४५ मुक्त हलियाको घर मर्मत यसै आर्थिक बर्षभित्र

कञ्चनपुर, २३ पुस ।
सरकारले कञ्चनपुरका ४५ मुक्त हलिया परिवारका लागी घर मर्मत गर्न अनुदान रकम उपलब्ध गराउने भएको छ ।

छनोटमा परेका मुक्त हलिया परिवारलाई एक लाख २५ हजारका दरले चालु आर्थिक बर्ष अगावै घर मर्मतका लागी रकम दिईने भूमिसुधार व्यवस्था कार्यालय कञ्चनपुरले जनाएको छ ।

श्रीपुर, बेलडाँडी, कृष्णपुर, झलारी, देखतभूली, भीमदत्तनगरपालिका, सङ्करपुर, पिपलाडी, दैजी, सुडा, रौतेली बिचवा र रैकवार बिचवाका मुक्त हलिया परिवार छनोटमा परेको कार्यालय प्रमुख धर्मानन्द भट्टले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका ‘ख’ श्रेणीको परिचयपत्र पाएका २९ र ‘घ’ श्रेणीको परिचयपत्र पाएका १६ परिवार छनोटमा परेका छन् ।

यसैगरी पुनःस्थापनमा परी जग्गा पाएका ४० मुक्त हलिया परिवारलाई घर निर्माणका लागि चालु आर्थिक वर्षमा नै दुई लाख २५ हजारका दरले रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताउनु भयो ।

हालसम्म कञ्चनपुरका एक सय २५ मुक्त हलिया परिवारको घर मर्मत र एक सय ३३ परिवारको घर निर्माणको कार्य सम्पन्न भएको छ । त्यस्तै एक सय २८ मुक्त हलिया परिवारलाई जग्गा खरिद गरी पुनःस्थापन गराइएको छ ।

शनि, पुस २३, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया