चन्द्रागिरी केवलकार चढ्नेलाई सित्तैमा बसले ल्याउने लाने सुविधा

 काठमाडौं, पुष १७ गते । चन्द्रागिरी केबरकार चढ्न जानेहरुलाई अब मुख्य चोकहरुबाट आउने जाने सुविधाका लागि निशुल्क बस सेवा शुरु भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ गर्नुभयो । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताउनु भयो ।

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेरभालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिटक्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ । बसहरु प्रत्येक दिन बिहान साढे सात बजेकाठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु,कलङ्कीहुँदै चन्द्रागिरि केबलकार पुग्ने छ । त्यसै गरी सो बसहरुले सोही रुटबाट यात्रुहरुलाई फर्कन पनि सुविधा दिएको छ ।

सोम, पुस १८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया