नामको मनोवैज्ञानिक असर

 – गोपाल ढकाल (मनोविद्)

यदि कुनैपनि वस्तुको नाम नभएको भए के हुन्थ्यो होला ? तर, संसारमा नाम नभएको कुनै चिज नै छैन । नयाँ वस्तुको आविस्कार र नयाँ कुरा पत्ता लाग्नासाथ सबैभन्दा पहिले यसको नामाकरण गर्ने गरिन्छ । मानिस जन्मेपछि पनि सबैभन्दा पहिला गर्ने कर्म नामकरण वा न्वान नै हो । विभिन्न धर्म संस्कारहरुमा न्वारनको महत्वलाई दर्शाएको पाइन्छ । हिन्दु धर्मका १६ वटा संस्कारमध्ये नामकरण पनि एक हो ।

विशेषगरी नामकरण गर्दा बालकजन्मिएको महिना, गते, बार, समय, ठाउँ अथवा बाबुआमाको मन लागेको नामको आधारमा गर्ने गरेको पाइन्छ । ज्योतिषशास्त्रमा त नामले. अझै ठूलो महत्व बोकेको हुन्छ । मानिसको नामबाट नै राशि बन्ने र यसैको आधारमा उसको भविष्य हेर्ने गरिन्छ । मनोवैज्ञानिक रूपमा नामले मानिसको जीवनमा पर्ने प्रभाव त अझ ठूलो हुन्छ । यहाँ यसैको चर्चा गरिदैछ ।

प्रत्येक मानिसहरु आफ्नो छुट्टाछुट्टै र अरूभन्दापृथक पहिचान (नाम) बनाउन चाहन्छन् । नामले मात्र व्यक्तिलाई अरूभन्दा फरक व्यक्तिगत पहिचान दिनसक्छ । यदि, मानिसको कुनै पहिचान नहुने हो भने, उसमा परिचयको संकट पर्न सक्छ । परिचयको संकट प¥यो भने व्यक्तिले आफ्नो कुनै अस्तिव्त नै देख्दैन । यस्तो अवस्थामा उसमा नैराश्यजस्ता मनोवैज्ञानिक समस्याहरु देखा पर्न सक्छन् ।

घरपरिवार, समाज, नजिक र चिनजानका व्यक्तिको एउटै नाम भयो भने पनि उनीहरुमा परिचयको संकट पर्न जान्छ । यस्तो अवस्थामा उपनामको आवश्यकता महशुस गरिन्छ । मानिसहरु जीवन पानी, भूतको साथी, वैरागी, यात्री, स्वर्गीय, चट्याङ मास्टर, आदिजस्ता उपनाम राखेर आफ्नो फरक चिनारी बनाउने प्रयास गर्दछन् ।

यस्तो कुरामा साधारण व्यक्तिभन्दा कलाकार, साहित्यकार, आदिजस्ता विशिष्ट व्यक्तिहरु बढी संवेदनशील भएको पाइन्छ । नेपालका वर्तमान प्रधानमन्त्री समेत आफ्नो नामभन्दा उपनामले बढी चिनिने गर्नुहुन्छ । एउटा समूह, संघसंस्था आदिमा आवद्ध सदस्यहरुबीच पनि परिचयको संकट नपरोस् भन्नका लागि विभिन्न पद सिर्जना गरेर त्यहाँभित्र पनि एक अर्काबीच फरक परिचय खोज्ने प्रयास गरिन्छ । एउटा संस्थामा किन एक जनामात्र अध्यक्ष वा सभापति हुन्छ ? देशको प्रधानमन्त्री किन दुई जना हुन सक्दैनन् ? यसको मनोवैज्ञानिक कारण पनि परिचयको संकट हुनबाट रोक्नु नै हो । सबै मानिसलाई आफ्नो नाम प्रिय लाग्छ ।

उनीहरु आफ्नो नाम पटक–पटक अरूको मुखबाट उच्चारण होस भन्न चाहन्छन् । नामले बोलाउँदा उनीहरुमा गर्व महसुस हुन्छ । नामले सम्बोधन गर्दा मानिसहरुमा गहिरो प्रभाव पर्न जान्छ । तर, यति महत्वपूर्ण कुरालाई अरूले मन पराएनन् र नामको आलोचना गरे भने यसले मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ । हाम्रो समाजमा यस कुराप्रति त्यति ध्यान दिएको पाईदैन । न्वारन गर्दा पण्डितले राखेको नामलाई नै आधिकारिक मानिन्छ र सकेसम्म यसलाई परिवर्तन गर्न दिईदैन । हामी कहाँ धेरैजसो नामहरु देवीदेवताको नामबनट राख्ने गरेको पाइन्छ । राम, सीता, हरि, लक्ष्मी, सरस्वती, शिव, भगवती, गोपाल आदि हाम्रो समाजमा धेरे प्रचलित नाम हुन् । यसरी धेरै व्यक्तिको एउटै नाम हुँदा एकातिर व्यवहारिक समस्या देखिन्छ भने अर्कोतर्फ परिचयको संकट पर्न जान्छ । अहिलेका युवापुस्ताले देवीदेवताप्रति त्यति विश्वास नगर्ने हुँदा यीसँग जोडिएका नामहरु कमैमात्र मन पराउँछन् ।

एलिसा (पुरानो नाम भगवती) लाई भगवती भनेर बोलाएको पटक्कै मन पर्दैन । कसैले भगवती भनेर बोलाउँदा उनलाई रिससमेत उठ्ने गर्छ । मानिसको व्यक्तित्वमाथि नामले पनि ठूलो प्रभाव पार्छ । व्यक्तिलाई नराम्रो नामले घृणित र अपमानित गरेर बोलाउँदा उसको आत्मसम्मान, आत्मविश्वासमा ह्रास आई उसले आफूलाई त्यही रूपमा हेर्न थाल्छ । भनिन्छ, एउटा व्यक्तिलाई सबैले पागल भनेर बोलाउने हो भने केही समयपछि ऊ पागल नै हुन्छ । सबैले स्वीकार्ने र मन पराउने नाम भयो भनेमात्र व्यक्तिले आफ्नो नामप्रति गौरव गर्छ । ऊ नाम अनुसारको काम गरेर आफ्नो नामलाई सार्थक बनाउने प्रयत्न गर्छ । यस विपरीत हुँदा भने उसमा हिनताबोध उत्पन्न हुन्छ । काली केटीलाई रूपा नाम राख्दा उसले आफ्नो नामप्रति गौरव गर्न सक्दिन । कतिपय अवस्थामा बाबुआमाले माया गरेर बोलाउने नामले पनि व्यक्तिमा हीनताबोध ल्याउँछ । बाबुआमालाई आफ्नो सन्तान राम्रा होऊन भन्ने चाहना हुन्छ । यदि आफ्नो सन्तानमा कुनै कमीकमजोरी भए त्यसविपरीत नाम राखेर आत्मसन्तोष मान्ने मानव स्वभाव हुन्छ ।

आफ्नो व्यक्तित्वभन्दा उल्टो नाम राख्दा मानिसलाई गिल्ला गरेजस्तो आफूलाई जिस्क्याएजस्तो भान हुन्छ । ‘जुन गोरूको सिङ छैन उसैको नाम तिखे’ भनेझैँ आफूलाई नसुहाउनजे नाम राख्दा त्यस्तो मानिस भेट हुँदा आफ्नो नाम भन्न रूचाउने हुन्छन् । यसरी नामले पनि मानिसको जीवनमा गहिरो र मनोवैज्ञानिक प्रभाव पार्ने हुँदा नामको छनौट गर्दा यसले पार्न सक्ने सम्भावित असरलाई बाबुआमाले ध्यान दिनुपर्छ ।

मङ्ल, पुस १९, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...