सरकारी अस्पतालका चिकित्सकले निजीमा काम गरे कडा कार्वाहि

चितवन, २२ पुस ।
सरकारी अस्पतालको सेवा सुबिधा खस्किएको भन्दै चिकित्सकलाई निजी अस्पताल , किलनिकमा गएर काम गर्नबाट रोक लगाईएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले त्यहा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने जनाएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको छ । अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा यो व्यवस्था लागू गर्न लागिएको हो ।

अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताउनुभयो । मन्त्रिपरिषद्ले हिजो मात्रै रिक्त छ जना सदस्य मनोनयन गरेपछि क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पाएको छ ।

क्यान्सर अस्पतालका चिकित्सकले निजी अस्पतालमा काम गर्दा अस्पतालको सेवा खस्किएको आरोप लाग्ने गरेको छ । यसअघि अस्पतालको अनुमति लिएर काम गर्न पाउने व्यवस्था गरिएको थियो । मानवीय जनशक्तिको कारण सेवा प्रभावित भएको भन्दै अनुमति लिएकाको पनि तुरुन्त खारेज गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी भएको छ । क्यान्सर अस्पतालको २०५५ सालमा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको भए पनि २०६१ सालमा सञ्चालक समितिले समितिको स्वीकृति लिएर निजी क्लिनिकमा काम गर्नसक्ने निर्णय गरेको थियो ।

मन्त्रालयले त्यो निर्णयलाई बदर गर्दै स्वीकृति नदिन सञ्चालक समितिलाई निर्देशन दिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । मन्त्रालयको निर्देशनको पालना गर्दै निजी क्लिनिकमा काम गर्न दिएको अनुमति खारेज गरेर यो व्यवस्थाको अन्त्य गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

कार्यालय समयभन्दा बाहेक स्वीकृति लिएर अन्य अस्पतालमा सेवा दिन जाने चिकित्सकले अस्पतालले दिने गरेको प्रोत्साहन भत्ता आधा मात्रै कटौती हुन्छ ।

एकजना वरिष्ठ चिकित्सकले १९÷२० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता पाउँछन् । बाहिर गएर काम गर्दा त्योभन्दा कयौँ गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता छोडेर निजी क्लिनिकमा काम गर्न थालेका हुन ।

शुक्र, पुस २२, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...