै एक पार्टीलाईमात्र समेटेर सविधान पूर्ण नहुने भएकाले सबैका अधिकार समेट्न संविधान संशोधन गर्न लागिएको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सामन्ती सोच राख्नेहरुले संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाउदै संविधानलाई सर्वस्वीकार्य बनाउन भोलि बस्ने संसदको बैठकमा संविधान संशोधनको प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।

संविधान संशोधन प्रस्तावसँगै आइतबारको संसद बैठकमा निर्वाचनसम्बन्धी विधेयकहरु पनि पेस गरिने दाहालको भनाई छ ।

संसद सुचारु भएमात्र दलहरुबीच देखिएका विमतिको टुंगो लाग्ने भएकाले अवरुद्ध नगर्न प्रतिपक्षी एमालेलाई प्रधानमन्त्री दाहालले आग्रहसमेत गर्नुभयो ।
लोकार्पणमा प्रधानमन्त्रीले शान्त श्रेष्ठ नेपाली बाम राजनीति र संघर्षको बिशिष्ठ व्यक्तित्व भएको बताउँदै त्यसबाट आफू पनि प्रभावित भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय राजनीति र सिर्जनाका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

शनि, पुस २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया