सभामुखद्धारा प्रधानमन्त्रीलाई राजनीतिक सहमति जुटाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह

काठमान्डौ ,पुस २० ।
सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ संसदीय गतिरोध अन्त्य गर्दै राजनीतिक सहमति जुटाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

राजनीतिक गतिरोध अन्त्य गर्दै आगामी आइतवार बस्ने संसद बैठक सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन सभामुखले प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न राजधानीको वालुवाटारस्थित सरकारी निवासमा पुग्नु भएका सभामुख घर्तीले सर्वोच्च अदालतको आदेशपछि सहमति उन्मुख भएको राजनीतिक गतिरोध निकासको उपयुक्त आधार तयार पार्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो ।

सहमतिका लागि पर्याप्त समय दिदै संसद बैठक ५ दिनका लागि स्थगित गराएको जानकारी गराउदै घर्तीले सत्ता नेतृत्वकर्ता दलको हैसियतमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउनुभएको हो ।

दलीय सहमति बिना संविधान संशोधन विधेयक दर्तापछिको राजनीतिक गतिरोध अन्त्य नहुने भन्दै सभामुखले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको उहाँको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री दाहालले राजनीतिक निकासका लागि सरकार गम्भीर रहेको बताउदै दलीय छलफललाई तिब्र बनाउने आश्वासन दिनुभएको छ ।

आगामी आइतवारभित्रै सहमति जुटाएर संसद सञ्चालनको वातावरण बनाउने दावी गर्दै उहाँले सहमतिका लागि सभामुखले जारी राख्नु भएको प्रयासको प्रशंसा गर्नु भयो ।

बुध, पुस २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...