जुम्ला चन्दननाथबाट चोरिएका एक दर्जन मूर्ति फेला

जुम्ला, १९ पुस ।
गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई वटा शङ्ख भेटिएका छन् ।

देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा आज बिहान ८ बजे प्रहरीले फालिएको अवस्थामा ती सामग्री भेटाएको हो ।

भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति रहेको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।

त्यसैगरी दाहिने शङ्ख एक र बायाँ शङ्ख एक तथा तीन रुद्राक्ष पनि भेटिएको बताइएको छ । भेटिएका मूर्ति खोलाको किनारमा फालिएको अवस्थामा रहेको उहाँको भनाइ छ ।

भेटिएका मूर्तिबाटै त्यसमा संलग्न हुनेलाई अनुसन्धान गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । अहिले त्यस क्षेत्रमा सुरक्षा अवस्था बढाएर व्यापक खोजी भइरहेको छ ।

मङ्ल, पुस १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया