आईतवारदेखि टेलिकमको फोरजी सेवा सुरु हुने, दर पुरानै गति तीव्र


काठमाडौं, पुस १६ ।

नेपाल टेलिकमले आइतबारदेखि नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । पहिलो चरणमा देलिकमले काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न हो ।

टेलिकमले तत्कालका लागि हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । दोस्रो पुस्ताको मोबाइल सेवा (टुजी) र तेस्रो पुस्ताको मोबाइल सेवा (थ्रीजी) मा लागू भएकै महसुल दर फोरजीका लागि कायम गरिएको हो ।

‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको जानकारी दिदै टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले अहिले व्यावसायिक प्याकेज नल्याइएको बताउनु भयो ।

पुरानै दरमा फोरजी लागू गरिएकाले टेलिकमले हालसम्म नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजीको महसुल दर स्वीकृतीका लागि पठाएको छैन ।

शुक्रबार र शनिबार दुई दिन सार्वजनिक बिदा भएकाले टेलिकमले फोरजी औपचारिक रूपमा सुरु गर्नुभन्दा अगाडि नयाँ महसुल दर स्वीकृत गराउने अवस्था नभएको वैद्यको भनाई छ । उहाले फोरजीको महसुल दर र प्याकेजबारे आइतबार नै जानकारी दिने बताउनु भयो ।

फोरजी सेवाका लागि ग्राहकले पुरानै दरमा सेवा लिन पाए पनि त्यसको गति भने तीव्र हुनेछ । यसको गति ३० देखि ४० मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) बीच हुने टेलिकमका अधिकारीहरूले बताएका छन् ।

अन्तर्रा्ष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले फोरजीका लागि १ सय एमबीपीएस गति तोकेको भए पनि धेरै मुलुकमा ४० एमबीपीएस गतिको इन्टरनेटलाई फोरजीका रूपमा लिने गरिएको छ । भारतमा समेत सेवा प्रदायकले यही गतिमा फोरजी सुरु गरेका छन् ।

हाल कुनै पनि ग्राहक योजना (प्याकेज) बिना थ्रीजी र टुजी चलाउने ग्राहकले इन्टरनेटका लागि प्रतिमेगाबाइट करबाहेक १ रुपैयाँ तिर्दै आएका छन् । तर, ‘प्याकेज’ मा सहभागी भई ग्राहकले कम दरमा समेत इन्टरनेट चलाउन पाउँछन् । यसैगरी जीएसमए र सीडीएमए मोबाइल सेवाअनुसार फरक दरसमेत छ ।

भ्वाइसका लागि भने टुजी र थ्रीजी पोस्टपेड ग्राहकले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म (पिक आवर) का लागि प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले १ रुपैयाँ तिर्दै आएका छन् । यो टेलिकमको नेटवर्कबाट टेलिकममै कल गर्दाको दर हो ।

यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने पोस्टपेड मोबाइलमा ५५ पैसा प्रतिमिनेट तिर्नुपर्छ । थ्रीजी पोस्टपेड र प्रिपेडबाट भिडियो कल गर्दा भने प्रतिमिनेट २ रुपैयाँ र एमएमएस पठाउँदा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा तिर्नुपर्छ ।

टेलिकमले यसअघि सिमकार्ड बिक्री गर्दै आएका राजधानीका सबै आफ्ना काउन्टरबाट फोरजीको सिमकार्ड बिक्री गर्ने योजना बनाएको छ । पोखराका ग्राहकले भने महेन्द्रपुल शाखाबाट सिमाकार्ड पाउनेछन् । पुरानो सिमकार्डमा फोरजी नचल्ने भएकाले ग्राहकले आइतबारपछि नयाँ सिमकार्ड लिन सक्नेछन् । यसका लागि युनिर्भसल सिमकार्ड (युसिम) लिनुपर्नेछ ।
सरकारले गत कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो । सरकारले टेलिकमले पाएको पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउने अनुमति दिएको हो ।
टेलिकमले पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीमा यो सेवा चलाउनेछ । त्यसका लागि टेलिकमले यो ब्यान्डमा पाएको १५ मध्ये ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्ने जनाएको छ ।

यसैबीच टेलिकमले ग्राहकलाई सुरुका चार दिन भने सित्तैमा फोरजी चलाउन दिने प्याकेज तय गरेको छ । ‘ग्राहकलाई नयाँ सेवाबारे जानकारी दिन टेलिकमले ४ दिनका लागि हरेक दिन एक÷एक जीबी (गिगाबाइट) डाटा सित्तैमा चलाउन दिन लागेको हो ।

जीएसएम मोबाइलका ग्राहकले एसएमएस पठाएरै यो सेवा लिन सक्ने छन् ।

शनि, पुस १६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter